मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १५ शुक्रबार १०:५९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १५ शुक्रबार १०:५९:००

न्यादी हाइड्रोपावर लिमिटेडले आज शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा रु. २२ करोड ५० लाखबराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गरेको हो।

कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहने २० लाख ९२ हजार पाँच सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज कार्यालय समयदेखि आवेदन दिन पाउनेछन्।

निष्कासन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ।

कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कुल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजना निर्माणको कुल अनुमानित लागत रु. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रु. २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन्। साथै, अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा रेटिङ गर्नुपर्ने प्रावधानअनुसार केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ।

कम्पनीले आफ्नो जारी पुँजी रु. एक अर्ब ५० करोडको प्रतिसेयर रु. १०० अंकित दरले हुने एक करोड ५० लाख कित्ता सेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्कासनका निमित्त छुट्याएको थियो। आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको रु. १०० अंकित मूल्यका १५ लाख कित्ता सेयर र संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता सेयर गरी १८ लाख कित्ता सेयर गत भदौ १ देखि निष्कासन खुला गरिएको र त्यसको बाँडफाँडसमेत भइसकेको छ।