मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक ११ बिहीबार ०६:२६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अलमुताइरी तीन वर्ष नेपालमै बस्ने

Read Time : > 2 मिनेट
२०७८ कार्तिक ११ बिहीबार ०६:२६:००

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण गर्ने वा नगर्ने भन्ने द्विविधा समाप्त भएको छ । स्वयं अलमुताइरीले बुधबार सामाजिक सञ्जालमार्फत आफू नेपाली टोलीसँग तीन वर्ष सहकार्य गर्न तयार भएको र नेपालमै बस्ने घोषणा गरेका छन् ।यससँगै अलमुताइरीले अबको तीन वर्ष नेपाली राष्ट्रिय टोली हेर्न निश्चित भएका छन् । दुई साताअघि माल्दिभ्सको मालेमा सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप नै नेपाली टोलीसँगको अन्तिम यात्रा भएको अलमुताइरीले घोषणा गरेका थिए । नेपाली टोली काठमाडौं फर्किंदा उनी माल्दिभ्सबाटै कुवेत फर्केका थिए । त्यसवेला उनले परिवारसँग समय बिताउनका लागि घर फर्किएको जनाएका थिए । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रशिक्षक अलमुताइरीबीच गत साता कतार फुटबल संघको सहयोगमा वार्ता भएको थियो । एन्फा अध्यक्ष छिरिङले अलमुताइरीसँग नेपालको फुटबल विकासबारे सकारात्मक छलफल भएको सामाजिक सञ्जालमातर्फ जानकारी दिएका थिए । तर, अध्यक्ष छिरिङले अलमुताइरी नेपाल फर्कने वा नफर्कने भन्ने स्पष्ट पारेका थिएनन् । 

 कतारमै सम्झौता नवीकरण 
अध्यक्ष छिरिङसँगको सौहार्दपूर्वक वार्तालापको एक साता नबित्दै प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालबाटै कतार फुटबल संघ र एन्फाका अध्यक्ष शेर्पासँग छलफलपछि सम्झौता नवीकरण भएको जानकारी दिए । उनले छिट्टै २ वर्षको योजना प्रस्तुत गर्ने बताए । ‘कर्मा छिरिङ शेर्पा (एन्फा अध्यक्ष) सँगको भेटपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु,’ सामाजिक सञ्जालमा अलमुताइरीले भने, ‘अबको दुई वर्ष नेपाली फुटबलसँगै रहनेछु ।’ अलमुताइरीले एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिएका छन् । उनी भन्छन्, ‘एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु ।’ नेपालको फुटबल भविष्य राम्रो हुने गरी दुई वर्षको योजनासहित सार्वजनिक हुने उनले जनाएका छन् । 

सामाजिक सञ्जालमा अलमुताइरी लेख्छन्, ‘हामी चाँडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौँ, जसले फुटबलको भविष्य राम्रो हुने, तर आफूहरूलाई त्यसका लागि समय चाहिन्छ, ।’ अलमुताइरीले नेपाली समर्थकको माया आफूलाई मात्र नभएर खेलाडीलाई पनि चाहिएको उल्लेख गरेका छन् । ‘नेपाली समर्थकको माया मलाई मात्र नभएर खेलाडीहरूलाई पनि चाहिएको छ,’ उनले भने, ‘हामीलाई सहयोग गर्नुहोस् र नेपाली फुटबललाई अर्को स्तरमा पु¥याउने मेरो वाचा छ, तर हामीलाई समय दिनुस् ।’

 ११ अन्तर्राष्ट्रिय खेल
अलमुताइरीको प्रशिक्षणमा नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेल्दा तीनवटामा जित र ६ खेलमा हार सामना गरेको छ । नेपालले साफ च्याम्पियनसिपमै दुई दशकपछि माल्दिभ्स र श्रीलंकामाथि जित निकालेको थियो । यसैगरी विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई पनि हराएको थियो । यसैगरी इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालले ६–२ ले गुमाएको थियो । त्यसछि विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गर्‍यो । उनले नेपाली टोलीलाई बलियो बनाउने क्रममा युवा खेलाडी नै पहिलो प्राथमिकतामा राखेका थिए । सन् २०२२ को कतार विश्वकप र एसियन कपअन्तर्गत एसियन छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईविरुद्ध प्रतिस्पर्धा गर्‍यो । 

 साफको फाइनल पुर्‍याउने पहिलो प्रशिक्षक
अल्मुताइरी गत चैतमा कतार फुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । गत जुनमा अलमुताइरीसँग २०२२ सेप्टेम्बरसम्मका लागि नयाँ सम्झौता भएको थियो । अलमुताइरीले यो ६ महिनाभित्र नै नेपाललाई पहिलोपटक साफ च्याम्पियनसिपको उपविजेता बनाएका थिए । २८ वर्षको साफ च्याम्पियनसिप इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपविजेतामा सीमित भयो । नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पु¥याउने उनी पहिलो प्रशिक्षक हुन् । 

साफ च्याम्पियनसिपमा नेपालको उत्कृष्ट प्रदर्शन नै सेमिफाइनलसम्म थियो । नेपाललाई पहिलोपटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा इंग्लिस प्रशिक्षक ग्राहम रोवर्टले पुर्‍याएका थिए । सन् २०१३ मा काठमाडौंमै भएको साफ च्याम्पियनसिपमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । साफ च्याम्पियनसिपमा लगातार दुई खेलमा जित निकाल्ने प्रशिक्षक पनि अलमुताइरी नै हुन् । १३औँ साफबाहेक अघिल्ला संस्करणमा नेपालले लगातार दुई जित निकाल्न सकेको थिएन । अलमुताइरीको प्रशिक्षणमा अब नेपालले एसियान कप छनोटको तेस्रो चरण खेल्नेछ ।