मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
महेशदत्त भट्ट
२०७८ कार्तिक ७ आइतबार १०:०८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेस अधिवेशनको दायित्व

Read Time : > 2 मिनेट
महेशदत्त भट्ट
२०७८ कार्तिक ७ आइतबार १०:०८:००

जनअपेक्षाबमोजिम पार्टीनीति कार्यान्वयन गर्न सक्ने, लोकतन्त्रको मूल मर्म बुझ्ने, देश र जनताका समृद्धिको सपनालाई सार्थक तुल्याउन सक्ने अनुशासित र अनुभवी नेतृत्व चयन गर्नु कांगे्रेस अधिवेशनको दायित्व हो


देशको उन्नति अनि नेपाली जनताको समग्र प्रगति कांग्रेसको मुल अभीष्ट हो । बिपी कोइरालाको विचार, कैयौँ सहिदको बलिदान, हजारौँ योद्धाको समर्पण र लाखौँ सदस्यको अनवरत संघर्षपूर्ण यात्रा त्यही अभीष्ट प्राप्तिमा केन्द्रित छ । बिपीसँगै सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले विभिन्न कालखण्डमा यो पार्टी र समग्र देशको नेतृत्व गर्नुभयो । उहाँहरूको नेतृत्वमा मुलुकले हासिल गरेको राजनीतिक र आर्थिक उपलब्धिको जगमा नेपालको समृद्धि र खुसी प्राप्तिको यात्रालाई अघि बढाउनु समस्त कांग्रेसजनको दायित्व हो ।

हरेक राजनीतिक दलको जीवनलाई चलायमान र गतिशील बनाउन नेतृत्व चयन प्रक्रियालाई महत्वपूर्ण कडीका रूपमा हेरिएको हुन्छ । एउटा जीवन्त लोकतान्त्रिक पार्टीको अधिवेशन र महाधिवेशनले पार्टीका विभिन्न तहमा नेतृत्व चयन गर्नुका साथै सिंगो देश र पार्टीलाई थप ऊर्जासहित दिशानिर्देश गर्नुपर्छ । अहिले कांग्रेस महाधिवेशनको महायज्ञमा होमिइरहेको छ । महाधिवेशन र अधिवेशनहरू वैचारिक बहस, विधि–विधानलाई समयानुकूल अध्यावधिक गर्दै अगाडि बढ्ने उपयुक्त अवसरका साथै नेतृत्व विकासको महायज्ञ मानिन्छ । विगतमा जनता र कार्यकर्तामाझ गरिएका प्रतिबद्धता के–कति पूरा भए र के–कति कुन कारणले पूरा गर्न सम्भव भएन भन्ने सम्बन्धमा नेतृत्वले चित्तबुझ्दो जवाफ दिनु जरुरी छ । यतिखेर वडा र पालिका तहको नेतृत्व चयन प्रक्रिया सकिएको छ । यस अधिवेशनबाट थुप्रै ऊर्जाशील युवाको आगमन भएको छ । २१औँ शताब्दीको नेपाल र नेपाली जनतालाई एकढिक्का बनाई समतामूलक नेपाली समाज निर्माणमा यो महाधिवेशन रामवाण हुनेछ । नेपाली जनताको उच्च चासो र सरोकार रहेको कांग्रेस कांग्रेसैजस्तो भएको देख्ने जनचाहना सर्वत्र छ । 

१४औँ केन्द्रीय माहाधिवेशनको तयारीमा लाग्दै गर्दा कांग्रेसले वर्तमान नेपाली राजनीतिलाई सूक्ष्म रूपमा अध्ययन एवं विश्लेषण गर्नु र भावी रणनीति बनाउनु जरुरी छ । अबको कांग्रेस कस्तो हुनुपर्छ भन्ने विषयमा कांग्रेसमा समयानुकूल एजेन्डा, विचार, नीति र नेतृत्वका क्षमताबारे पनि व्यापक बहस हुन थालेको देखिन्छ । कांग्रेसको नीति अध्ययन अनुसन्धान विभागमार्फत जनकेन्द्रित नीतिमाथिको बहस र कार्यकर्ताको प्रशिक्षणले क्षमता र ‘पर्फमेन्स’माथि जोड दिएको छ । युवा, दलित, महिला, जनजाति, मधेसीसमेतको सीमान्तकृत समुदायको सम्मानजनक सहभागिताले उनीहरू राजनीतिमा प्रोत्साहित हुने संकेत देखिएको छ । राजनीतिक परिवर्तनका लागि वेला–वेलामा नेतृत्वदायी संघर्ष गरेको कांग्रेसले नागरिकका समयानुकूल मौलिक हक र मानवअधिकार प्रत्याभूतिका लागि जरादेखि नै रूपान्तरणको खाका तयार पार्नुपर्छ । 

साथसाथै, अहिलेको हाम्रो चुनौती क्रमशः कोरोना कहर, पर्यावरणीय परिवर्तन र भ्रष्टाचार नियन्त्रण मुख्य विषय हुन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणकालमा देशका उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, साना तथा मझौला उद्योग आंशिक रूपले चले पनि पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् । चौतर्फी आर्थिक संकट आएको छ । देशको अर्थ व्यवस्था थिलथिलो बनेको छ । जनता कोही रोगले मरे, कोही शोकले मरे भने कोही भोकले मरे । धेरै मानिस पर्यावरणीय प्रभावका कारण धनजनको क्षति व्यहोरिरहेका छन् । अहिलेको बेमौसमी वर्षाले कैयौँको ज्यान लिएको छ । कैयौँलाई घाइते र कैयौँलाई घरबारविहीन बनाएको छ । किसानको मुखमा आइसकेको धानबाली बाढीसँगै बगेको छ । ६ अर्बभन्दा बढीको धान बगेको प्रारम्भिक अनुमान छ । अचानक आइपरेको विपत्तिबाट पीडित बनेका सबैलाई उचित क्षतिपूर्ति र बसोबासको व्यवस्था मिलाउनु छ ।

बढ्दो पर्यावरणीय परिवर्तनले प्रत्यक्ष रूपमा नागरिकको जीवनयापनलगायत समग्र देशको समृद्धिको यात्रामा अवरोध सिर्जना भएको छ । यसको सन्तुलनका लागि पनि एउटा महत्वपूर्ण कार्ययोजना अपरिहार्य छ । अस्थिर राजनीतिका कारण सेवा प्रवाह, सुशासन, पारदर्शितामा गिरावट आएको छ । भ्रष्टाचारले सीमिति व्यक्तिहरू दिन दुईगुना र रात चौगुना धनी भइरहेका छन् भने देश आर्थिक रूपमा जर्जर बन्दै गइरहेको छ । विकास निर्माणका कार्यहरूमा कमिसनतन्त्रको जालोले गुणस्तरीय कार्य हुन सकेका छैनन् । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रहरूमा समेत व्यापक भ्रष्टाचार मौलाएको छ । यी विषयमा गम्भीर र सूक्ष्म अध्ययन अनुसन्धान गर्ने, न्यूनीकरणका लागि रणनीति निर्माण गर्ने, सद्भावसहितको समृद्धिको खाका कोर्ने सामूहिक नेतृत्व निर्माण गर्न सक्ने नीति, विधि, थिति र कार्ययोजनासहितको कुशल नेतृत्व कांग्रेसको मात्र नभई आमजनताको आवश्यकता हो ।

कांग्रेसले लिने निर्णयमा यस पार्टीका शीर्ष नेतृत्व, नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकको मात्र चासो रहँदैन । उसले अख्तियार गर्ने रणनीति र राजनीतिक एजेन्डाले नेपाली जनता, देशको शासन व्यवस्था र शासकीय प्रणालीमै प्रभाव पार्छ । त्यसैले कांग्रेसका नेता र कार्यकर्ता अन्य राजनीतिक दलका नेता–कार्यकर्ताभन्दा मुलुकप्रति बढी जिम्मेवार र जनताप्रति जवाफदेही भएर समसामयिक समस्या समाधानमा अग्रसर हुनुपर्छ । यो नेपाली जनताले कांग्रेसलाई दिएको गहन दायित्व हो । जनअपेक्षाबमोजिम आफ्नो कार्यनीति अगाडि बढाउनु लोकतान्त्रिक संस्कारको सामान्य सिद्धान्तभित्र पर्छ । कांग्रेसले लोकतन्त्रको दायरा नाघ्न सक्दैन । नाघ्न खोजे आन्तरिक लोकतन्त्रको चिरहरण हुने भएकाले लोकतन्त्रको मूल मर्म बुझ्ने अनुशासित र अनुभवी नेतृत्व १४औँ महाधिवेनको आवश्यकता हो ।