मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनिष खड्का
२०७५ पौष ५ बिहीबार १६:३२:००
Read Time : > 1 मिनेट
समाचार

सुझाव संकलन गर्न नेकपा रुकुम पश्चिम गाउँमा

Read Time : > 1 मिनेट
मनिष खड्का
२०७५ पौष ५ बिहीबार १६:३२:००

पार्टी सुदृढीकरण र जनउत्तरदायी सरकार निर्माण गर्न भन्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुझाव संकलन अभियान लिएर रुकुम पश्चिम गाउँ पसेको छ । केन्द्रमा पार्टी एकीकरण हुँदा पनि जिल्ला तथा स्थानीय स्तरमा एकता प्रक्रिया अगाडि बढ्न नसकिरहेको अवस्थामा स्थानीय सरकार संचालनको विषयमा सुझाव संकलन गर्न गाउँ पसेको हो । 

यस अभियानबाट पार्टी एकीकरण र स्थानीय सरकार संचालनका लागि महत्वपुर्ण सुझाव संकलन हुने र कार्यकर्तामा उत्पन्न नैराश्यतालाई कम गर्न मदत पुग्ने नेकपाका जिल्ला संयोजक महेन्द्र केसी(पारषमणि)ले जानकारी दिए । उनका अनुसार यो अभियानबाट पार्टीमा नयाँ स्प्रिट आउँने छ । ‘पार्टी एकीकरणपछि गाउँ स्तरमा कार्यकर्ताको अवस्था कस्तो छ भनेर जान्ने प्रयास नै भएको छैन्,’ उनले भने, ‘आ आफ्नो तरिकाले त नेताहरु गाउँमा पुगिरहेका छन् तर अभियानकै रुपमा चुनाव पछि पहिलो पटक पार्टी गाउँ पसेको हो ।’

केन्द्रीय सदस्यको नेतृत्व 
जिल्लालाई तीन कमाण्डमा विभाजन गरेर नेकपा गाउँ पसेको हो । प्रत्येक कमाण्डको पार्टीका केन्द्रीय सदस्यले नेतृत्व गरिरहेका छन् । मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिका कमाण्डको केन्द्रीय सदस्य शेरबहादुर केसी, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका कमाण्डको केन्द्रीय सदस्य राजकुमार शर्मा(आर्ट) तथा आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिका कमाण्डको केन्द्रीय सदस्य बसन्तकुमार शर्मा(कुशल)ले नेतृत्व गरिरहेको नेकपाका जिल्ला संयोजक पारषमणिले बताए । 

उनका अनुसार सबै कमाण्डमा पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला तथा गाउँपालिका स्तरीय नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ । मुसीकोट–त्रिवेणी कामण्डमा प्रदेश कमिटि सदस्य बिमल कुमार पुन, बिमला केसी, देवि ओली र जिल्ला संयोजक पारषमणि लगायत, आठबीसकोट–बाँफिकोट कमाण्डमा प्रदेश सदस्य ठगेन्द्रप्रकाश पुरी, रातो कामी लगायत र चौरजहारी–सानीभेरी कमाण्डमा प्रदेश सदस्य गोपाल शर्मा(अनल), तिर्था गौतम लगायतको सहभागीता रहेको छ । 

पार्टी एकताको सन्देश लिएर गाउँमा पुगेर एकता प्रक्रियालाई टुंग्याउन र स्थानीय सरकारलाई कसरी जनमुखी बनाउन सकिन्छ भनेर सुझाव लिने तथा त्यसलाई मार्ग निर्देशका रुपमा लिन अभियान संचालन गरिएको नेकपाले जनाएको छ । अभियान आगामी माघ ५ गतेसम्म संचालन हुने छ । पुस २५ गतेसम्म सम्म वडा स्तरीय र २७ गतेबाट माघ ५ गतेसम्म पालिका स्तरिय अभियान संचालन गरिने पार्टीले जनाएको छ ।