१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ कार्तिक ८ सोमबार ०७:३८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६२० डोज खोप आज आउँदै

तर, बालबालिकालाई नलगाइने

Read Time : > 1 मिनेट
२०७८ कार्तिक ८ सोमबार ०७:३८:००

बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप सोमबार काठमाडौं आइपुग्दै छ । तर, थोरै परिमाण मात्रै भएकाले उक्त खोप दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्य देशमा यो खोपले दीर्घरोगीलाई राम्रो गरेको भन्दै सरकारले क्यान्सर रोगी र मिर्गौलाका गम्भीर बिरामीलाई लगाउन लागेको हो । यस्ता बिरामीको उपचार हुने अस्पतालमै खोप पठाउने तयारी छ । कतार एयरलाइन्सको ६४८ विमानमार्फत सोमबार बिहान खोप काठमाडौं आइपुग्नेछ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप आउन लागेको र थोरै भएकाले बालबालिकालाई नलगाइने मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बताए । ‘फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति छ । नेपालमा पनि सोही उमेरका बालबालिकालाई लगाउने भनिएको थियो,’ पौडेलले भने, ‘तर, थोरै मात्रामा आएकाले दीर्घरोगीलाई लगाउने निर्णय भएको हो । थप डोज आएपछि मात्रै बालबालिकालाई लगाइन्छ ।’ उनका अनुसार विभिन्न अध्ययनले पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकाका लागि समेत फाइजर सुरक्षित भएको रिपोर्ट सार्वजनिक गरे पनि विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । 

फाइजरको थप ६० लाख डोज खोप पुसमा आउने कार्यतालिका छ । उक्त खोप बालबालिकालाई लगाउने योजना सरकारले बनाएको छ । कोभिसिल्ड, अस्ट्राजेनेका र भेरोसेलजस्तै फाइजर पनि एक महिनाको अन्तरमा दुई डोज लगाउनुपर्छ । सोमबार आउने खोप भण्डारणका लागि आवश्यक अल्ट्रा कोल्डचेन तयार पारिसकेको छ । फाइजर खोपको सेल्फ लाइफ पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ । त्यस्तै, माइनस २ देखि माइनस ८ डिग्री सेल्सियसमा १४ दिनसम्म भण्डारण गर्न सकिन्छ । तर, एकपटक बढी तापक्रममा राखिसकेपछि फेरि थप माइनसमा भण्डारण गर्न मिल्दैन । 

१,८८,५८,७१० डोज आयो, १,५२,११, १६१ डोज सकियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्यांकअनुसार एक करोड ८८ लाख ५८ हजार सात सय १० डोज खोप आएको छ । यसमध्ये एक करोड ५२ लाख ११ हजार एक सय ६१ डोज लगाइएको छ भने ३६ लाख ४७ हजार पाँच सय ४९ डोज लगाउन बाँकी छ । कोभिसिल्ड ३४ लाख ४८ हजार, अस्ट्राजेनेका १९ लाख ७५ हजार आठ सय ६०, भेरोसेल एक करोड १९ लाख र जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार आठ सय ५० डोज आएको हो । यीमध्ये जोन्सनको एक डोज मात्रै लगाए हुन्छ । 

 ६६,०४,१७३ ले लगाए पूर्णखोप
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६६ लाख चार हजार एक सय ७३ जनाले कोरोनाविरुद्धको पूर्ण खोप अर्थात् दुवै डोज लगाएका छन् । २० लाख दुई हजार आठ सय १५ ले पहिलो डोज मात्रै लगाएका छन् । १८ वर्ष उमेरमाथिका दुई करोड १७ लाख नागरिकलाई खोप लगाउनुपर्ने छ । तर, सरकारले पछिल्लो समय १८ वर्षमुनिका बालबालिकालाई पनि लगाउने योजना बनाएको छ ।