मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ कार्तिक ४ बिहीबार ०८:१३:००
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मिर्गौला प्रत्यारोपण सेवा सीमित, जोखिममा बिरामी : वीर र टिचिङमा प्रत्यारोपण ठप्प

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ कार्तिक ४ बिहीबार ०८:१३:००

अन्य सरकारी अस्पतालमा प्रत्यारोपण सेवा ठप्प हुँदा सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको इमर्जेन्सीमै दैनिक सयभन्दा बढी बिरामी पुग्ने गरेका छन्, शल्यक्रिया गर्नुपर्ने बिरामीसमेत समयमै उपचार नपाउँदा हप्तैपिच्छे डायलाइसिस गर्न बाध्य छन्

सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र, भक्तपुरमा मिर्गौला प्रत्यारोपण सफल भएपछि केही दिनअघि सुधा चौधरीका आफन्त घर फर्कने तयारी गरिरहेका थिए । गत माघमा मिर्गौलाले काम नगरेको थाहा पाएपछि उनीहरू उपचारका लागि काठमाडौंका सबैजसो अस्पताल चहारेपछि भक्तपुरमा मिर्गौला प्रत्यारोपण गर्न पुगेका थिए । उनको त्यहीँ मिर्गौला प्रत्यारोपण भएको हो । उनलाई आमाले मिर्गौला दिएकी थिइन् ।

आमा र सुधा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेकाले अस्पतालले डिस्चार्ज गरेको हो । सुधाका अनुसार उनलाई लगातार दुई महिनासम्म रगत बग्ने र टाउको दुख्ने समस्या भएपछि त्रिवि शिक्षण (टिचिङ) अस्पताल ल्याइएको थियो । टिचिङमा उपचार हुँदाहुँदै लकडाउन भएपछि उनी घर फर्किन् । तर, समस्याले च्याप्दै गएपछि फेरि काठमाडौं आउनुप¥यो । यसबीचमा वीर अस्पताल, गंगालाल अस्पताल, निदान र नर्भिकजस्ता अस्पताल पुग्दा उपचारको टुंगो नभएपछि छोरी बाँच्ने आशा नै गुमाएको बताउँछन्, सुधाका बुबा । उनी भन्छन्, ‘अस्पताल धाउँदाधाउँदै चार लाखभन्दा बढी खर्च भइसकेको थियो, प्रत्यारोपण हुने आस नै थिएन । यहाँ बल्ल अप्रेसन भयो । अब छोरी बाँच्ने आस पलाएको छ ।’

 डेढ वर्षदेखि पालोमा
कोभिड महामारीमा संक्रमणको जोखिमका कारण प्रत्यारोपण सेवा बन्द हुँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था बिस्तारै कम हुँदै गएको छ । तर, मिर्गौला प्रत्यारोपण सेवा सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा मात्रै सीमित हुँदा सयौँ बिरामी डेढ वर्षदेखि पालो कुरेर बसेका छन् । अन्य सरकारी अस्पतालमा कोरोना महामारीको बहानामा मिर्गौला प्रत्यारोपण सेवा ठप्प हुँदा भक्तपुरमा इमर्जेन्सीमै दैनिक सयभन्दा बढी बिरामी पुग्ने गरेका छन् भने शल्यक्रिया गर्नुपर्ने बिरामीसमेत समयमै उपचार नहुँदा हप्तैपिच्छे डायलाइसिस गर्न बाध्य छन् । 

सम्पूर्ण तयारी भइसकेका बिरामीलाई समेत प्रत्यारोपण गर्न सकिरहेका छैनौँ । ढिलाइले कतिपयमा कम्प्लिकेसन बढ्दै छ, यसबीचमा समयमै उपचार नपाउँदा कतिले त ज्यान पनि गुमाए होला ।
 डा. कल्पना श्रेष्ठ, प्रमुख, मिर्गौला प्रत्यारोपण विभाग, सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र, भक्तपुर

नेपालमा मिर्गाैलाका करिब ८५ हजार बिरामी भएको सरकारी तथ्यांक छ । त्यसमध्ये १५ हजार नियमित डायलाइसिसमा छन् । त्यसमध्ये पनि पाँच हजार आठ सय ९६ जनालाई विपन्न भएको भनेर सरकारले नै सूचीकृत गरेको छ । तर, टिचिङ र वीर अस्पतालमा प्रत्यारोपण सेवा अवरुद्ध हुँदा प्रत्यारोपणको सम्पूर्ण तयारी गरीसक्दा पनि जोखिम लिएर बस्नुपर्ने अवस्था रहेको बिरामीहरूको दुखेसो छ । पाँच वर्षदेखि नियमित डायलाइसिस गराउँदै आएका हरिबहादुर सार्की भन्छन्, ‘प्रत्यारोपणका लागि सबै परीक्षण गराइसकेपछि लकडाउन भयो । श्रीमती (डोनर) र मेरो सबै परीक्षण गराउँदा ५० हजारभन्दा बढी खर्च भइसक्यो । अब अप्रेसनका लागि फेरि परीक्षण गर्नुपर्छ रे । औषधि र डायलाइसिसमै पैसा जुटाउन गाह्रो भइरहेको छ, अप्रेसनको तयारीका लागि कहाँबाट पैसा ल्याउनु ?’ 

कोभिडपछि एउटा मात्रै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध हुँदा अस्पताललाई भीड धान्न मुस्किल परिरहेको बताउँछिन्, मिर्गौला प्रत्यारोपण विभागकी प्रमुख डा. कल्पना श्रेष्ठ । उनी भन्छिन्, ‘सम्पूर्ण तयारी भइसकेका बिरामीलाई समेत प्रत्यारोपण गर्न सकिरहेका छैनौँ । ढिलाइले कतिपयमा कम्प्लिकेसन बढ्दै छ, यसबीचमा समयमै उपचार नपाउँदा कतिले त ज्यान पनि गुमाए होला ।’

मिर्गौला प्रत्यारोपणका लागि असोज अन्तिमसम्म सम्पूर्ण परीक्षण गरेर शल्यक्रिया कुरिरहेका मात्रै यस अस्पतालमा २६ जना रहेका छन् । यस्तै, अन्य ७० जना प्रत्यारोपणअगाडि गरिने स्वास्थ्य परीक्षणका क्रममा छन् । यसबाहेक प्रत्यारोपणका लागि अन्य २६ जनाले नाम टिपाएको अस्पताल प्रशासनको तथ्यांक छ । कोभिडले महामारीको रूप लिँदा प्रत्यारोपण सम्भव नभएकाले चाप बढेको बताए पनि संक्रमण घट्दै गए पनि सेवा विस्तारमा सरकारले बेवास्ता गरेको चिकित्सकहरू बताउँछन् । 

 प्रत्यारोपणले गति लियो, तर भीड बढी हुँदा धान्न मुस्किल 
मिर्गौला प्रत्यारोपण गर्ने धेरै भएसँगै अस्पतालले प्रत्यारोपणको दर बढाएको छ । साउनपछि मात्रै अस्पतालमा ३० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । पछिल्लो एक सातामा मात्रै सातजनामा मिर्गौला प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ । 

दसैँको समयमा अस्पतालका नियमित सेवासमेत प्रभावित हुने हुँदा गत सातादेखि नै उपचारमा बढी खटिएको अस्पतालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘दुई वर्षदेखि पालो कुरिरहेका बिरामी पनि डायलाइसिसको भरमा छन् । नयाँ थपिनेको संख्या पनि उत्तिकै छ । सकेसम्म धेरैलाई बचाउने कोसिस गरिरहेका छौँ ।’

कोभिड महामारीपछि उपचारको प्रक्रिया बढेकाले समेत समस्या आइरहेको बताउँछिन्, डा. कल्पना श्रेष्ठ । उनी भन्छिन्, ‘सरकारी सबै अस्पतालमा प्रत्यारोपण सेवा बन्द हुँदा कोभिडभन्दा मिर्गौला फेल भएर मर्नेको संख्या बढी हुन थाल्यो । यसपछि विशेष प्रोटोकल बनाएर सेवा नियमित गर्नुपरेको हो ।’ सामान्य अवस्थामा संक्रमण परीक्षणपछि शल्यक्रिया सुरु गरिन्छ । तर, महामारीमा प्रत्यारोपण गरिएका र डायलाइसिस गराइरहेका व्यक्तिहरूमा जोखिम बढी हुने भएको विशेष प्रोटोकल आवश्यक हुने भएकाले उपचार प्रक्रिया लम्बिने चिकित्सकहरू बताउँछन् ।

डा. श्रेष्ठका अनुसार प्रत्यारोपणअगाडि बिरामीलाई संक्रमण परीक्षण र आइसोलेसनमा राख्नुपर्ने हुन्छ । शल्यक्रियाअगाडि पुनः संक्रमण परीक्षण गरिन्छ । शल्यक्रियापछि पुनः बिरामीलाई विशेष स्वास्थ्य सेवा आवश्यक हुन्छ । उनी भन्छिन्, ‘लकडाउनमा विभिन्न लिमिटेसनका कारण सहज हुन सकेन । बिरामीलाई अस्पतालसम्मै पुग्न अप्ठ्यारो हुने, संक्रमणको उच्च जोखिम हुने आदि कारणले समस्या बल्झिएको हो । उपचार प्रक्रिया लम्बिए पनि बिस्तारै सहज बनाउँदै लगिएको छ ।’ 

प्रत्यारोपणका लागि पालो कुरिरहेका ९० प्रतिशतभन्दा बढी बिरामीमा ढिलाइका कारण जटिलता थपिँदै गएको चिकित्सकहरू बताउँछन् । तर, विशेषज्ञ सेवा उपलब्ध हुदाँहुँदै पनि टिचिङ र वीरमा प्रत्यारोपण सुरु नहुँदा सयौँ बिरामी जोखिम लिएर बस्न बाध्य छन् ।