मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज १९ मंगलबार ०९:४१:००
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनआरएनए निर्वाचन : बद्रीको टिमका उपाध्यक्ष र कोषाध्यक्षका उम्मेदवार आचार्यको टिममा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज १९ मंगलबार ०९:४१:००

गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ । केही उम्मेदवारहरूले टिम परिवर्तन गर्न थालेका छन् ।अध्यक्षका प्रत्याशी बद्री केसीको टिममा रहेका दुई प्रभावशाली उम्मेदवारले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका छन् ।

केसीको टिमबाट उपाध्यक्षको उम्मेदवार तय गरिएका महेश श्रेष्ठ (जापान) र लोक दाहाल (बेल्जियम)ले केसीको साथ छाडेका छन् । उनीहरू दुवैजनाले अध्यक्षका अर्का प्रत्याशी कुल आचार्यको टिमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठ वर्तमान आइसिसी कार्यसमितिका कोषाध्यक्ष हुन् भने दाहाल सहकोषाध्यक्ष हुन् । केसीले पाँच दिनअघि सार्वजनिक गरेको आफूपक्षीय उम्मेदवारहरूको सूचीमा श्रेष्ठ र दाहालको नाम र तस्बिर समावेश गरेका थिए ।

केसीको साथ छाडेर आचार्यको टिममा समावेश भएका श्रेष्ठ र दाहालले अब आचार्य नेतृत्वको टिमबाट उम्मेदवारी दिनेछन् । श्रेष्ठले आइसिसी उपाध्यक्षमा र दाहालले कोषाध्यक्षमा उम्मेदवारी दिनेछन् । एनआरएनएको दशौँ महाधिवेशन यही अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा सल्लाहकार तथा पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान उपाध्यक्ष बद्री केसीले मंगलबार साँझ उम्मेदवारी घोषणा गर्ने छन् ।

उम्मेदवारी घोषणा गर्नुभन्दा एक दिनअघि उपाध्यक्ष केसीलाई दुई महत्वपूर्ण पदाधिकारीले छाडेका छन् । श्रेष्ठ र दाहालले केसीको साथ छाडेसँगै आचार्यको पल्ला भारी देखिएको छ । आइतबार साँझ आयोजित डबली संवाद (भर्चुअल कार्यक्रम)मा सहभागी हुँदै दाहालले आचार्यले अघि सारेका एजेन्डा तथा आचार्यले व्यक्त गरेका प्रतिबद्धतामा आफ्नो समर्थन रहेको बताए । नेपालको धादिङ घर भई हाल बेल्जियममा बसोवास गर्ने दाहाल एनआरएनएका पुराना अभियन्ताका रूपमा परिचित छन् ।

कुलजीले अघि सारेका एजेन्डामा मेरो सहमति छ, त्यसैले उहाँसँगै जाने निर्णयमा पुगेको छु– दाहालले भने । उनी बेल्जियमबाट अहिले काठमाडौं आइपुगेका छन् । त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिने तय गरेका महेश श्रेष्ठले पनि आचार्यका प्रतिबद्धता र एजेन्डालाई समर्थन गर्दै आचार्यकै टिमबाट निर्वाचनमा सहभागी हुने बताएका छन् ।

हाल जापानमा रहेका श्रेष्ठले अध्यक्षका अर्का उम्मेदवार केसीले आफ्नो नाम पनि उम्मेदवारहरूको सूचीमा राखेकोप्रति असहमति जनाए । म बद्री केसीको टिममा छैन, मेरो समर्थन कुल आचार्यलाई छ– श्रेष्ठले भनेका छन् । आचार्यको टिमबाट महासचिवमा डा. केशव पौडेल (अमेरिका) र महिला उपाध्यक्षमा जानकी गुरुङ (बेल्जियम)ले उम्मेदवारी दिने यसअघि नै टुंगो लागिसकेको छ ।

विचार मिल्नेहरूको सहकार्य  : आचार्य
यसैबीच, अध्यक्षका उम्मेदवार कुल आचार्यले आफूले कुनै प्यानल नबनाएको स्पष्ट पारेका छन् । संघको विधानअनुसार प्यानल बनाएर निर्वाचनमा सहभागी हुन नपाइने प्रावधानप्रति आफू सचेत रहेको बताउँदै विचार र एजेन्डा मिल्नेहरूको सहकार्य मात्रै भएको बताए ।

भावना र एजेन्डा मिल्नेहरूका बीचमा सहकार्य गरेका छौँ– आचार्यले भने– कसैले प्यानल बनायो भन्यो भने गलत हुन्छ । गैरआवासीय नेपाली संघको साख र मर्यादालाई उच्च बनाउन चाहनेहरू एकजुट हुनुपर्ने अवस्था आएको आचार्यले बताए । आचार्यले तोकिएको समयमा नै एनआरएनएको निर्वाचन हुनेमा आशंका बढेको बताउँदै समयमा नै विवाद समाधान गरेर तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताए ।

सदस्यता तथा डेलिगेट्स चयनमा विवाद देखिएको बहानामा निर्वाचन नै पर सार्ने खेल हुन थालेको छ– आचार्यले भने– समयमै विवाद सुल्झाएर तोकिएकै मितिमा चुनाव हुनुपर्छ ।