मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २३ शनिबार १७:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिक एजेन्डा नभएपछि ओलीे सहानुभूति लिन तल्लीन  : मन्त्री खतिवडा

Read Time : > 1 मिनेट
२०७८ असोज २३ शनिबार १७:३७:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एमालेका अध्यक्ष केपी ओलीसँग कुनै पनि राजनीतिक एजेन्डा नभएकाले सहानुभूति लिनेतर्फ लागेको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादी कास्कीद्वारा शनिबार पोखरामा आयोजित दसैं, तिहार, छठ र नेपाल संवत्को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 

एमालेमा राजनीतिक र सैद्धान्तिक विचलन आइसकेको उनले दाबी गरे । एमाले जिन्दावाद नसुनिनु तर ‘केपी बा जिन्दावाद’ मात्रै सुनिनु नीति र विचारबाट च्यूत भएको संकेत रहेको उनको तर्क छ । एमाले अध्यक्ष ओलीले गर्ने भाषणमा कुनै विचार र दर्शन नरहेको भन्दै  उखान टुक्का, अकबर र वीरवलका कथा तथा तोतामैनाका कहानीले पार्टी वा देश नचल्ने बताए । ‘केपी ओलीसँग कुनै राजनीतिक एजेन्डा छैन । कहीँकतै उनले गरेका भाषणमा कम्युनिस्ट दर्शनका कुरा सुन्नुभएको छ ? भावी कार्यदिशाको विषयमा सुन्नुभएको छ ? सुन्नभएको छ भने उखान टुक्का, अकबर र वीरवलका कथा तथा तोतामैनाका कहानी सुन्नुभएको छ । कार्यदिशा र कम्युनिस्ट दर्शनका कुरा हुँदैनन्,’ उनले भने, ‘व्यक्तिको जयजयकार गरेर, एक व्यक्तिलाई अघि सारेर पार्टीलाई पतनको दिशातर्फ लगेका कारण हामीले विद्रोह गर्नुपरेको हो ।’

मन्त्री खतिवडाले केपी ओलीको दासता स्विकार्न नसकेपछि विद्रोह गरेर नेकपा एसको जन्म भएको बताए । व्यक्ति स्विकार्ने कि पार्टी, नीति मान्ने कि नेता, सामूहिक नेतृत्व मान्ने कि व्यक्ति भन्ने विषयका कारण नेकपा एस जन्मिएको उनको टिप्पणी थियो ।

एमालेले संवैधानिक सर्वोच्चता कायम गर भनेर नारा लगाउनु हास्यास्पद
मन्त्री खतिवडाले अहिले संसद् अवरुद्ध गर्दै एमालेले ‘संवैधानिक सर्वोच्चता कायम गर’ भन्ने नारा लगाउनु हास्यास्पद रहेको टिप्पणी गरे । संसद् जोगाउने आफूहरू लुसुक्क हुनुपर्ने र संसद्लाई दुई दुईपटक हत्या गर्ने केपी ओली र उनको एमाले ‘संवैधानिक सर्वोच्चता कायम गर’को नारा लगाएर संसद् कब्जा गर्नु अनौठो रहेको उनले सुनाए ।

सभामुखलाई कुनै पनि सांसद निकाल्ने अधिकार १५ दिनसम्म रहने तर त्यो अवधिमा नयाँ पार्टी स्थापना भइसकेकाले एमालेले संसद् अवरुद्ध गर्नुको कुनै तुक नरहेको उनले बताए । संविधानले नदिएको अधिकार सभामुखले एमालेका ६०÷७० जना सांसदले नारा लगाउँदैमा प्रयोग गर्न नसक्ने उनको टिप्पणी थियो । 

संसदमा नारा लगाएर हुने भए सत्तापक्षका झन्डै दुईतिहाइ सांसदले केपीलाई निकाल्न भन्दै नारा लगाउने बताए । ‘संसदमा ६०÷७० जनाले नारा लगाउँदैमा कसैलाई निकाल्न पाइने भए हामी पनि सत्तापक्षका सांसदले केपी ओलीहरूलाई निकाल भनेर नारा लगाउछौँ,’ उनले भने ।