मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
ख्याम भुजेल
२०७५ फाल्गुण १७ शुक्रबार ११:२४:००
Read Time : > 1 मिनेट
प्रदेश

असिनाले नगदेबाली नष्ट

Read Time : > 1 मिनेट
ख्याम भुजेल
२०७५ फाल्गुण १७ शुक्रबार ११:२४:००

बुधबार दिउँसो परेको असिना पानीले इलामको रोङ र सूर्योदयका कृषक मर्कामा परेका छन् । असिनाले तरकारी, चिया र अलैँची बालीमा क्षति गरेको हो ।  ‘एकजना किसानको कम्तीमा १० हजार रुपैयाँबराबरको साग सखाप भयो,’ सूर्योदय नगरपालिका–६ का डुकराज पौडेलले भने, ‘धेरै साग हुनेको हकमा त्यसभन्दा बढी क्षति भएको छ ।’ सूर्योदय नगरपालिका–६ का मात्रै डेढ सय किसानको बारीमा रहेको सागमा असिनाले क्षति पु-याएको पौडेलले बताए । ‘प्रायः सबैको बारीमा साग थियो, सिजनको बीचतिर परेको असिनाले साग टिप्न नहुने बनायो,’ तारगाउँकी रनमाया भुजेलले भनिन् । सूर्योदयको तारगाउँ, समाल्बुंग, श्रीअन्तु क्षेत्र र रोङको जिर्मले, सलकपुरलगायत क्षेत्रमा बाक्लो असिना परेको रोङका इद्ध प्रधानले जानकारी दिए । बाक्लो असिना परेको ठाउँमा आधा फुटजति असिना जमेको जिर्मलेका गोविन्द पौडेलले बताए । ‘असिनाले किसानलाई रुने बनायो,’ उनले भने ।

चिया र अलैँचीमा पनि क्षति
असिनाले चिया र अलैँचीमा समेत क्षति गरेको छ । प्रुनिङ स्किप गरेको चियाको मुना पलाउँदै थियो । बाक्लो परेको असिनाले चियाँको मुना भाँचेको छ । मुना भाँचेपछि चियाको पहिलो टिपाइ ढिलो हुने भएको छ । चैतको दोस्रो सातादेखि नै चियाको पहिलो टिपाई सुरु हुन्छ । अहिले कलिलैमा मुना भाँचिएपछि चियाको उत्पादनमा समेत कमी हुने किसानले बताए ।

औल क्षेत्रमा अलैँचीको फूल  फुल्न थालेको थियो । फूल नै नष्ट भएपछि अलैँचीको फल लाग्दैन । असिनाले अलैँचीको बोट छिया–छिया बनाएको छ । असिनाले बोट च्यातेपछि चैत वैशाखमा बोट नै सुक्ने भएकाले उत्पादनमा घट्छ । असिनाले बेमौसमी तरकारी खेतीसमेत नष्ट गरेको छ । सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गा भट्टराईले असिनाले बाली नष्ट गरेको भए पनि क्षतिको यकिन नभएको बताइन् । ‘बाक्लो असिना परेको ठाउँमा थुप्रै क्षति गरेको छ,’ उनले भनिन्, ‘तर, कुन ठाउँमा कति क्षति ग-यो भन्ने यकिन विवरण आइसकेको छैन ।’ केही साताअघि परेको असिनाले इलामको उत्तरी क्षेत्रमा लगाइएको आलु नष्ट गरेको थियो । अहिले उत्तरी क्षेत्रमा बाक्लो हिमपात भए पनि जनजीवन प्रभावित भएको छ । सन्दकपुर, जौवारी कालपोखरी, आहाले भञ्ज्याङलगायतका क्षेत्रमा हिमपात भएको छ । इलामको उत्तरी क्षेत्रमा यो वर्ष छटौँपटक हिमपात भएको स्थानीयले जानकारी दिए ।