१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
टेकराज थामी काठमाडौं
२०७८ असोज २६ मंगलबार ०८:१६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाभित्र चोरी हुने १३ क्षेत्रका ७३ ‘हटस्पट’

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ असोज २६ मंगलबार ०८:१६:००

‘कलर जोन’अनुसार प्रहरीको कडा पहरा, सर्वसाधारणको गुनासो सुन्न हेल्प डेस्कको व्यवस्था


चाडपर्वका वेला हुने चोरी, डकैती र पाकेटमारी रोक्न प्रहरीले काठमाडौं उपत्यकाभित्रका १३ क्षेत्रलाई ‘ब्ल्याक’, ‘रेड’, ‘यल्लो’ र ‘ग्रिन जोन’मा विभाजन गरी सुरक्षा प्रबन्ध कडा परेको छ । प्रहरीले उपत्यकाभित्र चोरी हुने १३ क्षेत्रका विभिन्न स्थानलाई ‘हटस्पट’ मानेर सोहीअनुसारको सुरक्षाको व्यवस्था मिलाएको जनाएको छ ।
जसअनुसार ‘ब्ल्याक जोन’अन्तर्गत सर्वसाधारणको अव्यवस्थित भिड हुने क्षेत्र पर्छन् ।

जसलाई सिसिटिभीले मुस्किलले कभरेज गर्न सक्छ । सबै बसपार्क, न्युरोड, भोटाहिटी, असन, महाबौद्ध, सुन्धारा, रञ्जना गल्ली, वीर अस्पताल यसअन्तर्गत पर्छ । यस्ता क्षेत्रमा चोरी र पाकेटमारका घटना धेरै हुने भएकाले प्रहरीले यस क्षेत्रलाई संवेदनशील क्षेत्र मानेको छ । सुरक्षाका लागि प्रहरीले यस क्षेत्रमा पोसाक र सादा पोसाक दुवै खालका प्रहरी बाक्लो ढंगले परिचालन गरेको छ । सर्वसाधारणको गुनासो सुन्न यस क्षेत्रमा प्रहरीले हेल्प डेस्कको व्यवस्थासमेत गरेको छ । 

‘रेडजोन’मा सपिङ कम्प्लेक्स, ठूला मल, सिनेमा हल, व्यापारिक क्षेत्र पर्छन् । जसलाई सिसिटिभीले कभरेज गर्न सक्छ । यसअन्तर्गत महाराजगन्ज, कालीमाटी, बौद्ध, गौशाला, कमलपोखरी, दरबारमार्गलगायतका क्षेत्रलाई राखिएको छ । यस क्षेत्रमा पनि पोसाक र विनापोसाक दुवै खालका प्रहरी खटिएका छन् । 

‘यल्लो जोन’अन्तर्गत विशेष अवसरमा सर्वसाधारणको भिड हुने क्षेत्रलाई तोकिएको छ । चक्रपथबाहिरका ग्रामीण क्षेत्र (थानकोट, कीर्तिपुर, बालाजु) यसअन्तर्गत राखिएका छन् । जहाँ बेलाबखत चोरी र पाकेटमारी हुने गर्छन् । यस क्षेत्रको सुरक्षाका लागि प्रहरीले घुम्ती टोली, क्विक रेस्पोन्स टिम (क्विआरटी)लाई अलर्ट रूपमा राखेको छ  ।   

सुरक्षाकर्मीको कार्यालय, कूटनीतिक नियोग, भिआइपी तथा भिभिआइपीको निवास क्षेत्रलाई ‘ग्रिन जोन’अन्तर्गत राखिएको छ । जहाँ चोरी, डकैती र पाकेटमारीका घटना न्यून हुने गर्छन् । यस्ता क्षेत्रको सुरक्षामा साविककै सुरक्षाकर्मी खटिने हुँदा चोरी, डकैती र पाकटेमारी नियन्त्रण गर्ने उद्देश्यले थप सुरक्षाकर्मी राखिएका छैनन् ।

चोरले प्रयोग गर्ने ‘कोड भाषा’

पैसा – द
मोबाइल – कान
पकेटमारीपीडित – रामे
पकेटमारी गर्ने (मास्टर) – काशी
पैसा धेरै छ – टानको द पैसा थोरै छ जुटको द
गाडी – काँचा
केटा – छापा
केटी – भद्री 
पुलिस आयो – ठुल्दाइ आयो 
ड्राइभर – माम
खलासी– मले 
गाडीबाट झरेर भाग–  टप्की
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडि सर – चिछल जा

चोरीका अभियुक्तले भरिए काठमाडौंका हिरासत कक्ष

महानगरीय प्रहरी परिसर काठमाडौंमातहतका हिरासतकक्ष चोरी र पाकटेमारसँग सम्बन्धित अभियुक्तले भरिएका छन् । परिसर र यस मातहत गरी काठमाडौं प्रहरीको १५ हिरासतकक्ष छन् । पर्वलक्षित चलाएको विशेष अपरेसनमा काठमाडौं प्रहरीले दुई सय सात चोरी र पाकेटमारसँग सम्बन्धित अभियुक्त पक्राउ गरेको छ । २० दिनको अपरेसनपछि प्रहरीले ठूलो संख्यामा चोरी र पाकेटमारसँग सम्बन्धित अभियुक्त पक्राउ गरेको हो । उनीहरूमध्ये ४६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ ।

उनीहरूलाई अहिले मातहतका १५ हिरासतकक्षमा बाँडेर राखिएको छ । पक्राउ अभियुक्तको संख्या ठूलो, तर हिरासतकक्ष साँघुरो हुँदा उनीहरूको व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ । ‘२० दिनको अपरेसनमा हामीले दुई सय सात चोरी र पाकेटमार धन्दामा संलग्न अभियुक्त पक्राउ गर्‍यौँ । त्यसमध्ये ४६ जेलमा छन् । बाँकी हिरासतमा छन् । त्यसैले अहिले हाम्रा सबै हिरासतकक्ष चोरी र पाकेटमार धन्दामा संलग्न अभियुक्तले भरिएका छन्,’ एसएसपी सिंहले भने ।

उपत्यकामा सबैभन्दा धेरै चोरी

नेपाल प्रहरीले प्रत्येक अपराधको प्रदेशअनुसार तथ्यांक बनाउँछ । यसका लागि प्रहरीले काठमाडौं उपत्यकाको तीन जिल्लालाई छुट्टै प्रदेश मानेको छ । सो तथ्यांकअनुसार सबैभन्दा धेरै चोरीका घटना काठमाडौं उपत्यकाभित्र भएको देखिन्छ । काठमाडौंमा पाँच सय ७३ चोरीका घटना भएका छन् । त्यसपछि सबैभन्दा धेरै चोरी प्रदेश २ मा हुने गरेको तथ्यांकबाट देखिन्छ । प्रदेश २ मा पाँच सय ६५, प्रदेश १ मा चार सय ३८, लुम्बिनीमा दुई सय ५६, बाग्मतीमा दुई सय २०, लुम्बिनीमा एक सय ५६, सुदूरपश्चिममा एक सय ५४ र कर्णाली प्रदेशमा ५१ चोरीका घटना भएका छन् ।

चोरी र पाकेटमारी घटना निगरानी गर्न एक सय स्पेसल सुरक्षाकर्मी परिचालन 

प्रहरीका अनुसार चाडपर्वका वेला सहरी क्षेत्रका अव्यवस्थित भिड हुने ठाउँ संवेदनशील हुने भएकाले सुरक्षा प्रबन्ध सोहीअनुसार कडा पारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले बताए । चोरी र पाकेटमारी घटना निगरानीका लागि मात्रै महाशाखाका एक सय स्पेसल सुरक्षाकर्मी आवश्यक क्षेत्रमा खटिएको उनले जानकारी दिए । ‘चाडपर्वका वेला बजार क्षेत्रमा चोरी र स्न्याचिङका घटना धेरै हुन्छन् । बसपार्क, असन, इन्द्रचोक, न्युरोडलगायतका क्षेत्रमा यस्ता घटना धेरै हुन्छन् । त्यसैले यस्ता क्षेत्रको सुरक्षामा हामीले विशेष फोकस गरेका छौँ । सादा पोसाकको ठूलो संख्यामा सुरक्षाकर्मी यस क्षेत्रमा खटाएका छौँ,’ उनले भने ।

चाडपर्वका वेला चोरी, डकैती र पाकेटमारीका घटना धेरै हुने विगतका अनुभवबाट सिकेर महानरीय प्रहरी परिसर काठमाडौंले दसैँअघि नै उपत्यकाभित्रका दुई सय सात शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउमध्ये अधिकांश पटके चोर छन् । केही भने नयाँ चोर छन् । विभिन्न अपराधमा फरार अभियुक्त पनि यही क्रममा पक्राउ परेका छन् । जसमध्ये ४६ जनालाई पुर्पक्षका लागि जेल पठाइएको छ ।

बाँकी भने पर्व सकिएपछि मात्रै हिरासतमुक्त हुनेछन् । ‘२० दिनको अपरेसनमा हामीले दुई सय सात चोरी र पाकेटमार धन्दामा संलग्न अभियुक्त पक्राउ गर्‍यौँ । त्यसमध्ये ४६ जेलमा छन् । बाँकी हाम्रै हिरासतकक्षमा छन् ।उनीहरूविरुद्ध अनुसन्धान हुँदै छ । दसैँअघि हिरासतमै रहनेछन् । पर्वका वेला हुने चोरी, डकैती र पाकेटमारी रोक्न यसो गरिएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने ।

उपत्यकाभित्र चोरी हुने ‘हटस्पट’

महाराजगन्ज    ः    धापासी, हेपाली हाइट, टोखा, ग्रिनल्यान्ड, भंगाल, सुकेधारा, नयाँ बसपार्क, गोंगबु
कालीमाटी     ः    बाफल, छाउनी, कुलेश्वर, डल्लु, सतुंगल, त्रिपुरेश्वर, भोटेबहाल
बालाजु     ः    नेपालटार, हिलेटोल, मनमैजु, बोहराटार, धर्मस्थली, शेषमती, माछापोखरी
स्वयम्भू     ः    सीतापाइला, छाउनी, ढल्कु, डल्लु, पद्यमा कोलोनी, ठूलोभ¥याङ, सानोभ¥याङ, इचंगुनारायण
बौद्ध     ः    कपन, फूलबारी, अत्तरखेल, नयाँबस्ती, मूलपानी, जोरपाटी
गौशाला     ः    कुमारीगल, कालोपुल, रातोपुल, सिफल, सिनामंगल
बानेश्वर     ः    शंखमूल, शान्तिनगर, बुद्धनगर, मध्यबानेश्वर, बाटेश्वर, पोप्सीकोला, नरेफाँट, गोठाटार
जनसेवा     ः    न्युरोड, रञ्जना गल्ली, वीर अस्पताल, महाबौद्ध, पुरानो बसपार्क, सुन्धारा
लैनचौर     ः    ठमेल क्षेत्र, खुसिबु क्षेत्र, नयाँ बजार, गल्कोपाखा
कमलपोखरी :    पासाङ ल्हामु चोक, मैतीदेवी, हाँडीगाउँ, भाटभटेनी
दरबारमार्ग     ः    लाजिम्पाट, खोर्सानीटार, दरबारमार्ग क्षेत्र 
थानकोट     ः    मातातीर्थ, नैकाप, सतुंगल, ढुंगेअड्डा
कीर्तिपुर     ः    ट्याङ्लाफाँट, पाँगा, मच्छेगाउँ