मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हिरेन्द्र शाही
२०७५ फाल्गुण १५ बुधबार ०९:१५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

किन चाहिन्छ स्ववियु निर्वाचन ?

स्ववियु निर्वाचन कार्यतालिका हेरफेर हुनुमा त्रिवि मात्रै दोषी छैन, विद्यार्थी संगठनहरू पनि उत्तिकै दोषी छन्

Read Time : > 3 मिनेट
हिरेन्द्र शाही
२०७५ फाल्गुण १५ बुधबार ०९:१५:००

स्वतन्त्र विद्यार्थी युनियन सबै विद्यार्थीको मतद्वारा चुनिने एउटा वैधानिक संस्था हो । देश, काल र समयअनुसार स्ववियुको स्थापना तथा नामकरण फरक—फरक ढंगले गरिए पनि संसारका चर्चित तथा राम्रा विश्वविद्यालयमा पनि स्ववियु वा विद्यार्थी मञ्च छ । दक्षिण एसियाको चर्चित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) मा जेएनयु विद्यार्थी युनियन क्रियाशील छ । जेएनयुको विद्यार्थी चुनावलाई अमेरिकाको रष्ट्रपतीय चुनावसँग दाँजेर हेरिन्छ ।

अध्यक्षका उम्मेदवारलाई सार्वजनिक बहसमा उपस्थित गराई चुनावी एजेन्डामा गर्मागर्मी बहस गराउने शैलीको जेएनयुमा अभ्यास भइरहेको पाइन्छ । आलोचनात्मक चेतना निर्माण गर्नु जेएनयुको पर्याय बनेको छ । वामराजनीतिको दबदबा र प्रभाव जेएनयु विद्यार्थी युनियनमा परेको छ । २०१५ जेएनयु विद्यार्थी युनियन अध्यक्षमा निर्वाचित कन्हैया कुमार मोदी सरकारसँग आजादीको माग गर्दै विश्वचर्चित बने ।

मोदी सरकारले कन्हैया कुमारलाई देशद्रोहको मुद्दा लगायो । जेएनयु विद्यार्थी युनियनले भारतका ज्वलन्त राष्ट्रिय मुद्दा, सामाजिक—आर्थिक विषयमा घनीभूत बहस चलाएको पाइन्छ । विश्वचर्चित क्याम्ब्रिज विश्वविद्यालयमा १९७१ मा क्याम्ब्रिज विद्यार्थी युनियन स्थापना भयो । युनियनले विद्यार्थीका लागि सल्लाह, सुझाब, विद्यार्थीमैत्री, सूचना आदान–प्रदान र विद्यार्थीको दैनिक जीवनमा आइपर्ने समस्यामा सहयोग गथ्र्यो ।

केही समयअगाडि ‘सार्वजनिक शिक्षा पाउनु सबैको विश्वव्यापी सामाजिक अधिकार हो ।’ भन्ने नारासाथ विश्व चर्चित बनेको चिलीको विद्यार्थी आन्दोलनको नेतृत्व चिली विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्ष क्यामिला भालेजोले गरिन् । २०१० मा सो संघको अध्यक्षमा निर्वाचित क्यामिला भालेजो २०११ मा भएको विद्यार्थी आन्दोलनको अग्रभागमा रहिन् । सन् १९९० पछि चिलियन शिक्षामा तीव्र निजीकरण हुँदै गएपछि ५४ प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयमा अध्ययन गर्न बाध्य भए, जसका कारण चिलीमा शिक्षा महँगो हुँदै गयो । अन्ततः शिक्षा सार्वजनीकीकरण माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलनले विश्वचर्चा बटुल्दै सफलता प्राप्त ग-यो । त्यसैगरी अक्सफोर्ड विश्वविद्यालयमा सन् १९७४ मा विद्यार्थी युनियन स्थापना भयो ।

युनियन स्थापनाले अक्सफोर्ड विश्वविद्यालयको निर्णय गर्ने प्रशासनिक निकायमा विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित ग¥यो, राष्ट्रिय उच्च शिक्षानीति निर्माणमा विद्यार्थीका एजेन्डा राख्ने प्रतिनिधिको व्यवस्था, प्रत्यक्ष रूपमा विद्यार्थीको सेवाप्रति समर्पित युनियन, समाजका जल्दाबल्दा सामाजिक—आर्थिक मुद्दामा छलफल तथा बहस गर्ने उद्देश्य राखेर यस युनियनले काम गरिरहेको पाइन्छ । यसरी संसारका विख्यात विश्वविद्यालयमा पनि स्ववियुको अभ्यास लामो समयदेखि भइरहेको छ । 

पञ्चायती व्यवस्थामा उपत्यकाका हाईस्कुलमा विद्यार्थी युनियनको अभ्यास २०१९ सालअगाडिदेखि नै हुँदै आएको पाइन्छ । त्रिभुवन विश्वविद्यालयमा भने २०२० साल स्ववियु स्थापना भयो । १९ वैशाख, ०२० मा त्रिभुवन विश्वविद्यालयका विद्यार्थी डम्मरवीर थापा र भक्तगोविन्द श्रेष्ठलाई त्यस वेलाका विश्वविद्यालय प्रमुख सूर्यबहादुर शाक्यले कारबाही गर्नुभयो । सो कारबाहीविरुद्ध विद्यार्थी जमात मूलतः स्ववियु खोल्न पाउनुपर्ने मागसहित आन्दोलित बन्यो, परिणामस्वरूप त्रिविमा स्ववियु स्थापना भयो ।

२० भदौ ०२० मा त्रिविमा विद्यार्थी युनियनको पहिलो निर्वाचन सम्पन्न भयो । त्यसपछि विद्यार्थी युनियनको नाम परिवर्तन गरी स्वतन्त्र विद्यार्थी युनियन राखियो । अझै पनि मुलुकको शैक्षिक क्षेत्रको नेतृत्व त्रिविले नै गरिरहेको अवस्था छ । देशभर त्रिविकै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसको संख्या बढी छ भने उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी पनि त्रिविमै बढी छन् । 

नयाँ नेतृत्व विकाससँगै शैक्षिक सुधार गरी विद्यार्थीको अतिरिक्ति क्षमता विकास एवं क्याम्पस प्रशासनलाई पारदर्शी तथा विद्यार्थीमैत्री बनाउन स्ववियु निर्वाचन अपरिहार्य छ

त्रिवि नियमावलीमा स्ववियु निर्वाचन दुई–दुई वर्षमा गर्ने प्रावधान राखिएकोे छ । तर, ०६५ सालपछि त्रिविले ०७३ मा आंशिक रूपमा स्ववियु निर्वाचन सम्पन्न ग-यो । स्ववियु निर्वाचन कार्यतालिका हेरफेर हुनुमा त्रिवि मात्रै दोषी छैन, विद्यार्थी संगठनहरू पनि उत्तिकै दोषी छन् । २०६५ पछि स्ववियु निर्वाचन प्रणालीको एजेन्डाले स्ववियुको गतिशीलतामाथि प्रश्न उठ्यो । ०७३ मा सम्पन्न स्ववियु निर्वाचन पनि त्रिविको २८ वर्षे उमेर हदलाई विद्यार्थी संगठनले विवादको विषय बनाउँदा अधिकांश क्याम्पसमा हुनै सकेन । आगामी १४ फागुनमा हुनुपर्ने स्ववियु निर्वाचन पनि अनिश्चित बनेको छ ।

०१६ मा स्थापित त्रिवि नेपालकै पुरानो तथा ठुलो विश्वविद्यालय हो । नेपालमा अहिले १२ विश्वविद्यालय स्थापना भएका छन् । अन्य विश्वविद्यालयमा स्ववियु स्थापना तथा निर्वाचनको विषयमा भने अझै विद्यार्थी संगठनको ध्यान जान सकिरहेको छैन । स्ववियुको विश्वव्यापी अभ्यासलाई नियाल्दा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले अतिरिक्त क्षमता विकासमा ध्यान दिने, विद्यार्थीका दैनिक जीवनमा आइपर्ने समस्यालाई प्रशासनसँग सहजीकरण गर्ने, सूचना आदान—प्रदान गर्ने, शैक्षिक गुणस्तरमा ध्यान दिने, आलोचनात्मक चेतनाको निर्माण, नेतृत्वको विकास, जिम्मेवारी बहन, राजनीतिक चेतना निर्माण, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा छलफल, समाजका ज्वलन्त सामाजिक आर्थिक मुद्दामा बहस आदि गर्ने उद्देश्यले स्ववियुको अभ्यास वा प्रयोग भइरहेको पाइन्छ । स्ववियु विद्यार्थीले विद्यार्थीकै लागि जन्माएको एक संस्था हो । यो संस्थाको जन्म देश, काल र समयअनुसार फरक—फरक ढंगले भए पनि उद्देश्य भने एउटै रहेको पाइन्छ । के हाम्रा स्ववियु उल्लिखित मुद्दामा गम्भीर छन् ?

 पञ्चायती व्यवस्थामा राजनीतिक व्यवस्थालाई चुनौती दिँदै हुर्किएको स्ववियुले के आजको राजनीतिक व्यवस्थाका दुर्गुणमाथि प्रश्न गर्न सक्छ ? क्याम्पसका ठेक्कापट्टा, शिक्षक नियुक्ति, नक्कली कार्ड, थेसिस बेचबिखन, प्रश्नपत्र खरिद–बिक्री, विद्यार्थी भर्नाको रकममा अनियमितता, प्रशासनसँग विभिन्न बहानामा पैसाको लेनदेन आदि तमाम मुद्दामा आजको विद्यार्थी आन्दोलन र स्ववियु अल्झिरहेको छ । पञ्चायती वा सामन्तवादी राजनीतिक व्यवस्थामा सफल स्ववियु पुँजीवादी व्यवस्थाको भ¥याङ बन्ने खतरा छ । ०७३ मा स्ववियु निर्वाचन सम्पन्न भएको र नभएको क्याम्पसको अवस्था हेर्दा कुनै अन्तर देखिन्न । स्ववियु निर्वाचन नभएका क्याम्पसमा विद्यार्थी संगठनका नेताले स्ववियुको भूमिका खेलेकै छन् । 

समयको पदचापलाई पछ्याउने स्ववियु निर्माणको दिशातर्फ समग्र विद्यार्थी आन्दोलन अग्रसर हुन जरुरी छ । त्यसका लागि पहिलो सर्त स्ववियुको नियमित निर्वाचन, स्ववियु निर्वाचनमा उम्मेदवारबीच सार्वजनिक बहस, स्ववियुमा प्रत्येक कक्षाबाट प्रतिनिधित्व हुने स्ववियु सभा, समय–समयमा शैक्षिक सुधारका लागि स्ववियु शैक्षिक सुधार बहस कार्यक्रम आदि मार्फत जीवन्त स्ववियु बनाउने प्रक्रियामा सम्बन्धित पक्षले सोच्न आवश्यक छ । स्ववियु विद्यार्थीको साझा चौतारी हो, जसले विद्यार्थी र प्रशासनबीच पुलको भूमिका खेल्छ । नयाँ नेतृत्व विकाससँगै शैक्षिक सुधार गरी विद्यार्थीको अतिरिक्ति क्षमता विकास एवं क्याम्पस प्रशासनलाई पारदर्शी तथा विद्यार्थीमैत्री बनाउन स्ववियु निर्वाचन अपरिहार्य छ ।   
(शाही अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख हुन्)