आगामी विश्वकप फुटबललाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ खेल समारोह बनाउने घोषणा भएको छ। विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो।
घोषणा सभामा संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्यमन्त्री डा. हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल थवाडी, अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा)का अध्यक्ष जिआनी इन्फान्टिनो र विश्व स्वास्थ्य संगठन मध्यपूर्वी क्षेत्रका संयोजक डा. अहमद विन सलेम अल मन्धारीको उपस्थिति रहेको थियो।
कतार सरकार तथा विश्वकप फुटबल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले फिफासँगको सहकार्यमा सबै क्रियाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउन काम गर्नेछन् । साथै स्वस्थ जीवनयापनका विषयवस्तुहरूको विज्ञापनका माध्यमबाट बुझाउने काम पनि गरिनेछ ।
यसबाहेक विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने अवधिभर स्वास्थ्य सुरक्षा र शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइनेछ। यो कार्यक्रम आगामी दिनमा खेलकुदसम्बन्धी ठूला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसँग सम्बन्धित विषयमा पुर्याउन सकिने सुरक्षा तथा सावधानीका विषयमा पहिले नै जानकारी लिन उपयुक्त हुने विश्वास व्यक्त गरिएको छ।
कतारले आगामी वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म विश्वकप फुटबलको आयोजना गर्दै छ भने सन् २०३० मा एसियन गेम आयोजना गर्दै छ।