मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सञ्जय साह
टेकराज थामी काठमाडाैं
२०७८ असोज १८ सोमबार ०९:२८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिआइबीले थाल्यो अनुसन्धान, शिक्षा मन्त्रालयले अध्ययन गर्दै

जर्जियाको विश्वविद्यालयका नाममा आइसिएचएमका विद्यार्थीलाई शंकास्पद प्रमाणपत्र वितरण

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ असोज १८ सोमबार ०९:२८:००

इन्टरनेसनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट (आइसिएचएम) नेपालले वितरण गरेको शंकास्पद शैक्षिक प्रमाणपत्रबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । आइसिएचएमले इन्टरनेसनल टिचिङ युनिर्भसिटी अफ जर्जियाबाट सम्बन्धनप्राप्त भन्दै तीन वर्षअघि सन् २०१३ ब्याचका एक सय ३२ विद्यार्थीलाई बिएचएम (ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट) अध्ययन गरेको शैक्षिक प्रमाणपत्र बाँडेको थियो । 

विश्वविद्यालयका तत्कालीन मानार्थ प्रोफेसर डा. हबिब क्लाउज ओस्ट्रेचरले कुनै पनि नेपाली विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र वितरण नगरेको र कोही पनि नेपाली विद्यार्थी विश्वविद्यालयमा भर्ना नभएको भन्दै इमेल लेखेपछि वितरित प्रमाणपत्र शंकास्पद देखिएका थिए । डा. हबिबले हाल ठगी धन्दामा पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका रौतहट ईशनाथ– ३ का ५० वर्षीय सञ्जय झाका एक व्यापारिक साझेदारलाई यसबारे पटक–पटक इमेल लेखेका थिए ।

आइसिएचएमका विद्यार्थीलाई जर्जियाको विश्वविद्यालयको शंकास्पद प्रमाणपत्र दिलाउन मुख्य भूमिका झाले नै खेलेका थिए । उनी केन्ट कलेजका सञ्चालक हुन् । यसबारे १६ असोजमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएको थियो । 
सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले उक्त शैक्षिक प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान सुरु भएको बताए । ‘आइसिएचएम कलेजले वितरण गरेको शैक्षिक प्रमाणपत्रका बारेमा विवाद उठेपछि सिआइबीको ध्यानाकर्षण हुनु स्वाभाविक हो । यस सम्बन्धमा हामीले अनुसन्धान सुरु गरेका छौँ । यसको विस्तृत पक्षबारे अनुसन्धान हुन्छ । नतिजा के आउँछ अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।’

शंकास्पद शैक्षिक प्रमाणपत्रका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि अनुसन्धान सुरु गरेको छ । आइसिएचएमबाट वितरित शैक्षिक प्रमाणपत्र मात्र नभई इन्टरनेसनल टिचिङ युनिभर्सिटी अफ जर्जियाबाट कलेजले लिएको सम्बन्धनको विषयमा समेत शंका देखिएपछि मन्त्रालयले अध्ययन सुरु गरेको हो । मन्त्रालयका सहसचिव हरि लम्सालले आइसिएचएमबाट वितरित शैक्षिक प्रमाणपत्रका सम्बन्धमा ध्यानाकर्षण भएको र यस विषयमा मन्त्रालयले अध्ययन थालेको बताए । ‘आइसिएचएमले २०१३ ब्याचका विद्यार्थीलाई वितरण गरेको शैक्षिक प्रमाणपत्रका सम्बन्धमा विवाद देखा परेको छ । यस सम्बन्धमा अध्ययन गर्नुपर्ने देखियो । यसतर्फ मन्त्रालयको ध्यानाकर्र्षण भएको छ । मन्त्रालयले आवश्यक कारबाही अघि बढाएको छ,’ उनले भने ।

कोर्स स्वीकृत नभएको भन्दै विद्यार्थीलाई त्रिविले दिएन समकक्षता प्रमाणपत्र 
त्रिभुवन विश्वविद्यालयमातहत बाहेकका क्याम्पसमा अध्ययन गरेका विद्यार्थी थप अध्ययनका लागि विदेश जाँदा होस् या मुलुकभित्रकै अन्य क्याम्पसमा अध्ययन गर्न त्रिविको इक्विभ्यालेन्स प्रमाणपत्र अनिवार्य चाहिन्छ । आइसिएचएमले २०१३ ब्याचका विद्यार्थीलाई त्रिविको इक्विभ्यालेन्स प्रमाणपत्र क्याम्पसमै उपलब्ध गराएको थियो । उनीहरूमध्ये कोही विभिन्न कलेजमा अध्ययनरत छन् । केहीले भने अध्ययन पूरा गरिसकेका छन् । 

तर, केही विद्यार्थीले इक्विभ्यालेन्स पत्र लिन छुटाए । उनीहरू व्यक्तिगत प्रयासबाटै प्रमाणपत्र लिन त्रिविस्थित पाठ्यक्रम विकास केन्द्र पुगे । आवश्यक विवरण कार्यालयमा पेस गरे, तर उनीहरूले प्रमाणपत्र पाउन सकेनन् । तीमध्येकी एक हुन्, बर्दियाकी सुनिता श्रेष्ठ । थप अध्ययनका लागि अस्ट्रेलिया जाने योजना बनाएपछि उनलाई नो अब्जेक्सन लेटर आवश्यक पर्ने भयो । त्यसैले उनी इक्विभ्यालेन्स प्रमाणपत्र लिन त्रित्रि पुगेकी थिइन् । तर, कोर्स स्वीकृत नभएको भन्दै उनलाई त्रिविले प्रमाणपत्र दिएन । उनले नयाँ पत्रिकासँग भनिन्, ‘थप अध्ययनका लागि अस्ट्रेलिया जाने योजना बनाएँ । मलाई इक्विभ्यालेन्स प्रमाणपत्र आवश्यक प¥यो । म त्रिवि पुगेँ । आवश्यक कागजात पेस गरँे । तर, कोर्स स्वीकृत नभएको भन्दै मलाई प्रमाणपत्र दिएन । अहिले म बर्दियामै रेस्टुरेन्ट खोलेर बसेकी छु । पछि मैले कलेजको बारेमा बुझ्न पाएको छैन ।’

सहपाठी साथीहरूले इक्विभ्यालेन्स प्रमाणपत्र नपाएपछि २०१३ ब्याचकै नवराज लम्साल त्रिवि पुगेका छैनन् । ‘थप अध्ययन गर्ने योजना बनाएँ । त्यसका लागि इक्विभ्यालेन्स प्रमाणपत्र आवश्यक पर्ने रहेछ । त्रिवि जाने योजना बनाएँ । यस सम्बन्धमा अन्य साथीहरूसँग पनि सोधेँ । व्यक्तिगत तवरले जाँदा त्रिविले प्रमाणपत्र नदिने बुझेँ । त्यसपछि गएको छैन ।’

२०१३ ब्याचकै सुनील भट्ट कलेजले त्रिविको इक्विभ्यालेन्स प्रमाणपत्र वितरण गर्दा छुटेका थिए । थप अध्ययन गर्ने योजना बनाएपछि उनी पनि केही साताअघि प्रमाणपत्रका लागि त्रिवि पुगे । कागजात पेस गरे । तर, कागजात नपुगेको भन्दै प्रमाणपत्र पाएनन् । थप कागजात जुटाउन लागेका उनले भने, ‘मैले केही साताअघि इक्विभ्यालेन्स पत्र लिन त्रिविमा निवेदन दिएँ । कागजात पनि पेस गरेँ । तर, कागजात नपुगेको भन्दै प्रमाणपत्र दिएन । थप कागजात संकलन गर्दै छु । हेरौँ अब के हुन्छ ?’

अनिवार्य कागजात नपुग्नेलाई इक्विभ्यालेन प्रमाणपत्र दिन नसकिने पाठ्यक्रम विकास केन्द्र त्रिविका अधिकृत सुरेन्द्र जोशी बताउँछन् । कलेजको रिन्यु नै रोकिएकाले विद्यार्थीलाई प्रमाणपत्र दिन नसकिएको उनले बताए ।  ‘इक्विभ्यालेन्स प्रमाणपत्र लिन केही कागजात अनिवार्य गरिएको छ । कागजात पुगे इक्विभ्यालेन्स प्रमाणपत्र वितरण हुन्छ । अन्यथा हुँदैन,’ उनले भने, ‘आइसिएचएमका केही विद्यार्थीको हकमा पनि त्यस्तै भयो होला । पछिल्लो चरण कलेजको रिन्यु रोकिएको छ । त्यसैले हामीले इक्विभ्यालेन्स प्रमाणपत्र वितरण पनि रोकेका छौँ ।’