मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमरेन्द्र यादव
२०७८ असोज १५ शुक्रबार ११:१०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महन्थ ठाकुरको दु:खद नियति

Read Time : > 3 मिनेट
अमरेन्द्र यादव
२०७८ असोज १५ शुक्रबार ११:१०:००

दोस्रोपटक विघटनमा ओलीलाई सघाएपछि मधेसमा ठाकुरलाई प्रश्न गर्न, आशंकाको दृष्टिले हेर्न थालिएको छ

महन्थ ठाकुर नेपाली राजनीतिका स्थापित, पुराना नेता हुन् । राजनीतिमा उनको लगभग ६ दशकको लगानी छ । लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनमा उनले अतुलनीय योगदान दिएका छन्, शालीन एवं भद्र नेताको रूपमा परिचित छन् । नेपाली कांग्रेसमा हुँदा केन्द्रीय कोषाध्यक्षसम्म भए । कांग्रेसबाटै अनेकौँपटक सांसद र मन्त्री भए । कांग्रेसमा करिब पाँच दशकको बसाइपछि मधेसी राजनीतिमा उनको प्रवेश हुँदैगर्दा दोस्रो मधेस आन्दोलनको तयारी चल्दै थियो । उनले तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरे, दोस्रो र तेस्रो मधेस आन्दोलनमा सशरीर होमिए । राजनीतिक अडान र निष्ठामा सम्झौता गरेनन् । तर, पछिल्लो समय उनमा देखिएको विचलनले उनलाई राजनीतिक घाटा मात्र भएको छैन, छविसमेत धुलिसात भएको छ ।

प्रतिगमनलाई साथ ः तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा पहिलोपटक प्रतिनिधिसभा विघटन गर्दा ठाकुर उपेन्द्र यादवसँगै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष थिए । उनी जसपाको सिंगो पार्टीपंक्तिसँगै विघटनविरुद्धको आन्दोलनमा होमिएका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा संसद् पुनस्र्थापनासम्बन्धी ऐतिहासिक फैसला ग¥यो । त्यसपछि ठाकुर बिस्तारै ओलीको पोल्टामा पुगे । बालुवाटारमा पटक–पटकको गोप्य बैठकपछि तत्कालीन प्रधानमन्त्री ओलीले तेस्रो मधेस आन्दोलनको क्रममा मुद्दा लागेका ठाकुरका केही कार्यकर्ताको रिहाइलगायत केही माग पूरा गर्ने अलिखित वाचा गरे । यसपछि जसपाका तत्कालीन नेता राजेन्द्र महतोसहितको ठाकुर समूह ओलीविरुद्धको अविश्वास प्रस्तावको मतदानमा तटस्थ बस्यो । तर, जसपाको संस्थापन पक्षले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्‍यो । माधव नेपाल पक्षको असहयोगका कारण संसद्मा ओलीलाई बहुमत पुगेन । प्रधानमन्त्रीको रूपमा ओली अल्पमतमा परे । सबभन्दा ठूलो दलको नेताको हैसियतमा ओली नै पुनः प्रधानमन्त्रीमा नियुक्त भए, जसपाको ठाकुर समूहले फेरि पनि ओलीलाई नै साथ दिने निर्णय गर्‍यो । ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरे । पछिल्लो संसद् विघटनमा तत्कालीन प्रधानमन्त्री ओलीलाई सघाएपछि जसपाभित्रको राजनीति नयाँ किसिमले अगाडि बढ्यो, जसले नेता ठाकुरलाई धेरै नोक्सानी भएको छ ।

राजनीतिक घाटा : ठाकुरको तत्कालीन राष्ट्रिय जनता पार्टी प्रदेश २ मा सरकार निर्माण भएदेखि नै उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी पार्टीसँग बराबरीको सत्तासाझेदार थियो । तर, ठाकुर पक्ष संसद्मा तटस्थ बसेर संसद् विघटन गर्न ओलीलाई साथ दिएपछि यादव नेतृत्वको जसपा संस्थापनले ठाकुर र महतोनिकटका मन्त्री र राज्यमन्त्रीहरूलाई प्रदेश २ सरकारबाट बर्खास्त ग¥यो । मन्त्री पद बचाउन प्रदेश सरकारमा रहेका ठाकुर समूहका दुई प्रभावशाली मन्त्री उनको साथ छोडेर संस्थापन पक्षमै रहे ।

ठाकुर समूहका सांसदले केन्द्रमा तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिँदा उनको गुटका लुम्बिनी प्रदेशका सांसदले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका थिए । मुख्यमन्त्री पदबाट पोखरेल अपदस्थ भएपछि ठाकुरको खेमाबाट मन्त्री भएका चार मन्त्रीको पद खोसिन थाल्यो । एक मन्त्रीले जसपा संस्थापनमा फर्किएर सांसद पद मात्रै जोगाएनन्, फेरि मन्त्री नै भए । जसपा संस्थापनले कारबाही गर्दा ठाकुर समूहका तीन प्रदेश सांसदको पदसमेत धरापमा पर्‍यो । 

ठाकुर पक्षले ओलीलाई दोस्रोपटक संसद् विघटन गर्न र ओली अल्पमतमा हुँदा पनि उनलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समर्थन गर्दा तत्कालीन समयमा जसपाका अधिकांश प्रतिनिधिसभा सांसदले ठाकुरलाई साथ दिएका थिए । त्यसकै बलमा ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा नियुक्त गरेका थिए । महतोको नेतृत्वमा आफ्नो गुटका ११ नेतालाई ठाकुरले तत्कालीन ओली सरकारमा सहभागी पनि गराएका थिए । तर, सुरुदेखि नै अधिकांश केन्द्रीय कार्यकारिणी समिति सदस्य अध्यक्ष यादवको पक्षमा थिए । फलतः यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिए । दुईतिहाइ कार्यकारिणी सदस्यको समर्थनमा यादवले पार्टीको आधिकारिकता पाए । ठाकुर र उनी पक्षधर नेताहरू साधारण सदस्यबाहेक पार्टीका सम्पूर्ण पदबाट बेदखल गरिए । ठाकुरहरू लगभग पार्टीविहीनताको अवस्थामा पुगे । प्रधानमन्त्री देउवाले एमाले टुक्र्याएर नयाँ दल दर्ता गर्नका लागि माधव नेपालका लागि २० प्रतिशत संघीय सांसद वा केन्द्रीय सदस्यको समर्थनमा नयाँ दल दर्ता गर्न पाउने प्रावधानसहितको अध्यादेश ल्याउँदा ठाकुरलाई ठूलो राहत भयो । यही मौकामा लोकतान्त्रिक समाजवादी पार्टी नामक दल दर्ता गरे । मूल पार्टीबाट लोसपामा २५ देखि ३३ प्रतिशत संघीय सांसद, प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि र नेता–कार्यकर्ता मात्रै ठाकुरको लोसपामा लागेका छन् । ठाकुरलाई ठूलो क्षति भएको छ ।

समाजवादी पार्टी नेपालसँग एकता गरेर जसपा बन्नुअघि राजपा ६ पार्टी मिलेर बनेको थियो । पार्टीमा ६ अध्यक्षको अध्यक्ष मण्डल थियो । तर, ठाकुरले नयाँ पार्टी बनाउँदा जनाधार भएका तत्कालीन राजपाका दुई प्रभावशाली अध्यक्षले साथ दिएनन् । ती दुवै प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सांसद पनि हुन् । यसले पनि ठाकुरलाई ठूलो क्षति गरेको छ । गत वर्ष वैशाखमा यादव र ठाकुरको पार्टी एकीकरण हुँदा ठाकुरसँग १९ संघीय सांसद थिए । तर, जसपाबाट टुक्रिएर लोसपा बनाउन १६ संघीय सांसदले मात्रै साथ दिए । २१ सांसद उपेन्द्र यादवसँगै जसपामा बस्न रुचाए । संसद् विघटन गर्न ओलीलाई साथ दिँदा ठाकुर जसपाभित्र कारबाहीमा मात्र परेनन्, अल्पमतमा पनि परे । धेरै नेता, कार्यकर्ता, संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले साथ छोड्दा विगतमा यादवको हाराहारीमा रहेका ठाकुर अहिले कमजोर हुन पुगे ।

छवि धुमिल : ठाकुरलाई सबभन्दा ठूलो घाटा उनको छविमा दाग लागेर भएको छ । उनी आफ्नो राजनीतिक अडान र नैतिकताका लागि प्रसिद्ध थिए । तर, राजनीतिक आदर्श र अडानबाट विचलित भएर सबभन्दा ठूला मधेसविरोधी भनेर कहलिएका ओलीलाई संसद् विघटन गर्न साथ दिएपछि ठाकुरको छवि धुलिएको छ । ओलीले पहिलोपटक संसद् विघटन गर्दा ठाकुर त्यसको विरोधमा उभिएका थिए । तर, ओलीले दोस्रोपटक संसद् विघटन गर्दा ठाकुरले उक्त गैरसंवैधानिक कार्य गर्न ओलीलाई सहयोगको सुनिश्चितता गरे । संसद्मा तटस्थ बसेर अप्रत्यक्ष तरिकाले ठाकुरले साथ नदिएको भए ओलीले दोस्रोपटकको संसद् विघटन गर्न सक्ने थिएनन् । दोस्रोपटक विघटनमा ओलीलाई सघाएपछि मधेसमा ठाकुरलाई प्रश्न गर्न थालिएको छ । उनलाई आशंकाको दृष्टिले हेर्न थालिएको छ । एकातिर, संविधान संशोधन गर्न भनेर ओलीसँग कार्यदल गठनसम्बन्धी सहमति गर्ने र अर्कोतिर संविधान विघटन गर्न ओलीलाई मद्दत गर्ने ठाकुरको मनशाय आमजनताले बुझन् सकेका छैनन् । यसको जवाफ ठाकुरले आउँदो आमनिर्वाचनमा दिनुपर्नेछ । 

ओलीले संसद् विघटन गरेर असंवैधानिक रूपमा मन्त्रिमण्डल विस्तार गर्दा आफ्ना समूहका नेताहरूको जम्बो टोलीलाई रातारात सरकारमा पठाएपछि ठाकुरको ठूलो बदनामी भयो । उनीमाथि पदलोलुपताको गम्भीर आरोप लागेको छ । तिनै नवनियुक्त मन्त्रीहरूलाई पनि सर्वोच्च अदालतले गैरसंवैधानिक ठहर गरेपछि राजेन्द्र महतोसहितका ११ जना मन्त्री स्वतः पदमुक्त हुन पुगे । यस घटनाले पनि ठाकुर मधेसमा हाँसो र व्यंग्यको पात्र भएका छन् । दुःखद त के भने जीवनभर लोकतन्त्र, संसदीय प्रजातन्त्र र संविधानवादका लागि लडेका ठाकुरले लोकतन्त्र र संविधानविरोधी संसद् विघटनलाई साथ दिँदा उनीमाथि लागेको कलंकको टीका अब कसैगरी पखालिनेछैन ।