वातावरणसँग सम्बन्धित सरोकारवालाहरूले नेपालमा जलवायु परिवर्तनको संकट चुलिएको भन्दै यसको तयारी र समाधानका लागि तयारी थाल्नुपर्नेमा जोड दिएका छन् । स्कटल्यान्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरूको २६औँ सम्मेलनको तयारी र जलवायु परिवर्तनको नेपालको अवस्थाबारे छलफलका क्रममा उनीहरूले विगतमा तय भएका नीति कार्यान्वयन गर्न सरकारलाई सुझाब पनि दिएका छन् ।
नेपाल वातावरण पत्रकार समूह (नेफेज)द्वारा मंगलबार आयोजित छलफलमा वातावरणविद् भूषण तुलाधर, नेपाली टाइम्सका प्रधानसम्पादक कुन्द दीक्षित, वन तथा वातावरण मन्त्रालयअन्र्तगतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख डा. राधा वाग्लेले जलवायु परिवर्तनका मुद्दाबारे सम्बोधन गरेका थिए ।
वातावरणविद् तुलाधरले जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा भएका ठूल्ठूला घटनाहरू सम्बोधन गर्न ढिलो भइसकेको बताए । तुलाधरले अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सहभागी भएर आफ्ना मुद्दाहरू प्रभावकारी रूपमा राखे पनि जलवायु परिवर्तनबाट आमनागरिकलाई सुरक्षित राख्ने कामको सुरुवात नेपालबाटै गर्नुपर्ने उल्लेख गरे । ‘नीतिहरू राम्रा राम्रा बनेका छन् । तर, कार्यान्वयनमा सधँै समस्या छ । कतिपय नीति सरकार आफँैले पनि उलंघन गरिरहेको छ,҆ तुलाधरले भने ।
पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तन राजनीतिक मुद्दा भएको र यो आमनागरिकको जन–जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए । जलवायु परिवर्तनले देशको अर्थतन्त्र, पानीको स्रोत, मानवीय स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उनले संचारमाध्यमहरूले यी बिषयलाई अझै प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए । ‘मानवीय स्वास्थ्य र सर्वसाधारणको बाँच्ने उमेरसमेत घटिरहेको अवस्था छ । अर्कोतिर देशको अर्थतन्त्र वातावरण प्रदूषण गर्ने प्रज्वलनशील इन्धनको आयातमा खर्च भइरहेको छ । हाम्रो जस्तो मुलुकको लागि यो एउटा ठूलो संकट हो,’ दीक्षितले भने । दीक्षितले देशमा भएका संकटहरूको पिरामिडको टुप्पोमा जलवायु परिवर्तन भएको पनि टिप्पणी गरे । उनको भनाइ थियो, ‘समाजका विद्यमान समस्याहरू र समाधानका उपायहरू खोतल्ने हो भने जलवायु परिवर्तनबाट सिर्जित समस्याहरू पनि सम्बोधन हुन्छन् ।’
वातावरण मन्त्रालयकी डा. राधा वाग्लेले यसपटकको पक्ष राष्ट्रहरूको सम्मेलनमा नेपालले प्रभावकारी उपस्थित जनाउने गरी तयारी गरिरहेको बताइन् । ‘हामीले त्यहाँ उठाउने विषयहरूबारे राष्ट्रिय धारणा बनाउन १० वटा थिमेटिक कमिटी बनाएका छौँ । कमिटीले आ–आफ्नो सुझाब दिएपछि त्यसको आधारमा राष्ट्रिय दस्ताबेज तयार गरेर हामी सम्मेलनमा भाग लिन जान्छौँ,’ उनले भनिन् ।
कार्यक्रममा जलवायु परिवर्तन महाशाखाका उपसचिव डा. अरुणप्रकाश भट्टले जलवायु परिवर्तनबाट सिर्जित समस्या सम्बोधन गर्न नेपालले अनुकुलन र नियमनका क्षेत्रमा उल्लेखनीय काम भएको जिकिर गरे । उनले यस मुद्दालाई सम्बोधन गर्न अहिलेसम्म आवश्यक रणनीति, नीतिहरू तय भएको पनि बताए ।
नेफेजका अध्यक्ष कसमस विश्वकर्माले वातावरण र जलवायु परिवर्तनका मुद्दा राजनीतिक मुद्दा नै भएको र वातावरण संरक्षणलाई ध्यान नदिई गरिने विकास आयोजनाहरूले क्षति मात्रै पुर्याउने बताए । उनले योजना बनाउने वेलामै नै ध्यान पु¥याउनुपर्नेमा जोड दिए । वन तथा वतावरण मन्त्रालयका लागि अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपिएम) र पोलिसी एन्ड इन्स्टिच्युसन फ्यासिलिटी (पिफ)को सहयोगमा नेपाल वातावरण पत्रकार समूहले कार्यक्रम आयोजना गरेको नेफेजले जनाएको छ ।