मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बाढीले डुबाएको कैलारी गाउँपालिकाको किसानको धानबाली । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका
अजित अधिकारी जिल्ला ब्युरोको सहयोगमा
२०७८ कार्तिक ५ शुक्रबार ०९:१७:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेमौसमी वर्षाले दुई लाख हेक्टरको धानबालीमा क्षति

Read Time : > 3 मिनेट
अजित अधिकारी, जिल्ला ब्युरोको सहयोगमा
२०७८ कार्तिक ५ शुक्रबार ०९:१७:००

बेमौसमको वर्षात्ले नेपालको प्रमुख खाद्यान्न बाली धान उत्पादनमा ठूलो असर गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले देशभरबाट क्षतिको तथ्यांक आइनसकेको, तर ठूलो क्षतिको आकलन गरिएको बताए । ‘हामीले सबै प्रदेश मन्त्रालयलाई क्षतिको तथ्यांक पठाउन भनिरहेका छौँ । शुक्रबारसम्म सबैतिरबाट आउँछ कि भन्ने अपेक्षा छ’ उनले भने, ‘यद्यपि, सञ्चार सम्पर्क हुँदा १० देखि ६० प्रतिशतसम्म क्षति पुगेको जानकारी आएको छ ।’

तथ्यांक संकलन हुँदै छ, किसानलाई उचित क्षतिपूर्ति दिन्छौँ :  डा. कृष्णप्रसाद आचार्य, सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालय

यसपटकको बेमौसमे पानीले खेतमा लगाएको धानबालीमा असर गरेको छ । यसको असर कस्तो छ भनेर हामीले तथ्यांक मागेका छौँ । तर, जिल्ला ज्ञान केन्द्र हुँदै प्रदेशस्थित मन्त्रालयबाट हामीकहाँ आइपुगेको छैन । यद्यपि, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा धेरै क्षति भएको भनेर हामीलाई जानकारी आएको छ । सुदूरपश्चिममा त ६० प्रतिशतसम्म धानबालीमा क्षति पुगेको भन्ने कुरा आएको छ । सबै तथ्यांक आएपछि हामीले सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग बैठक बसेर क्षतिपूर्ति दिने विषय अगाडि बढाउँछौँ । किसानलाई कस्तो खालको क्षतिपूर्ति दिने, कुन माध्यमबाट दिँदा किसानहरूले छिटो प्राप्त गर्छन् भन्ने विषयमा हामी चाँडै निर्णय गर्नेछौँ ।

प्रदेश मन्त्रालयबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार देशभर कम्तीमा दुई लाख हेक्टरमा लगाएको धानबालीमा क्षति पुगेको छ । यसमध्ये धेरै धान उत्पादन हुने लुम्बिनी प्रदेशमा मात्रै एक लाख ३० हजार हेक्टरमा लगाइएको धान डुबानमा परेको र बाढी–पहिरोले बगाएको छ । सुदूरपश्चिममा कम्तीमा ५०–६० हजार हेक्टरमा लगाइएको धान बालीमा असर परेको छ । त्यस्तै, कर्णालीमा ३८ हजार हेक्टर रोपाइँ भएमध्ये ३० प्रतिशत धानखेतमा असर परेको छ । प्रदेश १, बागमती र गण्डकीमा सामान्य क्षति पुगेको छ भने प्रदेश २ को तथ्यांक आइपुगेको छैन । यो वर्ष देशभर १३ लाख ४२ हजार हेक्टरमा धान रोपाईं भएको कृषि विभागले जनाएको छ ।

लुम्बिनीमा सवा लाख हेक्टरको बालीमा क्षति
धान उत्पादनका दृष्टिले लुम्बिनी प्रदेश नेपालको तेस्रो धेरै धान फल्ने क्षेत्र हो ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बुटवलका अनुसार सो प्रदेशको १२ जिल्लामा तीन लाख १७ हजार हेक्टरमा रोपाइँ भएको थियो । त्यसमध्ये एक लाख ३० हजार ५६ हेक्टरमा लगाएको धानबालीमा वर्षात्, बाढी र पहिलोले ठूलो क्षति गरेको छ । अर्थात् लुम्बिनी प्रदेशमा ३० प्रत्शितभन्दा बढी धानमा क्षति पुगेको छ । 

मन्त्रालयका अनुसार ३६ हजार चार सय ८० हेक्टरमा किसानले धान काटेर सुकाउन छाडेको अवस्थामा बाढी पसेको छ । त्यस्तै ९३ हजार ५ सय ७८ हेक्टरको धान लडेर उठाउनै नसक्ने अवस्थामा पुगेको छ । मन्त्रालयले सबै जिल्लाको तथ्यांक तयार गरी संघीय कृषि मन्त्रालयमा पठाइसकेको जनाएको छ । 

सुदूरपश्चिममा ५० प्रतिशत क्षति
वर्षात्ले सबैभन्दा बढी सुदूरपश्चिममा असर गरेको छ । मुलुकभरमै सबैभन्दा छिटो (जेठ पहिलो साता) रोपाइँ हुने सुदूरपश्चिममा धेरै किसानले धान काटेर सुकाउन खेतमै छाडेका थिए । त्यही वेला ठूलो पानी परेर बाढी पसेको, पानी खेतमै जमेको कारण सुकाउन खेतमै राखेको धानमा ठूलो क्षति पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढीका सूचना अधिकारी गोकुलप्रसाद बोहोराले जानकारी दिए ।

उनले प्रदेशको खेतीयोग्य जमिनमा लगाइएको धान, आलु, मकै र तरकारीमा ठूलो क्षति पुगेको बताए । ‘यहाँ एक लाख ४४ हजार हेक्टरमा धानखेती भएको छ । त्यसमध्ये आधा भागमा लगाएको धानमा ठूलो क्षति पुगेको छ’ उनले भने । बाढी–पहिरोका कारण सञ्चार सम्पर्कविच्छेद भएकाले तथ्यांक संकलनमा कठिनाइ भएको उनले बताए  । उनले भने, ‘किसानले खेतमै छाडेको धान नष्ट भएको छ । ठाडो अवस्थामा रहेको धान पनि लडेर नष्ट भएको छ ।’ पहाडी जिल्लामा लगाइएको मकै, तरकारी, आलु पनि बगेर क्षति पुगेको छ ।

कर्णालीमा ३० प्रतिशत क्षति 
कर्णाली प्रदेशको सुर्खेतमा लगाइएको धानबालीमा धेरै क्षति पुगेको छ । कर्णालीमा यो वर्ष ३८ हजार हेक्टरमा रोपाइँ भएमध्ये २५–३० प्रतिशत क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुर्खेतका सूचना अधिकारी रामक्त अधिकारीले जानकारी दिए । ‘यहाँ मौसमप्रतिकूलताका कारण धेरै सूचना संकलन गर्न पाइएको छैन’ उनले भने, ‘अहिलेसम्मको प्रारम्भिक तथ्यांकअनुसार सर्खेतमा लगाइएको धानबाली धेरै नष्ट भएको छ । जुम्लाको मार्सीधानमा पनि ठूलो नोक्सानी पुगेको छ’ उनले भने । कर्णालीको सबैभन्दा धेरै धान रोपाइँ हुने क्षेत्रफल भएको जिल्ला सुर्खेत हो । सुर्खेतमा यो वर्ष १२ हजार पाँच सय ७१ हेक्टरमा रोपाइँ भएको र वर्षात्ले करिब ५० प्रतिशत क्षेत्रफलमा लगाएको धानमा असर गरेको मन्त्रालयको प्रारम्भिक अनुमान छ । 

प्रदेश १ मा कम क्षति
प्रदेश १ मा अविरल वर्षात्ले धानबालीमा ठूलो क्षति गरेको छैन । खोलाको किनारनजिकै धान लगाएका किसानहरूका बाली बगाएको र अन्यत्रका किसानको धान सुरक्षित रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, विराटनगरनले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले प्रदेश १ मा तीन लाख ३६ हजार हेक्टरमा रोपाइँ भएको र करिब १ प्रतिशत मात्रै असर पुर्‍याएको बताए । सुनसरीमा कोसी नदीको पानी फुटेर पूर्व–पश्चिम राजमार्ग नै डुबाएको थियो । सोआसपसाका धानमा पूर्ण क्षति गरेको छ । त्यस्तै, इटहरी–विराटनगर सडक पनि डुबानमा परेको र त्योआसपासको खेती नष्ट गरेको छ । 

गण्डकीमा २६ सय हेक्टर धानबाली नष्ट 
गण्डकी प्रदेशमा २५ सय ९१ हेक्टरमा लगाइएको धानबाली पूर्ण रूपमा क्षति भएको छ । प्रदेशको एक लाख २० हजार ८२० हेक्टरमा धानबाली लगाइएको प्रदेश कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा चार हजार ७१५ हेक्टरमा लगाइएको धानबालीमा आंशिक क्षति भएको छ । प्रदेशका नौ जिल्लाको तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै क्षति कास्कीमा भएको प्रदेश कृषि विकास निर्देशनालय गण्डकीका निर्देशक वासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार कास्कीमा एक हजार ७३५ हेक्टरमा लगाइएको धानबाली पूर्ण रूपमा क्षति भएको छ । गण्डकी प्रदेशमा दुई हजार ३७८ हेक्टरमा लगाइएको धानबाली किसानले भित्र्याइसकेको प्रदेश कृषि विकास निर्देशनालयका प्रवक्ता शशी अधिकारीले जानकारी दिइन् ।