१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक ११ बिहीबार ०७:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुनर्निर्माणपछि जुर्मुरायो राइनासकोट :  गाउँ छोडी अन्यत्र गएका पनि फर्कन थाले  

Read Time : > 1 मिनेट
२०७८ कार्तिक ११ बिहीबार ०७:००:००

लमजुङको राइनास नगरपालिका–९ मा रहेको ऐतिहासिक राइनासकोटमा पुनर्निर्माण गरिएका १४ घरमा घरवास पर्यटन सञ्चालन गरिएसँगै पर्यटकहरू बढ्न थालेका छन् । अमेरिकी नागरिक नतासा वाजनियाकको पहलमा राइनासकोटमा डेढ करोडभन्दा बढीको लागतमा १४ घर पुनर्निर्माण गरिएका हुन् ।  रित्तिन लागेको गाउँ भूकम्प गएपछि जुर्मुराएको स्थानीय विष्णुमाया गुरुङले बताइन् । 

‘पानी, बिजुली, बाटोघाटोको समस्याले गाउँ रित्तिनै आँटेको थियो भूकम्प गएपछि गाउँ फेरि जुर्मुराएको छ’, गुरुङले भनिन्, । केही वर्ष पहिले आवश्यक विकासका पूर्वाधारसमेत नहुँदा राइनासकोटका बासिन्दा धमाधम अन्यत्र बसाइँ सर्ने गर्थे, तर पुनर्निर्माणपछि गाउँमै होमस्टे सञ्चालन गरेर दैनिकी चलाएका छन् ।

राइनासकोटमा दैनिक ३०/४० जना पर्यटक आउने गरेको होमस्टे सञ्चालक खड्गबहादुर गुरुङले बताए । उनले भने, ‘१४ घरमा होमस्टे सुरु गर्ने योजनाअनुसार १४ वटै घर निर्माण गरियो । एक दिनमा ८४ जनासम्म राख्न सकिने क्षमता रहेको छ ।’ होमस्टेमा अर्गानिक खानाका परिकारसँगै स्थानीय खसी तथा कुखुराको मासु खुवाउने गरिएको छ ।

 होमस्टेबाट मनग्ये आम्दानी
राइनासकोटको होमस्टेमा लमजुङ, तनहुँ, गोरखासहित काठमाडाै‌, पोखरा, चितवनलगायतका देशका विभिन्न ठाउँबाट दैनिक पर्यटकहरू आउँछन् । होमस्टे सञ्चालकका अनुसार होमस्टेमा एक रात बसेको पर्यटकले चार सय रुपैयाँ, लोकल कुखुराको मासुसहितको एक छाक खानाको तीन सय रुपैयाँ, र सादा खानाको एक सय ५० रुपैयाँ तिर्नुपर्छ । गाउँमा होमस्टे सञ्चालन भई स्थानीयले मनग्ये कमाउन थालेसँगै गाउँ छोडी अन्यत्र गएका पनि गाउँ फर्कन थालेका छन् । अहिले चार घरधुरी गाउँ फर्किसकेका छन् ।

गाउँमा अहिले सडक, पानी, बिजुलीको र इन्टरनेटको सुविधा पनि छ । पहिले खेतीपाती गरेर जीवन गुजार्ने स्थानीय अहिले होमस्टे व्यवसायबाटै मनग्ये कमाएका छन् । राइनासकोटबाट बिहानैको मनमोहक सूर्योदय र साँझपखको सूर्यास्तको दृश्य, आँखैअगाडि ‘बादलुको घुम्टो’ ओढी मुस्कुराएका हिमाल, नागबेली पारामा बगेका चेपे र मस्र्याङ्दीको लोभलाग्दो दृश्य, बाइसेचौबिसे राज्य शासनमा निर्माण गरिएका ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै कोट, किल्ला र गढीहरूको अवलोकन गर्न सकिन्छ । 

सर्वोदय सेवा आश्रमका अध्यक्ष एवं सामाजिक अभियन्ता कृष्णराज ओलियाका अनुसार राइनास नगरपालिका–९, मा रहेको राइनासकोटबाट एक सय ८० डिग्रीको बिन्दुबाट एकैपटकमा बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वेन्टी नाइन, गणेश, माछापुच्छे«लगायत १८ वटा हिमशृंखला आँखैअगाडि देख्न सकिन्छ । गाउँमा स्थानीयको कला, संस्कृतिलाई जोगाउन संग्रहालयसमेत स्थापना गरिएको छ । 

लमजुङ जिल्लाको राइनासकोट शाहवंशीय राजाको उद्गमस्थल हो । राइनासकोटबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रेका साथै धवलागिरिजस्ता हिमालको एकसाथ अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । लमजुङको प्रवेशद्वारा पाउँदीबाट तीन घन्टाको पैदल यात्रा र दुई घन्टाको सवारी यात्रापछि राइनसकोट पुग्न सकिन्छ । नेपालका बाइसेचौबिसे राज्यकालमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर हुँदै दूधपोखरीमार्ग र त्यहाँबाट झन्डै २० मिनेटको सिँढी उक्लिनुपर्छ ।