Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज २४ आइतबार ०७:५८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बागमती प्रदेशमा पहिलो सूचना बैंक

Read Time : < 1 मिनेट
२०७८ असोज २४ आइतबार ०७:५८:००

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले पहिलो सूचना बैंक स्थापना गरेको छ । सूचना संकलन र भण्डारण गर्ने उद्देश्यले कार्यालयले सूचना बैंक स्थापना गरेको हो ।

नेपालमा पहिलोपटक सरकारी तवरबाट सूचना बैंक स्थापना गरिएको हो । कार्यालयले करिब दुई वर्षको गृहकार्यपछि सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरका रूपमा सूचना बैंक सञ्चालनमा ल्याएको प्रेस रजिस्ट्रार रेवती सापकोटाले बताए । प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार सूचना बैंकबाट बागमती प्रदेशका सातवटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभासहित १४ वटा कार्यालयको सूचना पाउन सकिने रजिस्ट्रार सापकोटाले बताए ।

हाल समेटिएका १४ वटै कार्यालयका सूचना वा दस्तावेजहरू सूचना बैंकको पोर्टलबाट नै डाउनलोड गर्नसमेत सकिने रजिस्ट्रार सापकोटाले जानकारी दिए । प्रदेश सरकारले सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वको सूचना संकलन, भण्डारण र वितरण गर्न सूचना बैंक उपयोगी हुने भएकाले सञ्चार रजिस्ट्रारको कार्यालयले सूचना बैंकको स्थापना गरेको उनको भनाइ छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री अजयक्रान्ति शाक्यले सूचना बैंक शुभारम्भ गरेका छन् । रजिस्ट्रार सापकोटाले सूचना बैंकमा प्रदेशमातहतका सबै कार्यालय र स्थानीय तहलाई जोड्दा धेरै राम्रो हुने बताए । ‘सबै स्थानीय तहलाई पनि यो बैंकमा लिंक गराउन सके यसले पूर्णता पाउनेछ । सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेबसाइट सर्च गर्नुपर्दैन, सूचना बैंकको पोर्टलमा जाँदा ती १४ वटै कार्यालयका सूचना पाउन सक्ने गरी बनाइएको छ,’ सापकोटाले भने ।