१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ कार्तिक १२ शुक्रबार १३:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले वैशाखमै उद्‍घाटन गरेको धरहराको काम अझै सकिएन, बाँकी काम सकिन ६ महिना लाग्ने

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १२ शुक्रबार १३:४३:००

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत वैशाख ११ गते हतारोमा धरहराको उद्‍घाटन गरे पनि धराहरा पुनर्निर्माणको काम अझै सकिएको छैन। ठेकेदार कम्पनीका अनुसार बाहिरी सुन्दरतासहितको पूर्ण धरहरा तयार हुन अझै ६ महिना लाग्छ। सिंगो आयोजनामध्ये ३० प्रतिशत काम बाँकी छ। ठेकेदार कम्पनी रमण निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीका अनुसार धरहरा स्तम्भकाे बाहिरी स्वरूप तयार भए पनि जमिनमुनि तथा भित्री संरचनाको अधिकांश काम अझै बाँकी छ। ओलीले उद्‍घाटन गरेको ६ महिना बिते पनि थुपै काम बाँकी रहेको नकर्मीले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले हतारो गरेर काम नसकिँदै धरहराको उद्‍घाटन गरेका थिए। ओलीले धराहरा स्तम्भ तयार नहुँदै उद्‍घाटन गरेपछि काममा बाधासमेत उत्पन्न भएको छ। ‘अझै धेरै काम बाँकी छ, एकपटक राखिएको लिफ्ट फेरि फुकाल्नुपर्‍याे, तीनतला भूमिगतको काम पनि बाँकी छ,’ उनले भने, ‘वरिपरि व्युटिफिकेसनको काम त झन् सुरु नै भएको छैन।’ 

उनका अनुसार धरहराको बाहिरी बगैँचा बनाउन साइट नै तयार भएको छैन। नेपाल टेलिकमले आफ्नो संरचना भत्काएको छैन। त्यस्तै कुलदेवताको मन्दिर र व्यक्तिगत भवन पनि भत्काउनुपर्ने भए पनि उक्त काम बाँकी छ। पुनर्निर्माण प्राधिकरणका आयोजना प्रमुख भरत अर्यालले धरहराको भित्री काममा बढी समय लागेको बताए। उनले केही काम ठेकेदार कम्पनीले पनि ढिलो गरेको आरोप लगाए। ‘हामीले ठेकेदार कम्पनीलाई पुससम्मको समय दिएका छौँ, उक्त समयसम्म काम सक्नुपर्छ, नसके कारबाही वा विकल्प पनि खोज्नुपर्ने हुन्छ,’ उनले भने। 

के–के काम बाँकी छ ?
धराहराको छेवैमा रहेको पुरानो धरहराको संरचनालाई कसरी संरक्षण गर्ने भन्नेबारे पनि योजना तय नभएको ठेकेदार कम्पनीले जनाएको छ। हाल स्तम्भको भित्री बेसमेन्टमा टायल र ग्राइनेट लगाउने तथा सिलिङको काम भइरहेको छ। ‘हामीलाई पुस १० गतेसम्म सक्ने समय दिइएको छ, तर ६ महिना त लकडाउनले काम रोकियो, अझै धेरै बाँकी छ, सबैजसो काम सकिन वैशाखसम्म कुर्नपर्छ,’ प्रोजेक्ट म्यानेजर नकर्मीले भने।’ 

उनले पार्किङ र गार्डेनको काम नै सुरु नभएको बताए। उनका अनुसार धरहरा परिसरमा संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना बनाउन बाँकी छ। 

धरहराको भुइँतलामुनि तीनवटा तला पार्किङका लागि छुट्याए पनि उक्त काम सुरु नै भएको छैन। उक्त पार्किङमा आठ सय मोटरसाइकल र चार सय चारपांग्रे गाडी अट्नेछ। 

यसबाहेक भुइँतलामा एसी र फायर फाइटिङ कक्ष बनाउन पनि बाँकी छ। उक्त कक्षमा दुई लाख लिटरको पानी ट्यांकी निर्माण गर्न बाँकी छ। धरहरा पुनर्निर्माण कार्यमा हालसम्म एक अर्ब ६९ करोड खर्च भएको छ। सरकारले धरहरा पुनर्निर्माणका लागि विनियोजन गरेको बजेटमध्ये अझै एक अर्ब ४७ करोड रकम धरहरा कोषमा छ। उक्त रकममध्ये बाँकी काममा ६० करोड खर्च हुने अनुमान गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले उहिल्यै उद्‍घाटन गरेको धरहरा सर्वसाधारणले भने अवलोकन गर्न पाएका छैनन्। पुनर्निर्माण कार्य नसकिँदा सर्वसाधारणलाई खुला नगरिएको हो। पूरा काम सकिन धेरै समय लाग्ने भएकोले करिब दुई महिनापछि भने सर्वसाधारणलाई खुला गरिने काठमाडौं महानरगपालिकाले जनाएको छ। ०७२ सालमा गएको भूकम्पमा लडेको धरहरा पुनर्निर्माण कार्य  लामो समय विवादमा परेको थियो। विवादबीचमै सुरु भएको धरहरा पुनर्निर्माण कार्यमा ठेकेदार कम्पनीले पनि पटक–पटक म्याद थप्दै आएको थियो। ओलीको दबाबपछि ठेकेदार कम्पनीले वैशाखमा उद्‍घाटन गर्न मिल्ने गरी स्तम्भको मुख्य काम सकाएको थियो। त्यसयता ठेकेदार कम्पनीले बाँकी रहेको काममा ढिलाइ गर्दै आइरहेको छ।