१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ कार्तिक २ मंगलबार ०६:५५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसुवा भन्सारमा उठ्यो लक्ष्यको डेढ गुणा राजस्व

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २ मंगलबार ०६:५५:००

रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०७८÷७९ को असोज महिनामा राखेको लक्ष्यको ५९ दशमलव १७ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार असोज महिनामा कार्यालयले ५९ करोड १६ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले ९४ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन मासिक राखिएको लक्ष्यको तुलनामा ३५ करोड ७५ हजार रुपैयाँ बढी हो । 

टिमुरे भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । साउन, भदौ र असोज गरी तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलव ३७ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ । 

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको व्यापार प्रभावित भएको डेढ वर्षभन्दा बढी भएको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन । 

कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क, भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । 

०७६ माघ १५ देखि गएको जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक सातदेखि नौ गाडी सामान नेपाल आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ । 

एउटा चिनियाँ गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्नका लागि स्वास्थ्य मापदण्ड अपनाउँदै नेपाली कामदार खटिएका छन् । 

०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । ०७२ सालको भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो । तर, रसुवागढी नाका ०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट ०७२ मंसिरदेखि हुँदै आएको छ ।