मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौंं
२०७८ असोज १६ शनिबार ०६:५७:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ललितपुरले बनायो इपिएलकै सर्वाधिक योगफल

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
२०७८ असोज १६ शनिबार ०६:५७:००

पहिलो ब्याटिङ गरेको साविक विजेता ललितपुरको इनिङ्समा १६ छक्का र १५ चौका प्रहार हुँदा इपिएलकै इतिहासमा सर्वाधिक दुई सय २६ रनको योगफल बन्यो । ललितपुरका अफगानी ब्याट्सम्यान अजामुतुल्लाहले २४ बलमा ५८ रन जोडे

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा शुक्रबार तीनवटा कीर्तिमान बनेका छन् । चौथो इपिएलको ११औँ खेलमा शुक्रबार ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्सबीचको खेलमा तीनवटा कीर्तिमान बनेका हुन् । यस खेलमा सर्वाधिक छक्का, एक टोलीले जोडेको रन तथा कम बलमै अर्धशतकीय इनिङ्सको रेकर्ड बने । साविक विजेता ललितपुरले टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरी पाँच विकेटको नोक्सानीमा दुई सय २६ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा विराटनगरले २० ओभरमा आठ विकेट गुमाएर एक सय ८९ रन जोड्यो । पहिलो जितसँगै तीन अंक जोडेको ललितपुर तेस्रो स्थानमा उक्लेको छ । 

दुई सय २६ रनको योगफल
ब्याटिङ पिचमा ललितपुरले लगातार दोस्रो दिन उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्न सफल रह्यो । विराटनगर बलरका कमजोर स्पेलको फाइदा उठाउँदै ललितपुरले इतिहासकै सर्वाधिक योगफल खडा गर्न सफल भयो । ललितपुरले भैरहवा ग्ल्याडियट्र्सले सन् २०१८ मा राखेको सर्वाधिक योगफलको रेकर्ड भंग गरेको हो । तीन वर्षअघि भैरहवाले टियु मैदानमै दुई सय १५ रनको योगफल बनाएको थियो । यद्यपि भैरहवाले विशाल योगफल रक्षा गर्न सकेन । पोखरा राइनोजले १९.४ ओभरमा ६ विकेट गुमाएर दुई सय १६ रन जोड्दै सर्वाधिक लक्ष्य सफलतापूर्वक पछ्यायो । समग्रमा ललितपुर र विराटनगरबीचको खेलमा ब्याट्सम्यानले चार सय १५ रन बटुलेका थिए । चौथो इपिएलको ११औँ खेलमा भने सन् २०१८ मा पोखरा र भैरहवाबीचको खेलमा समग्र योगफल भंग भएन । 

एकै खेलमा २६ छक्का र ३४ चौका
शुक्रबार टियु मैदानमा दर्शकहरूले खुबै रोमाञ्चकता प्राप्त गरेका छन् । उनीहरूले दुवै इनिङ्समा चौका र छक्काको मजा उठाए । दुवै इनिङ्समा ब्याट्सम्यानहरूले २६ छक्का र ३४ चौका प्रहार गरेका थिए । ललितपुरको इनिङ्समा १९ छक्का प्रहारित भयो । लक्ष्य पछ्याउँदा विराटनगरका ब्याट्सम्यानले सात छक्का प्रहार गरे । ललितपुरको ब्याटिङमा १५ चौका र विराटनगरका ब्याट्सम्यानले १९ चौका प्रहार गरेका थिए । ललितपुरका ओनपर सन्दुन विराकोडीले सर्वाधिक १० पटक बललाई बाउन्ड्री लाइन कटाए । विराटनगरका लागि आरिफ सेखले ६ चौका र दिल्सान मुनविराले पाँचपटक चौका ठोके । 

अजामुतुल्लाहद्वारा २१ बलमै अर्धशतक
अफगानिस्तानका अलराउन्डर अजामुतुल्लाहले इपिएलको इतिहासमै छिटो अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले केवल २१ बलमै अर्धशतकीय इनिङ्स खेलेका हुन् । २४ बल सामना गरेका अजामुतुल्लाहले सर्वाधिक सात छक्काको सहयोगमा ५८ रनको योगदान दिए । १४औँ ओभरको तेस्रो बलमा अजामुतुल्लाहले एक जीवन पाएका थिए । व्यक्तिगत दुई रनमा खेलिरहेको अवस्थामा उनी सुमित महर्जनद्वारा सहज क्याच आउट हुनबाट जोगिए । आजमुतुल्लाहले यसको भरपूर फाइदा उठाउँदै विशाल स्ट्रोक लगाए । ओमरजाइले व्यक्तिगत २ रनमै जीवनदान पाएका थिए । उनको क्याच मिस नै विराटनगरले खेल नै हातबाट फुत्कायो । 

ललितपुरको इनिङ्समा ओपनर सान्दुनले पनि विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा तीन छक्का प्रहार गरी सर्वाधिक ७३ रनको योगदान दिए । सान्दुनले २८ बलमा अर्धशतक पूरा गरेका थिए । उनले १०औँ ओभरको पहिलो बलमा एक रन बटुल्दै लगातार दोस्रो खेलमा अर्धशतक योगदान दिए । 

तीन मुख्य साझेदारी
ललितपुरले इतिहासमै सर्वाधिक योगफल खडा गर्नेक्रममा तीनवटा महत्वपूर्ण साझेदारीको सहयोग पाएको थियो । ओपनर सन्दुम र कप्तान कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.६ ओभरमा ७० रनको साझेदारी गर्दै ललितपुरलाई उत्कृष्ट सुरुवात दिलाए । भुर्तेलले १७ बलमा चार चौका र दुई छक्काको सहयोगमा ३२ रनको योगदान दिए । त्यसपछि योगेन्द्रसिंह कार्की र सन्दुमबीच दोस्रो विकेटका लागि ४१ रनको साझेदारी भयो । योगेन्द्रले १८ बलमा तीन छक्का र एक चौका प्रहार गरी २७ रन बनाए । 

अजामुतुल्लाह र जयकिसन कोल्सावालाबीच पाँचौँ विकेटका लागि महत्वपूर्ण ६० रनको साझेदारी हुँदा ललितपुरले १८.६ ओभरमा २००/५ को बलियो अवस्थामा आफूलाई पायो । सो इनिङ्समा नारायण जोशीले चार बलमा तीन छक्काको सहयोगमा १८ रन जोडे । उनले विराटनगरबाट अन्तिम ओभर बलिङ गर्न आएका रामनरेश गिरीविरुद्ध अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । विराटनगरका लागि कप्तान करण केसीले सर्वाधिक दुई विकेट लिए । 

मध्यक्रम सम्हाल्न नसक्दा विराटनगर पराजित
प्रतिओभर ११.३ रन लक्ष्य पछ्याएको विराटनगर योजनाअनुरूप नै अगाडि बढेको थियो । तर, मध्यक्रमका ब्याट्सम्यान सम्हालिन नसक्दा र म्यान अफ दी म्याच अजामुतुल्लाहले महत्वपूर्ण चार विकेट लिँदा विराटनगरले कीर्तिमानी लक्ष्य पछ्याउन असमर्थ भयो । विराटनगरले आसिफ सेखको विकेट गुमाएपछि एकाएक कमजोर देखियो । विराटनगरले त्यसपछिका भरपर्दा पाँच ब्याट्सम्यानलाई केवल ३० रनको अन्तरमा गुमायो । इनिङ्सको १५.१ ओभरमा विराटनगर १५७/४ बाट १८.१ ओभरमा १८०/८ को कमजोर स्थितिमा पुग्यो । 

वेस्ट इन्डिजका ओपनर चन्द्रपाउल हेमराजले १३ बलमा चार चौका र एक छक्का प्रहार गरी २८ रन बनाए । सेखले ३० बलमा ६ चौकाको सहयोगमा ३७ रन जोडे । श्रीलंकाली ब्याट्सम्यान दिल्सान र जिम्बाबेका सिकन्दर राजाले आकर्षक सट प्रहार गरी ललितपुरलाई दबाबमा राखेका थिए । तर, स्पिनर ललित राजवंशीले सिकन्दरको विकेट लिएसँगै विराटनगर एकाएक कमजोर देखियो । सिकन्दरले १२ बलमा समान दुई चौका र छक्का प्रहार गरी २४ रन बनाए । दिल्सानले ३९ बलमा चार छक्का र पाँच चौका प्रहार गरी सर्वाधिक ५९ रनको योगदान दिए । 

चितवन प्लेअफमा

चितवन टाइगर्सले लगातार तेस्रो जित निकाली चौथो इपिएलको प्ले स्थान सुरक्षित गरेको छ । पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा सात विकेट गुमाएर एक सय २३ रनको मध्यम योगफल खडा गर्‍यो । प्रत्युत्तरमा चितवनले १६.४ ओभरमा एक विकेट मात्र गुमाएर एक सय २४ रन जोड्दै पोखरालाई नौ विकेटले हरायो । पोखराले तीन खेलबाट सर्वाधिक ६ अंक जोडेको छ । चितवनको जितमा अफगानिस्तानका मोहमद साहजाद र भीम सार्कीबीचको दोस्रो विकेटका लागि भएको शतकीय साझेदारी नै मुख्य रह्यो ।

चितवनले दुई रनमै एक विकेट गुमाएको थियो । त्यसपछि साहजाद र कार्कीबीच दोस्रो विकेटका लागि एक सय २२ रनको साझेदारी भयो । साहजादले ५२ बलमा ६३ रन जोड्न सात चौका र दु्ई छक्का प्रहार गरे । सार्कीले ४२ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे । पोखराको इनिङ्समा एकजना ब्याट्सम्यान मात्र टिके । सातौँ क्रमका ब्याट्सम्यान विवेक यादवले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ४५ बलमा सामान तीन चौका र छक्का प्रहार गरी ५३ रन बनाए । यसैगरी असेला गुनरत्नेले २६ बलमा २५ रन जोडे । चितवनका लागि कमल ऐरी र साहव अलामले दुई–दुई विकेट हात पारे ।