१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १४ बिहीबार ०९:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विमानको प्राविधिक अध्ययन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १४ बिहीबार ०९:३९:००

उडिरहेकै जहाजहरूमा समस्या देखिन थालेपछि जहाजको अवस्थाबारे विस्तृत अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । नेपाली वायुसेवा कम्पनीहरूको उडाइरहेका जहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको विस्तृत अनुसन्धान गर्न सरकारले समिति गठन गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, मन्त्रालयका प्रमोद नेपाल र सदस्यसचिवमा क्यानका प्रबन्धक लक्ष्मण देवकोटा रहेका छन् । यो समितिले नेपालमा दर्ता भएर सञ्चालन भइरहेका जहाज तथा हेलिकोप्टरको अनुसन्धान गरेर तीन महिनाभित्र प्रतिवेदन बुझाउनेछ । 

पछिल्लो समय उडिरहेका जहाजमा धेरै समस्या आउन थालेपछि सरकारले विस्तृत अनुसन्धान गर्न लागेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले जानकारी गराए । यही सोमबार बुद्ध एयरको काठमाडौंबाट विराटनगर र पोखरा उडेका दुई जहाजमा अचानक प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर अवतरण गर्नुपरेको थियो ।

प्रधानमन्त्री देउवाले अध्ययनको क्रममा सामान्य त्रुटि देखिएमा पनि ग्राउन्डेड गर्ने अधिकार समितिलाई दिएको प्रवक्ता अधिकारीले जानकारी गराए । नेपालमा दर्ता भएका सबै हवाईजहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन–अनुसन्धान गरी प्रत्येक वायुयानको विस्तृत विवरण सम्परीक्षण गर्नुपर्नेछ । 

छानबिन समितिले इन्टरनेसनल सिभिल एभियसन अर्गनाइजेसन (आइकाओ)बाट स्वीकृत मापदण्ड र वायुयान उत्पादक कम्पनीहरूको म्यानुअलको व्यवस्था वायुसेवा कम्पनीहरूले कार्यान्वयन गरे÷नगगरेको सम्बन्धमा प्राधिकरण (क्यान)ले गरेको परीक्षण प्रतिवेदन पुनरावलोकन गर्नेछ । इजाजतप्राप्त वायुयानचालक दलका सदस्यहरूको समन्धमा स्वीकृत मापदण्डहरूको पालनाको सम्बन्धमा पनि परीक्षण गरिनेछ ।