Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७८ कार्तिक ३ बुधबार ०८:४२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

मंसिरभित्र सिद्धबाबा सुरुङको  ठेक्का प्रक्रिया सक्ने तयारी

Read Time : > 2 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७८ कार्तिक ३ बुधबार ०८:४२:००

६ वटा चिनियाँ कम्पनी, दुईवटा नेपाली र चिनियाँ कम्पनीको संयुक्त उपक्रम तथा एउटा नेपाली र भारतीय कम्पनीको उपक्रमबीच प्रतिस्पर्धामा

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङ आयोजना निर्माणको प्रतिस्पर्धामा नेपाल, चीन र भारतका नौवटा ज्वाइन्ट भेन्चर (संयुक्त उपक्रम)ले भाग लिएका छन् । प्रतिस्पर्धामा भाग लिएका कम्पनीको अहिले प्राविधिक मूल्यांकन भइरहेको सडक विभाग, अध्ययन तथा अनुसन्धान शाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सौरभ बज्राचार्यले जानकारी दिए । 

सुरुङ निर्माण ठेक्कामा चीनका मात्र ६ वटा कम्पनीले भाग लिएका छन् । त्यस्तै, चिनियाँ र नेपाल कम्पनीको ज्वाइन्ट भेन्चरमा दुईवटा प्रस्ताव छन् भने नेपाली र भारतीय कम्पनीको एउटा प्रस्ताव परेको छ । नयाँ र जटिल तथा धेरै विषय हेर्नुपर्ने भएकाले अहिले प्रस्तावित कम्पनीहरूको प्राविधिक विषयको अध्ययन भइरहेको सिडिई बज्राचार्यले बताए । छठलगत्तै वा मंसिरको पहिलो हप्ताभित्र कम्पनीहरूको प्राविधिक प्रस्तावको मूल्यांकन सार्वजनिक गरिने र त्यसको एक हप्तापछि वित्तीय प्रस्ताव खोलिने तयारी छ । 

४५ दिनको ठेक्का प्रस्ताव ८५ दिनसम्म लम्बियो 
सिद्धबाबा सुरुङ आयोजनाको पहिलोपटक ४५ दिनको म्याद राखेर सडक विभागले ९ जेठमा बोलपत्र आह्वान गरेको थियो । तर, बोलपत्रको म्याद दुईपटक थप गर्दा ठेक्का प्रक्रियामा ढिलाइ भएको छ भने प्रस्ताव आह्वानको समय बढेर ८५ दिन पुगेको छ । योबीचमा दुईपटक म्याद थपिएको सिडिई बज्राचार्यले जानकारी दिए । ‘बढी समय लाग्नुमा कोभिड–१९ मुख्य कारक हो’ उनले भने । पछिल्लोपटक ३२ साउनसम्म ठेक्कामा भाग लिन सकिने अन्तिम समयसीमा तोकिएको थियो । विभागले भदौदेखि बल्ल प्रस्तावको प्राविधिक पक्षको अध्ययन, मूल्यांकनको काम अघि बढाएको हो । अध्ययन गर्न साढे दुईदेखि तीन महिना लाग्ने अनुमान छ । 

ढिला गरी सिद्धबाबा सुरुङको बोलपत्र आह्वान
लामो समय चर्चामा रहे पनि सरकारले ढिलो गरी सिद्धबाबा सुरुङ आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । लामो समयदेखि सरकारी योजनामा पर्ने, तर कुनै प्रगति नहुने यो सुरुङ आयोजनाको विभागले ९ जेठमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो । यो आयोजनाको निर्माण इपिसी (इन्जिनियरिङ, प्रोक्योर्मेन्ट र कन्स्ट्रक्सन) मोडलबाट गरिनेछ । यस मोडलमा निर्माण गर्दा आयोजनाको डिजाइन, खरिद र निर्माणको काम ठेकेदार कम्पनीले गर्नुपर्छ । खरिद प्रक्रिया पूरा गर्न न्यूनतम ६ महिना लाग्ने अनुमान गरिए पनि त्योभन्दा बढी समय लाग्ने भएको छ । ‘प्राविधिक र आर्थिक रूपमा सबैभन्दा प्रभावकारी कम्पनीसँग ठेक्का सम्झौता हुनेछ’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले ‘निर्माण सकेको पाँच वर्षसम्म सञ्चालन र मर्मतको जिम्मा निर्माण कम्पनीले लिनुपर्नेछ ।’

सडक विभागले आयोजनाको लागत करिब १० अर्ब लाग्ने अनुमान गरेको छ । भ्याटबाहेक सुरुङ निर्माणमा मात्र करिब आठ अर्ब रुपैयाँ खर्च हुनेछ । आयोजनालाई १ मंसिर २०७६ मा अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सुनिश्चितता गरिसकेको छ । त्यही वर्ष ठेक्का लगाउने भनिएको भए पनि झन्डै १८ महिनापछि गत जेठमा ठेक्का प्रक्रिया अघि बढेको थियो । अर्थले १० अर्ब १५ करोड रुपैयाँको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरेको छ । यो आयोजना आर्थिक वर्ष २०७३/७४ को बजेटमा नै अध्ययनका लागि अघि बढाउने घोषणा गरिएको थियो । 

सरकारले इपिसी (इन्जिनियरिङ, प्रोक्योर्मेन्ट र कन्स्ट्रक्सन) माध्यमबाट खरिद गर्नेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । सरकारले ठूला र जटिल प्राविधिक क्षमता आवश्यक आयोजनाका लागि यही निर्देशिकामार्फत खरिद गर्न सक्ने व्यवस्था गरिसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि भने सुरुङलाई डिजाइन एन्ड बिल्ट मोडलमा बनाउने प्रयास गरेको थियो । 

सिद्धबाबा सुरुङ निर्माण गर्नुपर्ने मुख्य कारण पहिरो र त्यसबाट हुने जनधनको क्षति हो । यस क्षेत्रमा गएको पहिरोबाट सयौँजनाको मृत्यु भइसकेको सडक विभागका अधिकारीहरूको भनाइ छ । पहिरोबाट ठूलो मात्रामा भौतिक सम्पत्तिको पनि नाश भएको छ । त्यसलाई नियन्त्रण गर्न रोकथामबाट पार नलागेपछि सुरुङ निर्माण गरेर समस्या समाधान गर्ने योजनाअनुसार प्रक्रिया अघि बढाएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । सडकलाई अन्यत्र सार्ने विकल्प नभएपछि पनि सुरुङ निर्माण गरेर समाधान गर्न खोजिएको हो । 

यसअघि सुरुङमार्गको पूर्वसम्भाव्यता (प्रारम्भिक रेखांकन) गर्ने काम स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडिसी)ले गरिसकेको छ । नेपाल सरकारको अनुरोधमा स्विस अध्ययन टोलीले अघिल्लो (२०७७) वर्ष सुरुङको प्रारम्भिक रेखांकन गरेर सडक विभागलाई बुझाएको थियो । भूगर्भशास्त्रीहरूका अनुसार बुटवल–तानसेन सडक खण्डमा पर्ने पहाड कमजोर माटो र ढुंगा मिसिएर बनेको छ । त्यसैले, पानी परेपछि माटो बग्छ र त्यससँगै ढुंगा झर्ने गर्छ ।