मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक अधिकारी काठमाडाैं
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२०७८ कार्तिक ७ आइतबार ०६:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

न राहत न वास, जोखिम मोलेर पुनर्वास

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
२०७८ कार्तिक ७ आइतबार ०६:५०:००

१ असार मध्यराति १२ बजेको थियो । इन्द्रावती नदी गड्गडाउँदै बजार पसेपछि परिवारसँगै मस्त निद्रामा रहेका अमृतकृष्ण श्रेष्ठ ३० वर्षदेखि बस्दै आएको घरबाट रुँदैरुँदै बाहिर निस्के । त्यतिवेला छेवैको घरलाई बाढीले छोपिसकेको थियो । मेलम्चीको पुरानो बजार र पुलबजारमा मानिसको चित्कार सुनियो । भेमाथाङ र यांग्री–लार्केबाट आएको बाढीपहिरोले मेलम्ची खोला र इन्द्रावती नदी बहुलाएको थियो । बाढी झन्झन् बढेर घर छोप्न लागेपछि आपत्कालीन अवस्थामा राति २ बजे उनको परिवारले घर छोड्यो । एकसरो कपडाबाहेक केही झिक्न भ्याएनन् । बचेखुचेका सामान निकाल्ने आशामा रहेका श्रेष्ठ १६ साउनमा पुनः बाढी आएर घरको छतबाट खोला बग्न थालेपछि निराश बने । 

श्रेष्ठ परिवार दुई महिनासम्म नजिकै रहेको इन्द्रावती माध्यमिक विद्यालयको प्रांगणमा बस्यो । त्यसयता चार महिनासम्म उनको परिवार अलपत्र अवस्थामा छ । शुक्रबार पंक्तिकार मेलम्चीको पुलबजार पुग्दा अमृतकृष्ण बाढीले डुबाएको घर सफा गर्दै थिए । एक महिनादेखि दुईतले लामो १८ कोठे घर सफा गरिरहेका श्रेष्ठको अन्य विकल्प छैन । ‘सम्पत्तिको नाममा यो घर मात्रै हो । यहाँ किराना पसल थियो । अरू ठाउँमा जग्गा छैन र अरू कुनै पेसा पनि छैन,’ उनले दुःख दर्शाउँदै भने । बाढीपछि उनको परिवार कहिले स्कुल त कहिले भाडाको कोठामा बस्दै आएको थियो । अहिले छोराछोरी, आमा र दम्पती बस्न बजारमा दुईवटा कोठा भाडामा लिएका छन् ।

स्थायी बसोवास नभएसम्म नगरपालिकाले पैसा तिरिदिने आश्वासनमा उनले कोठा लिएका थिए । तर, नगरले पैसा नदिने भनेपछि बाध्य भएर बालुवाले भरिएको घर सफा गर्न लागेको उनले बताए । ‘फेरि बाढी आउन सक्छ भन्ने जान्दाजान्दै पनि कुनै विकल्प नभएर घर सफा गर्न लागेको हुँ,’ उनले भने, ‘बालुवा झिकेर बेच्छु । कोठा सफा गरेर हिउँदभर पसल थाप्छु ।’

अमृतसँग रिपोर्ट लिँदालिँदै ५८ वर्षीय सुब्बा तामाङ गुन्सा होटेलबाट निस्केर पुलबजार आई दुःखेसो पोख्न थाले । पाँचपोखरी थांपाल गाउँपालिका गुन्साबाट मेलम्ची बसाइँ सरेका उनले होटेलको नाम पनि जन्मेको गाउँकै पहिचान दिने गरी राखेका रहेछन् । आमाहेल्मो बसपार्कमा तामाङको होटेल थियो । बाढीले होटेल बगाएपछि भएको श्रीसम्पत्ति सबै बालुवामा मिसियो । बाढीले उनको जस्तै १७ वटा होटेल बगायो । अहिले परिवार पाल्न भाडाको घरमा उनले होटेल खोलेका छन् । ‘गुन्साबाट घरखेत सबै बेचेर मेलम्ची आएँ । अहिले परिवार पाल्न मुस्किल पर्‍यो,’ उनले भने । तामाङका अनुसार अन्यत्रबाट आएर होटेल तथा पसल सञ्चालन गरेका कम्तीमा ५० परिवारले मेलम्ची छोडेका छन् । अस्थायी बसोबास गर्नेलाई सरकारी राहत नदिने भनेपछि उनीहरूले मेलम्ची छाडेका हुन् । 

४० मुरी धान फल्ने आठ रोपनी खेत बगर बनेपछि निराश बनेका ४१ वर्षीय अच्युत पाण्डेले बाढीमा पसल, घर र अन्य व्यवसाय पनि गुमाए । उनलाई अहिले पाँचजना परिवार पाल्न धौधौ परेको छ ।

घर सफा गरेर बस्न थाले बाढीपीडित
मेलम्ची नगरपालिकामा ७१ घर विस्थापित छन् । मेयर डम्बरबहादुर अर्यालका अनुसार अधिकांश पीडित घर सफा गरेर बस्न थालेका छन् । नगरपालिकाले नदीबाट सय मिटर दूरीभित्र घर बनाउन नपाइने नयाँ मापदण्ड जारी गरेको छ । बाढीले नदीको धार परिवर्तन गरेको र सतह पनि माथि उठेकाले विस्थापित ७१ मध्ये ४० घर मापदण्डबाहिर परेका छन् । नगरको नियमानुसार मापदण्ड बाहिर परेका पीडितले सरकारी राहत पाउँदैनन् । सरकारले निजी आवास निर्माणका लागि दिने पाँच लाख पाउन अनिवार्य नक्साको प्रमाणित कागजात चाहिन्छ । नदीबाट सय मिटर दूरीभित्र पर्ने घरमूलीले नयाँ मापदण्डको कारण नक्सा बनाउन पाउँदैनन् । व्यवसाय मात्रै क्षति भएका पीडितलाई क्षतिपूर्ति नदिने नगरपालिकाले बताएको छ । डुबेको घर सफा गरेर पुनर्वासमा फर्कन चाहनेलाई नगरले कुनै सहायता गरेको छैन ।