मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक १ सोमबार ०६:११:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एक महिनापछि आज घर फर्कंदै नेपाली टोली

Read Time : > 3 मिनेट
२०७८ कार्तिक १ सोमबार ०६:११:००

२८ वर्षपछि पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोली भारतसँग ३–० ले पराजित हुँदै उपविजेतामा सीमित
राउन्ड रोबिन लिगमा सात अंक जोड्दै नेपाल दोस्रो स्थानमा रही पहिलोपटक फाइनल पुगेको थियो, नेपालले साफ इतिहासमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दुई खेलमा जित निकाल्यो

नेपाली राष्ट्रिय फुटबल टोली एक महिनापछि आज (सोमबार) स्वदेश फर्कंदै छ । १३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा पहिलोपटक उपविजेता बनेको नेपाली टोली सोमबार बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोली साफ च्याम्पियनसिप प्रतियोगिताको तयारी तथा सहभागी हुन २५ भदौमा कतार प्रस्थान गरेको थियो ।

कतार प्रस्थान गर्नुअघि नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । भारतसँगको मैत्रीपूर्ण खेलको लगत्तै नेपाली टोलीले कतारमै साफको अन्तिम तयारी गरेको थियो । नेपाली टोली ११ असोजमा साफमा प्रतिस्पर्धा गर्न माल्दिभ्सको माले पुगेको थियो । 

२८ वर्षको साफ फुटबल इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुग्यो । यसअघि नेपालको उत्कृष्ट प्रदर्शन नै सेमिफाइनलसम्म थियो । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपालले राउन्ड रोबिन लिगमा उत्कृष्ट प्रदर्शन गरी दोस्रो स्थानमा रही फाइनलको स्थान पक्का गर्‍यो । फाइनलमा आफूभन्दा निकै अनुभवी भारतसँग नेपाल ३–० ले पराजित हुँदै उपविजेतामै सीमित भयो । नेपाल राउन्ड रोबिन लिगमा पनि भारतसँग १–० ले नै पराजित भएको थियो । भारत भने सर्वाधिक आठौँपटक साफ च्याम्पियन बन्यो । 

नेपालले पहिलोपटक साफ च्याम्पियनसिपमा लगातार दुई खेलमा जित निकाल्न सफल भयो । नेपालले उद्घाटन खेलमा आयोजक माल्दिभ्समाथि १–० तथा दोस्रो खेलमा श्रीलंकालाई ३–२ को रोमाञ्चक स्कोरमा परास्त गरेको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै सात अंक जोड्दै ऐतिहासिक रूपमा फाइनल स्थान पक्का गर्‍यो ।

नेपाली टोली घर फर्कंदा प्रशिक्षक अलमुताइरी सँगै हुनेछैनन् । उनी माल्दिभ्सबाटै कुवेत फर्केका छन् । साफ च्याम्पियनसिप चलिरहँदा नै अलमुताइरीले आफ्नो नेपाली टोलीसँग अन्तिम प्रतियोगिता भएको बताएका थिए । एन्फाले पनि प्रशिक्षक अलमुताइरी नेपाली टोलीसँग नेपाल नफर्कने जनाएको छ ।

 फाइनलमा नेपाल भारतसँग पराजित
मालेको राष्ट्रिय रंगशालामा शनिबार नेपाली टोलीसँग स्पष्ट रूपमा अनुभव कम देखियो । साफ च्याम्पियनसिपकै सर्वाधिक विजेता भारतले भने आफ्नो अनुभव प्रयोग गर्दैै नेपाललाई सहजै ३–० ले हराउँदै आठौँपटक उपाधि उचाल्यो । भारतलाई कीर्तिमानी रूपमा आठौँपटक विजेता बनाउन कप्तान सुनील क्षेत्रीले प्रेरणादायी प्रदर्शन गरेका थिए । दक्षिण एसियाली फुटबल महासंघले नेपाली मुख्य प्रशिक्षक अलमुताइरीलाई कारबाही गर्दै टर्च लाइनबाहिर नै राख्यो । 

दुई पहेँलो कार्ड पाएका कारण प्रशिक्षक अलमुताइरीलाई टर्च लाइनबाहिर राखेको हो । यद्यपि, लगातार दुई पहेँलो कार्डपछि खेल खेल्न नपाउने केवल खेलाडीको हकमा मात्र लागू हुने प्रावधान छ । तर, महासंघले नियमविपरीत नेपालका प्रशिक्षक अलमुताइरीलाई फाइनल खेलअघि नै टर्च लाइनमा बस्न नपाउने भनी कारबाही गर्‍यो । फाइनलमा अलमुताइरी मात्र होइन, भारतका मुख्य प्रशिक्षकले समेत दर्शकदिर्घामै बसी खेल हेरेका थिए । भारतीय प्रशिक्षकले माल्दिभ्ससँगको खेलमा रातो कार्ड व्यहोरेका थिए । नेपाल र भारतका खेलाडी टर्च लाइनमा सहायक प्रशिक्षककै निर्देशनमा प्रतिस्पर्धा गरे । 

खेल सुरु भएदेखि नै वर्षाले प्रभावित पारेको फाइनलमा नेपालले पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमै रोक्न सफल भयो । नेपालका कप्तान किरण चेम्जोङ तथा डिफेन्डर रोहित चन्दले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दैै भारतका गोल अवसरलाई विफल पारे । खेलको चौथो मिनेटमै भारतले अग्रता लिन चुक्यो । गोलरक्षक चेम्जोङले दुईपटक उत्कृष्ट बचाउ गर्दै नेपाललाई गोल खानबाट जोगाए । डिबक्सभित्र यासिर मोहमदको प्रहारलाई किरणले ब्लक गरे । 

रिबाउन्ड भएकै बलमा भारतका अनिरुद्ध थापाविरुद्ध किरणले वन भर्सेस वन अवस्थामा समेत उत्कृष्ट ढंगले बचाए । दोस्रो हाफमा नेपालले दुई मिनेट आफूलाई सम्हाल्न नसक्दा दुई गोल व्यहोर्‍यो । खेलको ४९औँ मिनेटमा भारतका कप्तान क्षेत्रीले १–० को अग्रता दिलाए । क्षेत्रीले डिबक्सभित्र प्रितम कोटलले निकालेको क्रस पासमा उत्कृष्ट हेडिङ गोल गरेका हुन् । खेलको ५०औँ मिनेटमै सुरेश सिंहले उत्कृष्ट फिनिसिङ गर्दै भारतलाई २–० को स्थितिमा राखे । 

खेलअवधिभरि नेपालले एक राम्रो अवसर प्राप्त गर्‍यो । खेलको ७७औँ मिनेटमा मनीष डाँगीको लङ पासमा रोहितको हेडिङ क्रसबारमा लागेको थियो । खेलको ९०औँ मिनेटमा सहाल अब्दुलले भारतलाई ३–० को जित दिलाए । भारतविरुद्ध नेपालले काउन्टर तथा लङ पासमै बढी प्राथमिकता राखेको थियो । 

 फाइनलको अनुभव नभएकाले हामी हार्‍यौँ : अलमुताइरी
मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडीसँग फाइनल खेलको अनुभव नभएकाले नै साफ च्याम्पियनसिपमा उपविजेता बनेको बताएका छन् । ‘हामीले फाइनल हार्‍यौँ, किनभने हामीसँग फाइनल खेलेको अनुभव थिएन,’ खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले भने, ‘एक मिनेटभित्रै दुई गोल व्यहोर्दाको अवस्था निकै कठिन हुन्छ ।’ प्रशिक्षक अलमुताइरीले छोटो समयमै नेपाली जनताले दिएको माया भुल्न नसक्ने बताएका छन् । उनले परिवारसँगै दुई साता आराम गर्न चाहेको जनाएका छन् । 

‘विगत ६ महिना मेरो र मेरा परिवारका लागि निकै कठिन समय थियो, अब आराम गर्न चाहन्छु,’ उनले भने, ‘नेपाली फुटबलको भविष्य राम्रो हुनुपर्छ, नेपाली टोलीका सबै सदस्यसँगै सबै नेपालीलाई माया गर्छु ।’ उनले नेपालको फुटबलमा कोही खराब व्यक्ति भए पनि सबै त्यही वर्गमा नरहेको जनाए । 

प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडीले पछिल्लो समय राम्रो गरिरहेको बताए । ‘सुरुमै नेपाल एट्याकिङ टोली हुने बताएको थिएँ, पछिल्लो समय हामीले कति गोल गर्‍यौँ, कसैले विश्लेषण गरेको छ ?’ विश्लेषकसमक्ष प्रश्न राख्दै उनले भने, ‘यदि अस्ट्रेलिया र जोर्डनविरुद्धको खेल बिर्सियो भने नेपाली टोली अहिले पनि राम्रो छ ।’ 

 भारतीय कप्तान क्षेत्रीको वर्चस्व
भारतलाई आठौँपटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान सुनील क्षेत्रीले साफको व्यक्तिगत अवार्डमा आधिपत्य जमाएका छन् । उनी फाइनलका म्यान अफ द म्याचसहित प्रतियोगिताको दुई मुख्य उपाधिबाट सम्मानित भए । प्रतियोगितामा पाँच गोलका साथ क्षेत्री सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि हात पारे । प्रतियोगिताको फेयर प्ले अवार्ड भने आयोजक माल्दिभ्सले पायो ।