नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा स्कुलिङ विभागको कार्यविधि पेस भएको छ। सोमबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा स्कुल विभागका प्रमुख गिरिराजमणि पोखरेलले कार्यविधि पेस गरेका हुन्। उक्त कार्यविधि स्थायी समितिले पारित गरेपछि लागू हुने जनाइएको छ। माओवादी स्कुल विभागको इन्चार्च पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन्।
के छ कार्यविधिमा ?
पार्टीको केन्द्रीय स्कुल विभागअन्तर्गत चार तहको संरचना प्रस्ताव गरिएको छ। जसमा केन्द्रीय स्कुल विभागमातहत प्रदेश, जिल्ला, पालिका, वडा तहसम्म विभागको संरचना रहनेछ। केन्द्रीय स्कुलविभागले मातहतका कमिटीका लागि तहगत आधारमा पाठ्यक्रम तय गर्ने विभाग प्रमुख गिरिराजमणि पोखरेलले बताए। पाठ्यसामग्री निर्माण गर्दा आवश्यकताअनुसार प्रिन्ट तथा श्रव्यदृश्य माध्यम प्रयोगमा ल्याउने तयारी गरिएको छ।
प्रविधिमैत्री पार्टी निर्माण गर्ने दिशाका साथ स्कुल विभागले काम गर्ने पोखरेलको भनाइ छ। दीर्घकालीन रूपमा आवासीय स्कुलको संरचनामा जाने गरी तयारी गरेको उनले जानकारी दिए। पार्टीको स्कुल विभागमा आवश्यकताअनुसार पार्टीबाहिरका विज्ञहरूलाई पनि सहभागि गराएर काम गरिने पोखरेलले बताए।
स्कुलिङका लागि नेपाली भाषा मात्र नभएर आवश्यकताअनुरूप स्थानीय भाषा वा अन्य पनि राख्न सकिने कार्यविधिमा उल्लेख छ। विभागले हरेक वर्ष कम्तीमा एउटा खुल्ला बहस सञ्चालन गर्ने तयारीसमेत गरेको छ। ‘संसदीय मोर्चामा भइरहेका वा हुनुपर्ने बहससँग पार्टीलाई जोड्न आवश्यक विधि, विज्ञता र संयन्त्रको विकास गरिनेछ,’ कार्यविधिमा उल्लेख छ।
यस्तो हुनेछ संरचना
माओवादी केन्द्रले पार्टीलाई सुदृढ गर्नका लागि स्कुल विभागलाई व्यवस्थित गराउन खोजेको छ। पोखरेलका अनुसार स्कुलको संरचना तीन तहको हुनेछ। जसमा पार्टी स्कुल आधारभूत, माध्यमिक र उच्च गरी तीनवटा तहमा सञ्चालन गरिनेछ। माओवादीले पार्टी स्कुललाई अनुसन्धानको तहसम्म लैजाने तयारीसमेत गरेको छ। सोहीअनुरूप हरेक तहका लागि कार्ययोजना तथा पाठ्यक्रम तर्जुमा गरिने कार्यविधिमा उल्लेख छ।
माओवादीले अनुसन्धानलाई सबै तहका कक्षासँग अन्तर्सम्बन्धित गरेर लैजाने बताएको छ। संगठनको आवश्यकताअनुसार विशिष्ट प्रशिक्षण कक्षासमेत सञ्चालन गर्न सकिने स्थायी समितिमा पेस गरिएको कार्यविधिमा उल्लेख छ।
जनप्रतिनिधिका लागि पाठ्यक्रम
हरेक तहका जनप्रतिनिधिका लागि पार्टीको नीति तथा घोषणापत्रका आधारमा पाठ्यक्रम बनाउने स्कुल विभागको तयारी छ। जनप्रतिनिधि निर्वाचित भएको तीन महिनाभित्र कक्षा चलाई हरेक वर्ष कक्षालाई अद्यावधिक गर्ने योजना बनाइएको छ। स्कुलिङका लागि स्कुल विभागसँग प्रशिक्षक, प्रशिक्षार्थी, कर्मचारी, पाठ्यसामग्री, वेभ पेज र पुस्तकालयसमेत बनाउने तयारी छ। केन्द्रीय कार्यालयमा रहेको पुस्तकालय स्कुल विभागको मातहतमा ल्याउने गरी कार्यविधि बनाइएको छ।
यसरी गरिनेछ प्रशिक्षार्थी छनाेट ?
पहिलाको जस्तो प्रशिक्षणको अवधारणामा स्कुल विभागले काम गर्नेछैन। प्रशिक्षार्थी छनाेट गर्ने जिम्मेवारी सम्बन्धित तहको स्कुल विभागलाई दिइएको छ। छनाेट प्रक्रियाका लागि इच्छुक व्यक्तिले फाराम भर्नुपर्नेछ। सम्बन्धित तहको पार्टी कमिटीले प्रमाणीकरण गरेपछि त्यो प्रक्रियामा लैजाने गरी अवधारणा बनाइएको छ।
पार्टीका सबै साधारण सदस्यका लागि आधारभूत तहको कक्षा अनिवार्य गरिएको छ। सम्बन्धित कमिटीले पार्टी सदस्य प्रदान गरेको मितिले तीन महिनाभित्र आधारभूत तहको प्रशिक्षण प्रदान गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। जनवर्गीय संगठन तथा मोर्चाहरूले आफ्नो विशिष्टताको आधारमा अलग पाठ्यक्रम तयार पार्न सक्ने कार्यविधिमा छ। पार्टी सदस्यता प्राप्त गरिनसकेका सदस्यहरूलाई यही पाठ्यक्रमका आधारमा प्रशिक्षित गर्ने नीति स्कुल विभागको छ।
माध्यमिक र उच्च तहको प्रशिक्षण लिनका लागि प्रशिक्षार्थीको तह निर्धारण दुई प्रकारले गरिएको छ। जसमा पार्टीमा सहभागी संगठनात्मक हैसियत र खुला ढंगले परीक्षा दिएर त्यसको निर्धारण गरिने छ। तीन तहका कक्षाको समयावधि कति हुने भन्ने अझै निर्धाण भइसकेको छैन।
प्रशिक्षक छनाेट कसरी ?
केन्द्रीय स्कुल विभागले कमिटी संख्याका आधारमा प्रशिक्षक तय गर्नेछ। त्यसका लागि एक तहमाथिको कमिटीले र केन्द्रीय कमिटीको हकमा केन्द्रीय समितिले निर्धारण गरेबमोजिम प्रशिक्षकहरू निर्धारण हुने छन्। विषयगत प्रशिक्षक तयार पार्ने गरी विभागले काम गर्ने र विज्ञको रूपमा बाहिरबाट पनि प्रशिक्षक लिइने संयोजक गिरिराजमणि पोखरेलले बताए। प्रशिक्षक निर्माणका लागि केन्द्रीय स्कुल विभागले प्रशिक्षक प्रशिक्षण कक्षासमेत चलाउने गरी कार्यविधि बनाइएको छ।
स्कुल विभागले विश्वविद्यालय, प्रतिष्ठानहरूसँग विषयगत आधारमा अन्तर्क्रियात्मक तथा कार्यक्रमिक सम्बन्ध स्थापित गर्ने गरिने काम गर्ने तयारीसमेत गरेको छ। विभागले विदेश स्थित भाइचारा तथा मित्र पार्टीहरूका स्कुल विभागसँग सम्बन्ध स्थापित गरेर गर्ने कार्यविधिमा उल्लेख छ। यस्तै अन्य राजनीतिक दलका स्कुल विभागसँग मित्रता र समन्वयात्मक आदान प्रदानसमेत गरेर विभागले काम गर्नेछ।