१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक ९ मंगलबार ०७:५१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१० अर्बले घट्यो रेमिट्यान्स : दुई महिनामै विदेशी मुद्रा सञ्चिति करिब तीन खर्बले घट्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक ९ मंगलबार ०७:५१:००

चालू आवको दुई महिनामा गत वर्षको तुलनामा १० अर्ब कम रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालू आवको दुई महिनामा एक खर्ब ५५ अर्ब रुपैयाँ भित्रिएको हो । 

रेमिट्यान्स भित्रिने दरमा कमी तथा आयातमा वृद्धिले मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर) घाटा चुलिएको छ भने वैदेशिक मुद्राको सञ्चिति उच्चदरमा घटेको छ । दुई महिनामा विदेशी मुद्रा सञ्चिति करिब तीन खर्ब (दुई खर्ब ८५ अर्ब) रुपैयाँले घटेको छ । असारमा १३ खर्ब ९९ अर्ब रहेको सञ्चिति भदौमा घटेर ११ खर्ब १४ अर्बमा सीमित भएको हो ।

यस्तो सञ्चितिले करिब सात महिना आठ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था छ । केही वर्षअघिसम्म राष्ट्र बैंकले आठ महिनाको वस्तु तथा आयात धान्दा विदेशी मुद्राको सञ्चिति पर्याप्त रहने बताउँदै आएको भए पनि पछिल्लो समय सात महिनाको सञ्चितिलाई कुसनका रूपमा लिएको छ । वास्तवमा नेपालजस्तो विकासोन्मुख मुलुकको ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्थालाई सामान्य मानिन्छ । पछिल्लो समय यस्तो आयात धान्न सक्ने क्षमतामा भइरहेको कमीले भने मुलुकको बाह्य क्षेत्र दबाबमा देखिन थालेको छ । 

मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर बचत) ८३ अर्ब ४० करोड रुपैयाँले नकारात्मक भएको छ । कोभिडका कारण केही अघिसम्म अवरुद्ध भइरहेको शिक्षाका लागि बिदेसिने रकम, विदेश भ्रमणमा बिदेसिने रकम पुनः वृद्धि हुन थालेको छ । सो अवधिमा यी शीर्षकमा मात्रै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । मुलुक भित्रिने प्रत्यक्ष वैदेशिक लगानी, विदेशबाट मुलुकलाई भइरहेको ब्याज आम्दानीमा केही वृद्धि देखिए पनि यसले भुक्तानी सन्तुलनमा देखिएको दबाब कम हुन सकेको छैन । मुलुक भित्रिने पर्यटकबाट हुने आम्दानीमा उच्च वृद्धि देखिए पनि कोभिडभन्दा अगाडिको अवस्थामा भने आइपुगेको छैन । यस्तो आम्दानी गत आवको भन्दा एक सय ७७ प्रतिशतले बढेर दुई अर्ब ७० करोड रुपैयाँ पुगेको छ । तर, कोभिडअघि भने दुई महिनाकै अवधिमा १० अर्ब २१ करोड रहेको थियो । 

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी उच्चदरमा बढेपछि पनि आयातलाई सहयोग पुगिरहेको राष्ट्र बैंकको ठम्याइ छ । निजी क्षेत्रतर्फ प्रभावित हुने कर्जाको वृद्धिदर २० प्रतिशतमा सीमित राख्ने राष्ट्र बैंकको प्रक्षेपणविपरीत कर्जा ३२ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । गत आवको यही अवधिमा ३३ खर्ब २७ अर्ब रुपैयाँ निजी क्षेत्रतर्फ कर्जा लगानी भएकोमा यो अवधिमा ४४ खर्ब नौ अर्ब रुपैयाँ पुगेको छ । कात्तिक पहिलो साता भने बैंकहरू स्रोत अभावमा देखिन थालेका छन् । निक्षेप बढ्न नसक्दा कर्जा लगानी प्रभावित भइरहेको छ । वाणिज्य बैंकहरूको कात्तिकको पहिलो साता निक्षेप असोज अन्त्यको तुलनामा २० अर्बले घटेर ४२ खर्ब ४९ अर्बमा सीमित भएको छ भने कर्जा लगानी भने एक करोडले घटेर ३९ खर्ब ९८ अर्बमा सीमित भएको छ ।   

मूल्यवृद्धिदरमा सुधार
साउनमा वार्षिक मूल्यवृद्धिदर ४ दशमलव ३५ प्रतिशत पुगेको भए पनि भदौमा भने यो दर ३ दशमलव ४९ मा सीमित भएको छ । घिउ तथा तेल, माछामासु, गैरमदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र यातायातको मूल्यवृद्धि उच्च छ । यो समूह यिनमा करिब १० देखि २९ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको हो । त्यस्तै, काठमाडौं उपत्यकामा ३.२३ प्रतिशत, तराईमा ३.६५ प्रतिशत, पहाडमा ३.९६ प्रतिशत र हिमालमा ३.५१ प्रतिशत मूल्यवृद्धि छ ।