मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ७ आइतबार १७:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

द्वन्द्वपीडितको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ७ आइतबार १७:१३:००

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट परिचयपत्र प्राप्त गरेका द्वन्द्वपीडितले त्यही परिचयपत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् । आइतबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले जारी गरेको परिचयपत्र बाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो । 

आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरू विश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, सुनिलरंजन सिंह र सरिता थापा तथा सचिव श्यामकुमार भट्टराई आयोगले अहिलेसम्म गरेका काम र अब गृह मन्त्रालयसँगको समन्वयबारे छलफल गर्न मन्त्रालयमा पुगेका थिए । 

छलफलमा गृह मन्त्रालयका तर्फबाट मन्त्री खाण, सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए । आयोगका पदाधिकारीले तत्कालका लागि आयोगले परिचय पत्र प्रदान गरेका द्वन्द्वपीडितलाई त्यही पास देखाएर सिंहदरबार छिर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । 

आग्रहअनुरूप आयोगको परिचय पत्र भएकाहरूलाई  सिंहदरबारमा प्रवेश गर्न दिने व्यवस्था मिलाउन गृहमन्त्री खाणले निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए । 

गृहमन्त्री खाणसहित मन्त्रालयका पदाधिकारी र आयोगका पदाधिकारीबीच पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचय पत्र दिएका व्यक्तिहरूले पाउने सेवासुविधा, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा संशोधनलगायत विषयमा छलफल भएको थियो । 

आयोगले अहिलेसम्म ७४४ परिवारका एक हजार तीन सय ७८ जनालाई परिचय पत्र प्रदान गरेको छ । आयोगका प्रवक्ता डा. अधिकारीका अनुसार आयोगमा अहिलेसम्म तीन हजार दुई सय ४३ ले आफ्नो परिवारका सदस्य बेपत्ता भएको उजुरी दिएका छन् । त्यसमध्ये आयोगले दुई हजार चार सय ९७ उजुरीमाथि विस्तृत अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिए ।