मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज २४ आइतबार १४:२४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकी साक्षर प्रदेश घोषणा, कुन जिल्लामा कति साक्षर ?

Read Time : > 1 मिनेट
२०७८ असोज २४ आइतबार १४:२४:००

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा सभागृहमा आयोजित विशेष समारोहबीच आइतबार गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन्। गण्डकी प्रदेशले देशका लागि धेरै नै विद्वान् जन्माएको चर्चा गरेका उनले गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा भएकोमा प्रदेशवासीलाई बधाई दिए।

उनले अन्य प्रदेशले पनि गण्डकीको सिको गरेर छिट्टै साक्षर प्रदेश निर्माणको बाटोमा अगाडि बढ्न सुझाब दिए। शिक्षा नागरिकको मौलिक हकको रूपमा रहेको भन्दै यो प्राप्ति गर्नु नागरिक अधिकार नै रहेको उनले बताए। गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नु अगाडि उनले पोखराको नयाँ बजारमा रहेको संग्रहालयमा पुगेर साक्षर गण्डकी प्रदेश स्तम्भको अनावरण गरेका थिए।  

गण्डकी प्रदेश साक्षर घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अब साक्षर घोषणा भएसँगै शिक्षित प्रदेश घोषणातर्फ अगाडि बढ्नुपर्ने धारणा राखे। उनले देशका लागि आवश्यक प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए। 

साक्षर गण्डकी प्रदेश घोषणा कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीलगायतले उक्त अवसरमा प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिनुका आधारबारे जानकारी गराएका थिए। 

यसअघि ३० भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकोले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो। लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए घोषणा गर्न मिल्ने मापदण्ड भएकाले त्यसभन्दा माथि दर रहेकाले गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिएको हो। 

यस्तो छ गण्डकीका जिल्लागत रूपमा साक्षर दर
गण्डकी प्रदेश शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकअनुसार प्रदेशको नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन्। सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशत मात्रै नागरिक साक्षर भएको तथ्यांक छ।

मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बाग्लुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वत ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ।

जिल्लागत रूपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन्। मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो।  ३१ असार  ०७१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत  १८ माघ  ०७४ मा घोषणा भएको थियो।