१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज २१ बिहीबार ०६:२३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

साढे तीन महिनापछि खुल्यो बेसीसहर–चामे सडक

Read Time : > 1 मिनेट
२०७८ असोज २१ बिहीबार ०६:२३:००

मनाङ जोड्ने एक मात्र बेसीसहर–चामे सडक बुधबारदेखि सञ्चालनमा आएको छ । गत १ असारको बाढीले अवरुद्ध बनेको बेसीसहर–चामे सडक साढे तीन महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । 

सडकखण्डको खोत्रोदेखि तिमाङसम्मको १० किलोमिटर सडकको मर्मत भएपछि बुधबारबाट सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । दसैँको मुखमै सडक खुलेपछि मनाङवासीमा खुसी छाएको छ । दसैँतिहार मनाउन जिल्ला प्रवेश गर्नेदेखि दसैं बिदामा जिल्लाबाहिर जाने कर्मचारी र स्थानीयलाई समेत सहज भएको छ ।

साढे तीन महिनापछि चामेबाट गाडीमा आउँदा खुसीको सीमा नै नरहेको चामेका स्थानीय विष्णु घले बताउँछिन् । चामेसम्मै सवारी पुग्ने भएपछि बेँसीसहरका व्यापारीसमेत सामान पठाउन सहज भएको भन्दै उत्साहित बनेका छन् । सडक अवरुद्ध हुँदा मनाङ जान तथा आउन हेलिकोप्टरको भर पर्नुपरेको थियो । आइतबारदेखि चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने भ्राताङ भिरको सडक मर्मतपछि माथिल्लो मनाङको सडक पनि सञ्चालनमा आएको छ । 

बेसीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भइरहेकाले ८–१० दिनमा खुल्ने अपेक्षा गरिएको छ । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सडकसम्पर्क विच्छेद हुन पुगेको थियो । मनसुनको सुरुवातमै आएको बाढीपहिरोले मनाङमा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । जसका कारण आवतजावतका साथै खाद्यान्न ढुवानीमा समेत हेलिकोप्टरकै भर पर्नुपरेको थियो । 

बेसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङ–बेसीसहरदेखि ४० किलोमिटर दूरी खोत्रो सिरानतालदेखि ५० किलोमिटर तिमाङसम्मको बीच भागमा अवरुद्ध सडक खुलेसँगै बेसीसहर–चामे सडकमा सीधै सवारी आवतजावत हुँदा यतिवेला यात्रु तथा ढुवानी गर्न केही सहज भएको मनाङका होटल व्यवसायी अस्मिता गुरुङ बताउँछिन् ।

६५ किलोमिटरको बेसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । सडक विभागले आ.व ०५१/०५२ मा बेसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । ०५२ मा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्र्याक खोलेको थियो । यो सडक सेनाले ०६९ मा सडक विभागलाई हस्तान्तरण गरेयता स्तरवृद्धि हुन सकेको छैन ।