मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज ३० शनिबार ०७:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चौँरी चराउँदै गयो दसैँ, तिहार नि ?

Read Time : < 1 मिनेट
२०७८ असोज ३० शनिबार ०७:५५:००

विजयादशमी दसैँको मुख्य दिन हो। मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् । तर, लेकाली समुदायमा न  दसैँ आउँछ, न त तिहार नै।

त्यही लेकाली समुदायका एक हुन्– ६५ वर्षीय योन्जेन शेर्पा। फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका उनी याक–चौँरीगाईसँग रमाउन थालेको वर्षौँ भइसकेको छ। समुद्र सतहदेखि चार हजार तीन सय मिटर उचाइको मौवटारमा उनको गोठ छ। छोराछोरीलाई अंशका रूपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ३० वटा छन् । दशवटा दुहुना छन्। बिहान उठ्नेबित्तिकै एक गिलास दूध चिया लिएपछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ। 

तिनलाई चरन क्षेत्रमा पुर्‍याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ। बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ। साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ। यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ।

उनीहरूको मुख्य पुर्ख्याैली पेसा चौँरी–याकपालन नै हो। वर्ष दिनमा आउने दसैँ–तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए। चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दसैँ आउँछ, कतिखेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए।

मौवटारमा चार, सिंजेको पोखरी क्षेत्रमा तीन र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ। मिक्वाखोला गाउँपालिका– ५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका– ५ वडाध्यक्ष डण्डु लामाले बताए। ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ।

हिमाली बस्तीमा बासोवास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दसैँको खासै महत्व नहुने फक्ताङलुङ– ७ का चुङदाक शेर्पाले बताए। सहर बजारमा दसैँको उत्साह छाए पनि हिमाली बस्तीमा दसैँ–तिहारको न उत्साह न त उमंग नै दैनिक चौँरी–याक चराउँदैमा उनीहरूको दिन बित्ने गर्छ। रासस