Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लाइल जे गोल्डस्टाइन
२०७८ कार्तिक १४ आइतबार ०८:४३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ताइवानमा अफगान नियति दोहोरिने निश्चित

Read Time : > 2 मिनेट
लाइल जे गोल्डस्टाइन
२०७८ कार्तिक १४ आइतबार ०८:४३:००

प्रतिकूल भूगोलका कारण अफगान युद्धमा झैँ ताइवानमा हुने सम्भावित सैन्य द्वन्द्वले अमेरिकालाई ठूलो क्षति पुग्ने देखिन्छ


पछिल्ला दुई वर्षमा थुप्रै विदेश नीति विज्ञहरूले काबुलले सन् १९७५ मा भियतनामको साइगनमा भएको विशृंखलतालाई प्रतिबिम्बित गर्छ कि भनेर चासो राख्दै आएका थिए । हजारौँ अमेरिकीको ज्यानको मूल्यमा हुने युद्धका सन्दर्भमा यो प्रश्न एकदमै जायज छ । र, अहिले चीनबाट ताइवानको प्रतिरक्षाका लागि सैन्य परिचालनको योजनाको सम्भाव्यतामाथि अध्ययन गरिरहेको अमेरिकाले भियतनाम र अफगानिस्तानबाट सिकेको पाठ सम्झिनुपर्छ ।

भियतनाम र अफगानिस्तानमा देखिएको अमेरिकी असफलता मूलतः एउटै कारणले भएको हो । दुवै सन्दर्भमा अमेरिका गृहयुद्धमा फस्न पुग्यो एवं राष्ट्रवादविरोधी कित्तामा पर्‍यो र राष्ट्रवादविरोधी छविलाई अमेरिकी सेनाको उच्च प्रविधिका बाबजुद पनि सुधार्न सकेन । तालिबान र भियतकङ विचारधारात्मक रूपमा एकदमै भिन्न छन् र केही कुरामा परस्परविरोधी नै छन् । तैपनि, यी दुवै आफ्नो मुलुकबाट बाहिरी हस्तक्षेपकारीलाई खेद्न चाहन्थे ।  

विडम्बना अहिले अमेरिकी रणनीतिकारहरू पहिल्यैदेखि जटिल भएको गृहयुद्धको अवस्थामा अमेरिकी संलग्नताबारे चिन्तनमनन गरिरहेका छन् । ७ अक्टोबरको द वाल स्ट्रिट जर्नलको एक खुलासाअनुसार अमेरिकी सेना ताइवानमा एक वर्षभन्दा पहिल्यैदेखि गोप्य रूपमा बस्दै आएका थिए । त्यसैगरी चिनियाँ लडाकु विमानले ताइवानमा दिनानुदिन उपस्थिति बढाइरहेको थियो । ४ अक्टोबरका दिन बम्बर र एट्याक जेट्ससहित ५६ जनमुक्ति सेनाका लडाकु विमान ताइवानको वायु रक्षा पहिचान क्षेत्र (एडिज) मा पत्ता लागेका थिए । विनाकुनै संकोच यो तरल अवस्थाका लागि बढ्दो चिनियाँ राष्ट्रवाद जिम्मेवार छ । 

उसो त अमेरिकीहरू पनि यो अवस्था निम्त्याउन जिम्मेवार नभएका होइनन् । अहिलेको अवस्थामा सिर्जित गम्भीर तनाव सन् २०१६ मा निर्वाचित भएलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानकी नेतृ साइ ई वेनलाई फोन गर्ने बहुलट्ठीपूर्ण निर्णयबाट सुरु भएको हो । यस्तो संवाद सन् १९७२ देखिको अमेरिका–चीन सम्बन्धको आधार रहेको ‘एक चीन नीति’को निर्लज्ज उल्लंघन हो । त्यसैगरी ताइवानमा उच्चपदस्थ अधिकारीहरू पठाउनु र सैन्य एवं सामरिक सहयोग गर्नुजस्ता अमेरिकी कदमलाई बेइजिङले नियालिरहेको थियो ।            

चिनियाँ चरित्रको राष्ट्रवादले अहिलेको परिस्थिति निम्त्याउन ठूलो बल पुर्‍याएको छ, तर के यो अवस्थालाई साँच्चै गृहयुद्ध भनेर विश्लेषण गर्न सकिन्छ ? ताइवानलाई ‘देश’ भनेर सम्बोधन गर्ने युरोपेली एवं अमेरिकीका लागि यो प्रश्न निकै तर्कसंगत हो । स्मरण रहोस्, ताइवानको औपचारिक नाम ‘ताइवान गणतन्त्र’ होइन, अर्थात् राष्ट्रियता झल्काउने गरी ताइवान टापुले आफूलाई ‘गणतन्त्र चीन’ भनेर मान्छ र आफ्नो संविधान र राहदानीमा समेत चीन लेख्छ । त्यसैगरी थुप्रै अमेरिकी चीनविज्ञले चिनियाँ भाषाको अध्ययन ताइवानमै गरेका हुन् । 

मन्डारिनभन्दा ‘ताइवानी’ भाषाको अस्तित्व भिन्न छ । तैपनि, चाखलाग्दो के छ भने ‘ताइवानी’ मिनन्हुवा भाषाको अनुवाद ‘मिन नदीको दक्षिणतर्फको भाषा’ हुन आउँछ र मिन नदी ताइवानमा छैन । मिन नदी त चीनको फुजियान प्रान्तको राजधानी हुँदै बग्छ, जुन ताइवान टापुपारि चीनमा अवस्थित छ । ताइवानमा निश्चित रूपमा गैरचिनियाँ आदिवासी बसोवास गर्छन्, तर उनीहरूको संख्या केवल दुई प्रतिशत मात्रै छ । ताइवान टापुको प्रारम्भिक इतिहास अध्ययन गरेका प्राध्यापक टोनियो एन्ड्राडे ताइवानका करिब ६ हजार चिनियाँ किसान सन् १६५२मा डच उपनिवेशकारीविरुद्ध लडेका थिए भनेर ताइवानलाई चीनसँग जोड्छन् । अर्थात् चिनियाँहरू ताइवानमा लामो समयदेखि बसोवास गर्दै आएका छन् । जब चिङ वंशले चिनियाँ मिङ वंशलाई सन् १६८३मा हराए, तब ताइवान औपचारिक रूपमा चीनमा समाहित भएको थियो, जुन अमेरिकी क्रान्तिभन्दा झन्डै एक शताब्दीपहिलेको कुरो हो ।

के यो इतिहास र संस्कृतिले कुनै अर्थ राख्छ ? यसले अफगानिस्तानमा अमेरिकाको पतनसँग के सम्बन्ध राख्छ ? ताइवान धनी छ, प्रभावशाली लोकतन्त्र भएको ताइवान लामो समयदेखि अमेरिकाको साझेदार हो र ताइवान भूराजनीतिक रूपमा संवेदनशील क्षेत्र हो, अर्थात् लोक भाषामा चिनियाँ बोतलको ‘कर्क’ हो । चिनियाँ दाबीविरुद्ध ताइवानका अमेरिकी मित्रहरू त्यहाँ अफगानिस्तानमा जस्तो अवस्था निम्तिन्न भनेर लागिपरेका छन् ।

विडम्बना, अफगानिस्तान र ताइवानको तुलना सान्दर्भिक नै देखिन्छ । मुख्यतया प्रतिकूल भूगोलका कारण अफगान युद्धमा झैँ ताइवानमा हुने सम्भावित सैन्य द्वन्द्वले अमेरिकालाई ठूलो क्षति पुग्ने देखिन्छ । जसरी काबुलमा त्यहाँका जनतालाई हामीले दिएका प्रतिबद्धतामा विश्वास गर्ने आधार थिएन, त्यसैगरी थुप्रै अमेरिकी ताइवानलाई नक्सामा समेत भेट्टाउन सक्दैनन् । चीनसँग कूटनीतिक सम्बन्ध राख्न अमेरिकाले ताइवानसँगको सन् १९७९मा गरिएको रक्षा सन्धिलाई खारेज गरेको थियो । त्यसबाहेक ताइवानी नेतृत्वले आफ्नो प्रतिरक्षा गर्नसमेत अक्षम रहेको अचम्मलाग्दो कुरा बाहिर ल्याएका छन् । ताइवानी सैन्य शक्ति अव्यवस्थापन एवं अक्षमताका कारण अस्तव्यस्त छ । 

राष्ट्रवाद निर्णायक तत्व हुनेछ । बेइजिङले आफ्नो राष्ट्रको पुनः एकीकरण गर्न जुनसुकै मूल्य चुकाउन तयार रहेको देखाइसकेको छ । यो दृढ संकल्प भियतकङ र तालिबानसँगको अमेरिकी अनुभवसँग मिल्छ । हस्तक्षेपका लागि ‘अमेरिकी विश्वसनीयताको रक्षा’ वा ‘विधिको शासन जोगाउने’ जस्ता फिल्मी तर्क पनि भियतनाम र अफगानिस्तान अनुभवसँग मिल्छ । आणविक शक्ति भएको शक्तिशाली प्रतिद्वन्द्वीसँग अर्को गृहयुद्धमा मुछिने काम अमेरिकाका लागि यसअघिका असफलताभन्दा विनाशकारी ठहरिने निश्चित छ । द नेसनल इन्ट्रेस्टबाट