मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २९ शुक्रबार ०७:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अनि मुसहरको मन खिन्‍न भएन

Read Time : > 1 मिनेट
२०७८ असोज २९ शुक्रबार ०७:३५:००

केही दिनअघिसम्म भरतपुर– २७ पिपरा–दद्रेनीका मुसहर परिवारलाई ‘दसैँमा के खाने’ भन्ने पिर थियो। अहिले त्यो पिरको समाधान भएको छ। किनकि दसैँमा चामलको भात र मासु खाने मुसहर परिवारको इच्छा पूरा भएको छ। 

दसैँमा मुसहर परिवारको अवस्थाबारे नयाँ पत्रिकामा समाचार छापिएपछि सहयोगीहरू अघि सरेका थिए। त्यही कारण यसपटकको दसैँमा मुसहर परिवार खिन्न हुन परेन। मुसहर परिवारकी सदस्य सुनिता मुसहरले भनिन्, ‘के गरी दसैँ मनाउने भनेर बसेको वेलामा राहत पाउँदा ढुक्क भएको छ। मेरा तीन सन्तानले अब त ढुक्कसँग चामलको भात र मासु खाने भए।’ 

सुनिताजस्तै उक्त गाउँमा धेरैले आर्थिक अभावका कारण अन्न किन्न सक्दैनन्। मिर्गाैलामा समस्या देखिएका कारण नियमित डायलाइसिस गराइरहेका खेमबहादुर दर्जीले पठाएको नगद १० हजारबराबरको चामल, लायन्स क्लब अफ गीतानगर र  लियो क्लब अफ गीतानगरले राहत वितरण गरेपछि मुसहरहरू खुसी भएका हुन् ।

यो गाउँका ६ परिवारलाई राहतस्वरूप चामल, दाहाल, नुन, तेल, आलु, सोयाबिन, मसला, चिउरा, भुजा, दालमोट, साबुनसहित प्रतिपरिवार दुईवटा कुखुरा प्रदान गरिएको लायन्स क्लब अफ गीतानगरका संस्थापक कमलप्रसाद  श्रेष्ठले बताए।

नयाँ पत्रिकाको अनलाइनमा बुधबार ‘नयाँ घर पाएका मुसहरलाई दसैँमा छाक टार्नै गाह्रो’ भन्ने शीर्षकको समाचार पढेर मुसहर परिवारलाई सहयोग जुटेको हो। बिहीबार भरतपुर– २७ का वडाध्यक्ष गोविन्द तामाङ र मुसहर बस्ती निर्माण उपभोक्ता समितिका संयोजक टीकारमा भुसालको उपस्थितिमा मुसहर परिवारलाई उक्त राहत वितरण गरिएको हो। 

वर्षौँदेखि थोत्रो घरमा दसैँ मनाउँदै आएका भरतपुर २७ र २८ को पिपरा–दद्रेनीका पाँच मुसहर परिवार अहिले भरतपुर महानगरपालिकाले निर्माण गरेको पक्की घरमा छन्। तर, दसैँको समयमा के खाने भन्ने चिन्ता थियो। गत साल विभिन्न सामाजिक संस्था र व्यक्तिको सहयोगबाट दसैँ मानेका यी परिवारले अहिले पनि दाताकै सहयोगमा दसैँ मानेका छन्।