मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १ सोमबार ०७:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुवासिन सिमेन्टलाई विद्युत् दिने स्विचिङ स्टेसन सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १ सोमबार ०७:३४:००

धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेसन सञ्चालनमा आएको छ । मर्स्याङ्दी -स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्विचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको हो । 

तनहुँस्थित तल्लो मर्स्याङ्दी  विद्युत्गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेसनमा भित्रने (लुपइन) र बाहिरिने (लुपआउट) छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुपइन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइनेछ । हुवासिन सिमेन्टले प्राधिकरणसमक्ष २० मेगावाट विद्युत् माग गरेको थियो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दसैँका वेलामा विद्युत्को माग कम हुने मौका पारेर स्विचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए । ‘अन्य समयमा मस्र्याङ्दी–स्युचाटार १३२ केभी ट्रंक लाइन बन्द गर्न सक्ने अवस्था नै थिएन, त्यसैले दसैँका वेलामा मिलाएर चार्ज गर्न दियौँ र टीकाको दिन स्विचिङ स्टेसन चार्ज भयो,’ कार्यकारी निर्देशक भने । अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत् जडान गर्न सक्नेछ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो । कम्पनीले स्विचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखानापरिसरभित्र १३२/१० केभीको सबस्टेसन निर्माण गरेको छ । प्राधिकरणले स्विचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङका अनुसार स्वीचिङ स्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिनेछन् । स्विचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको छ । साथै त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरिने घिसिङले जानकारी दिए । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिसमेत विश्वसनीय हुनेछ ।