मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज १७ आइतबार १३:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

Read Time : > 1 मिनेट
२०७८ असोज १७ आइतबार १३:४६:००

नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुंगाे अझै लागेको छैन। क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ हुँदा कैलालीको वडा अधिवेशन गर्न ढिलाइ भएको जनाइएको छ।

प्रदेशका सबै नौ जिल्लामध्ये आठ जिल्लाका ७५ पालिकामा वडा अधिवेशन सकिएको छ। कांग्रेस कैलालीको वडा तहको अधिवेशन अब दसैँपछि मात्र हुने सम्भावना रहेको जिल्ला उपसभापति प्रकाश बमले बताए। “केन्द्रबाट निर्वाचन अधिकृत नआउँदा वडा तहको अधिवेशनका लागि निर्वाचन कार्यतालिकासमेत प्रकाशित हुन सकेको छैन,” जिल्ला सभापतिका आकांक्षीसमेत रहेका उनले भने, “अधिवेशनका लागि पूर्वतयारीका काम गर्न पनि बाँकी नै रहेकाले दसैँअघि अधिवेशन हुने सम्भावना छैन।”

क्रियाशील सदस्यताको विवादका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार गत भदौ १८ गते जिल्लामा वडा तहको अधिवेशन हुन सकेको थिएन। केही दिनअघि क्रियाशील सदस्यको विवाद टुंगिएर अन्तिम विवरण जिल्लामा प्राप्त भइसकेको जनाइएको छ। अब जिल्लामा क्रियाशील सदस्यताको विवाद टुंगिएको बमले बताए।

प्रदेशका वडा अधिवेशन सकिएका कतिपय जिल्लामा कांग्रेसको नगर गाउँ तहको अधिवेशनको तयारी भइरहेको छ। प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा हुने कांग्रेसको वडा तहदेखि नगर गाउँ, निर्वाचन क्षेत्र र जिल्ला तहको अधिवेशनमा नेतृत्वमा पुग्नका लागि नेता कार्यकर्ताबीच रस्साकस्सी चल्न थालेको छ।  
    
यो जिल्लामा हुने अधिवेशनले प्रदेश अधिवेशनका साथै केन्द्रीय अधिवेशनलाई समेत प्रभाव पार्ने हुँदा जिल्लाको अधिवेशनप्रति कांग्रेस नेता तथा कार्यकर्ताले बढी चासोका साथ हेर्न थालेका पनि छन् । प्रदेशका अन्य जिल्लाको तुलनामा कैलालीबाट केन्द्रीय अधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधिको संख्या बढी हुने हुँदा सबैको ध्यान कैलालीमा पर्नु स्वाभाविक रहेको जिल्ला सभापतिका अर्का आकांक्षी नारायणदत्त भट्ट बताउँछन्। एक सय २६ वडा रहेको यस जिल्लामा १८ हजारभन्दा बढी क्रियाशील सदस्य रहेका बताइएको छ। जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा क्रियाशील सदस्यताको विवाद बढी देखिएको थियो।  

सो क्षेत्रमा अघिल्लो महाअधिवेशनका पुरानै क्रियाशीललाई मान्यता दिने निर्णय गरेपछि नयाँ क्रियाशील सदस्यताको विवाद टुंग्याइएको बताइएको छ। कैलाली कांग्रेसको सभापतिका लागि वर्तमान उपसभापति बम, पूर्वउपसभापति भट्टका साथै गणेश देउवा, खेमराज चौधरी, भीम बडुवाललगायत नेता आकांक्षी देखिएको चर्चा छ। 

पार्टीका जिल्ला सभापति नरनारायण शाह (मनु) दुई कार्यकाल सभापतिको जिम्मेवारीमा रहिसकेका छन्। तेस्रो कार्यकाल सभापतिमा उठ्न नपाइने कांग्रेसको विधानमा व्यवस्था छ। उनी अब पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षको तयारीमा रहेको बताइएको छ। रासस