मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २१ बिहीबार ०५:५५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चितवन टाइगर्स पहिलोपटक इपिएलको फाइनलमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २१ बिहीबार ०५:५५:००

पोखराले जारी इपिएलकै खराब ब्याटिङ गर्दा टोली केवल ६६ रनमै समेटियो, पोखरा १५ ओभरमै अलआउट भयो 

चितवन टाइगर्स पहिलोपटक एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । त्रिवि खेलमैदानमा बुधबार चितवनले पहिलो प्ले अफमा पोखरा राइनोजलाई नौ विकेटले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

प्ले अफमा हार व्यहोरेको पोखरासमक्ष फाइनलमा पुग्ने अर्को अवसर छ । पोखराले अब भैरहवासँग प्रतिस्पर्धा गर्नेछ । यो खेलको विजेताले उपाधिका लागि चितवनको सामना गर्नेछ । भैरहवाले काठमाडौं किंग्स इलाभेनलाई १६ रनले हराउँदै पोखराविरुद्ध एलिमिनेटर खेलको समीकरण तय गरेको हो । 

पोखरा १५ ओभरमै अलआउट 
इपिएलको पहिलो क्वालिफायर खेलमा पोखराले पहिलो ब्याटिङ गरेको थियो । तर, पोखराले चालू इपिएलकै खराब ब्याटिङ प्रदर्शन गर्दा पूरै टोली केवल ६६ रनमा समेटियो । पोखरा १५ ओभरमै अलआउट भएको थियो ।

प्रत्युत्तरमा निकै सहज तथा प्रतिओभर ४.३९ रन पछ्याएको चितवनले केवल एक विकेट गुमाएर लक्ष्य प्राप्त ग¥यो । चितवनले ७.५ ओभरमा जित निकाल्दा ओपनर मोहमद सेहसादले सर्वाधिक ४८ तथा हरिम अन्सारीले १४ रनको योगदान दिएका थिए । सेहसादले २६ बलमा सात चौका र दुई छक्का प्रहार गरे । यसैगरी, हसिमले २० बलमा समान एक चौका र छक्का प्रहार गरी १४ रन बटुले । 

साहव र सागरको घातक बलिङ
पोखराको ब्याटिङ इनिङ्स कमजोर बनाउन चितवनका मध्यम गतिका बलर सागर ढकाल र साहव आलमले घातक बलिङ गरेका थिए । साहवले चार ओभरमा १४ रन खर्चेर सर्वाधिक चार विकेट लिए भने सागरले ७.६ ओभरमा व्यक्तिगत पहिलो विकेट सुनील धमलाको लिएका थिए । सागरले ९.१, ९.५ र ११.४ ओभरमा निरन्तर विकेट लिँदा पोखरा ५२–७ को दयनीय अवस्थामा पुग्यो । सागरले असेला गुनरत्ने (१), विकेक यादव (२) र विक्रम सोव (२) को विकेट लिएका हुन् । सो इनिङ्समा सागरलाई आलमले निकै साथ दिएका थिए । साहवले पनि चार ओभरमा १० रन खर्चेर चार विकेट लिए । यसै प्रदर्शनका कारण उनी खेलका म्यान अफ दी म्याच भए । साहवले पोखराका कप्तान विनोद भण्डारीलाई पहिलो बलमै आउट गरे । 

नौ ब्याट्सम्यानले दोहोरो अंकको रन नै बनाएनन्
पोखराको ब्याटिङ इनिङ्समा नौ ब्याट्सम्यानले दोहोरो अंकमा रन नै बनाउन सकेनन् । पोखराका कप्तान विनोद र नन्दन यादव गोल्डेन डक भए । दुवै ब्याट्सम्यानलाई साहवले आउट गरेका हुन् । नन्दनलाई साहवले कट एन्ड बोल्ड गरे । पोखराका लागि ओपनर रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाउन १२ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यसैगरी सुनील धमलाले ३१ बलमा दुई चौकाको सहयोगमा १८ रन बनाए । 

सन्दीप नेतृत्वको काठमाडौंको इपिएल यात्रा सकियो
ओसिलो पिचका कारण खेल रोकिएर मंगलबार भाग्यमानी ठहरिएको काठमाडौं दोस्रो एलिमिनेटर चरणबाटै बाहिरिएको छ । काठमाडौंले तेस्रो स्थानमा रहेको भैरहवासँग प्रतिस्पर्धा गरेको थियो । पहिलो ब्याटिङ गरेको भैरहवाले आठ विकेटको नोक्सानीमा एक सय ८८ रनको मजबुत योगफल खडा गर्‍यो । प्रत्युत्तरमा काठमाडौंले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन मात्र जोड्न सक्यो । हारसँगै सन्दीप लामिछानेको नेतृत्वमा रहेको काठमाडौंको इपिएलको यात्रा पनि समाप्त भयो । 

चालू इपिएलमै काठमाडौंले विश्व चर्चित पाकिस्तानी पूर्वकप्तान तथा अलराउन्डर सहिद अफ्रिदीलाई आबद्ध गरेको थियो । अफ्रिदीले इपिएलको पहिलो खेलमा साबिक विजेता ललितपुरविरुद्ध प्रतिस्पर्धा गरेका थिए । उनले ललितपुरविरुद्ध चार ओभरमा ३२ रन दिएका थिए । 

एलिमिनेटर चरणमा लक्ष्य पछ्याएको काठमाडौंका लागि असान परियान्जनले सर्वाधिक ६८ रनको योगदान दिएका थिए । उनले ४८ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । काठमाडौंले कुनै पनि विकेटका लागि गतिलो साझेदारी गर्न सकेन । काठमाडौंका भरपर्दा ब्याट्सम्यान रायन बुरल सामना गरेको पहिलो बलमै शून्य रनमा आउट भए । काठमाडौंका लागि राजु रिजालले १० रन तथा जनक प्रकाशले १४ बलमा तीन छक्का र एक चौकाको सहयोगमा २८ रनको योगदान दिए । भैरहवाका लागि धमिका प्रसाद, कुशल मल्ल तथा आरिफ सेखले समान दुई–दुई विकेट हात पारे । 

यसअघिको ब्याटिङमा भैरहवाका लागि कप्तान शरद भेषवाकरले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले २० बलमा तीन छक्का र सात चौकाको सहयोगमा ४९ रनको विस्फोटक इनिङ्स खेले । शरद एक रनले अर्धशतकीय इनिङ्स खेल्नबाट चुके । शरद १९.२ ओभरमा आउट भएका हुन् । यसैगरी, प्रदीप ऐरीले २७ बलमा ३९ रन, उपल थरंगाले ३३ बलमा ३५ रन तथा कुशलले २० बलमा ३२ रन बटुले । कुशलले चार छक्का प्रहार गरे ।