१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सरकारसँग सहमति भएपछि अधिकारकर्मी रुवि खानले ११ दिनदेखिको अनशन तोडिन् । तस्बिर : संजित परियार/नयाँ पत्रिका
दिपेश शाही काठमाडाैं
२०७८ कार्तिक ३ बुधबार ०८:११:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाँकेका हिंसापीडित दुई महिलाबारे छानबिन गर्न समिति गठन, आन्दोलन स्थगित

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ कार्तिक ३ बुधबार ०८:११:००

बाँकेका हिंसापीडित महिलाका आफन्त र अधिकारकर्मीसँग सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्ने सहमति गरेसँगै ११ दिनदेखि जारी धर्ना र अनशन स्थगित भएको छ । बाँकेका नकुन्नी धोवीको शंकास्पद हत्या र निर्मला कुर्मी बेपत्ता घटनाबारे निष्पक्ष अनुसन्धानको माग राख्दै उनीहरू करिब दुई महिनादेखि आन्दोलनरत थिए । 

वार्तापछि मंगलबार सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले स्थलगत अवलोकन गरेर घटनाको छानबिन गर्ने र प्राप्त तथ्यका आधारमा सात दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको आन्दोलनरत अधिकारकर्मी मोहम्मद शेर बागवानले बताए । ‘सरकार माग सम्बोधनका लागि तयार भएसँगै अनशन र धर्ना दुवै स्थगित भएको छ । गठित समितिले सात दिनभित्र स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउने र त्यसैका आधारमा दोषीमाथि कारबाही गर्ने सहमति भएको छ,’ बागवानले भने, ‘हामी त्यतिवेलासम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित गर्छौँ । त्यसमा कतै पनि कमीकमजोरी भयो भने पुनः आन्दोलन गर्छौँ ।’

निर्मला कुर्मी र नकुन्नी धोबीको शंकास्पद मृत्युबारे निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग राख्दै पीडितका आफन्त र अधिकारकर्मीहरू नेपालगन्जबाट पैदलै २० दिन लगाएर काठमाडौं पुगेर धर्ना र अनशनमा बसेका थिए ।

सरकारसँग सहमति भएसँगै अधिकारकर्मी रुवि खानले थालेको अनशन पनि तोडेकी छिन् । सोमबार र मंगलबार भएको वार्तापछि सहसचिव रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान गर्ने सहमति भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । समितिको सदस्यमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक वीरेन्द्रजंग कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, आन्दोलनकारीका प्रतिनिधि मोहम्मद शेर बागवान र बाँके जिल्ला प्रशासन कार्यालयका एक अधिकृत रहेका छन् ।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र सहसचिव पोखरेलले अन्दोलनकारीका तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य तथा अधिवक्ता मोहना अन्सारी र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालगायतसँग वार्ता गरेका थिए । दुवै पक्षबीच सहमतिमा हस्ताक्षर भएसँगै अनशनरत रुवि खानलाई अधिवक्ता अन्सारीले जुस खुवाएर १२ दिनदेखि जारी अनशन तोडाएकी हुन् । अनशन तोड्दै रुविले सहमतिपछि हालका लागि अनशन स्थगित मात्र भएको र माग पूरा नभए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिइन् । ‘अहिले सरकारसँग लिखित सहमति भएपछि अनशन र धर्ना स्थगित भएको छ । अनुसन्धानका क्रममा कुनै कमजोरी भयो वा न्याय दिने विषयमा आलटाल भयो भने थप कडा आन्दोलन हुन्छ,’ खानले भनिन् ।

उनीहरूले नकुन्नी धोबीको मृत्यु घटनामा दुईजना आरोपितलाई मात्रै पक्राउ गरिएकोमा बाँकी दुईजनालाई र निर्मला कुर्मीका सबै अभियुक्तहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, रुवि खानलाई पक्राउ गर्दा हराएको ल्यापटप र केही रकम भएको झोला प्रहरीले फिर्ता दिलाउनुपर्ने, यसपछि आफूहरूको जीवनको सुरक्षाको व्यवस्था सरकारले मिलाउनुपर्ने र बाँके जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारी तथा डिएसपी मधुसुदन न्यौपानेले महिला अधिकारकर्मीहरूलाई अभद्र व्यवहार गरेकोले विभागीय कारबाही गर्नुपर्ने माग राखेका छन् ।

बाँकेको जानकी– २, नेवाजी गाउँकी नकुन्नी धोबी ५ साउनमा घरमै झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । पटकपटक घरेलु हिंसामा परेकी नकुन्नीको मृत्यु शंकास्पद लागेपछि स्थानीयले अनुसन्धान गर्न प्रहरीसँग आग्रह गरेका थिए । तर, प्रहरीले आत्महत्या भनेर चासो नदेखाएको पीडितका आफन्त र अधिकारकर्मीको आरोप छ । नकुन्नीले त्यसअघि ७ असारमा महिला अधिकार मञ्च नामक संस्थामा आफूलाई पति रामकुमारबाट ज्यानको खतरा रहेको भन्दै सुरक्षाका लागि पहल गरिदिन निवेदन दिएकी थिइन् । उक्त संस्थाले घटनाबारे खबर गरेपछि प्रहरीले धोबीको घरमा गएर मिलापत्र गराइदिएको थियो । रामकुमारले नकुन्नीमाथि बारम्बार घरेलु हिंसा गरेको र पछि हत्या गरेको उनका माइती पक्षको दाबी छ । 

त्यस्तै, बाँकेकै नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मी विगत तीन वर्षदेखि बेपत्ता छिन् । अधिकारकर्मीहरूले निर्मलालाई अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको कसुरमा आठजनाविरुद्ध किटानीसहित १२ जनाविरुद्ध १६ मंसिर ०७७ मा जाहेरी दर्ता गराएका थिए । प्रहरीले उनको मृत्यु भइसकेको बताउने गरेको छ । तर, उनलाई बन्धक बनाएर हत्या गरिएको दाबी अधिकारकर्मीहरू गरिरहेका छन् । उनीसँग त्यसअघिका घटनामा जोडिएका शंकास्पद व्यक्तिहरू नेपाली कांग्रेसका तर्फबाट पहिलो संविधानसभाका सभासद् बादशाह कुर्मीलगायत सबै आरोपितलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै अधिकारकर्मीहरू निरन्तर आन्दोलन गरिरहेका छन् ।