Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
काठमाडौं किंस–११ को जर्सी सार्वजनिक गर्दै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७८ असोज ९ शनिबार ०९:२१:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सर्वाधिक धनराशिको चौथो इपिएल आजदेखि

Read Time : > 3 मिनेट
२०७८ असोज ९ शनिबार ०९:२१:००

६ टोलीले प्रतिस्पर्धा गर्ने एभरेस्ट प्रिमियर लिगको च्याम्पियनले ५० लाख र उपविजेताले १५ लाख पाउने छन्

आजको खेल
काठमाडौं किंग्स इलाभेनविरुद्ध ललितपुर प्याट्रियटर्स
समयः १२:१५ दिउँसो, टियु मैदान 

घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिताकै सर्वाधिक धनराशि भएको एभेरस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुँदै छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा पाँच दिन दुई खेल हुनेछन् । आजकोे उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियटर्स र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुनेछ । 

राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेल हुनेछ । यस खेलको विजेताले फाइनल स्थान बनाउनेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो । 

यद्यपि, धनगढी र पोखरा प्रिमियर लिग हुन बाँकी नै छ । सम्भवत इपिएललाई चुनौती दिन पनि धनगढी र पोखराले विजेता धनराशि बढाउने अनुमान गरिएको छ । इपिएलको मुख्य प्रायोजकका रूपमा बजाज पल्सर रहेको छ । इपिएलको चौथो संस्करण सन् २०१९ मा हुनुपर्ने थियो । त्यसवेला राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय क्यालेन्डरमा निकै व्यस्त भएका कारण नै इपिएल स्थगित भयो । 

त्यसपछि सन् २०२० मा इपिएल गर्न कोसिस भयो । तर, कोरोना भाइरसको महामारीका कारण आयोजकले इपिएल अन्तिम समयमा स्थगित गर्‍यो । इपिएलको इतिहासमा ललितपुर सर्वाधिक सफल टोली हो । पहिलो र तेस्रो संस्करण ललितपुरले हात पारेको थियो । ललितपुरले तेस्रो संस्करणको उपाधि जित्दा कप्तान ज्ञानेन्द्र मल्ल कप्तान थिए । तर, यसपटक व्यक्तिगत कारण देखाउँदै मल्लले प्रतियोगिता सुरु हुनु तीन दिनअघि मात्र इपिएल नखेल्ने घोषणा गरेका छन् । ललितपुरले उनको स्थानमा कुशल भुर्तेललाई कप्तानीको जिम्मेवारी दिएको छ । 

घरेलु क्रिकेटमा नाम चलेका खेलाडीकै कप्तानीमा टोली मैदानमा उत्रनेछ । काठमाडौं किंग्सका कप्तान सन्दीप लामिछाने, पोखरा राइनोजका कप्तान विनोद भण्डारी तथा विराटनगर वारियर्सका कप्तान करण केसी हुन् । इपिएलमा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्ल्याडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् । 

जितका लागि खेल्नेः राइनोज
पोखराले प्रतियोगितामा आफूहरूले बलियो दाबेदारी प्रस्तुत गर्ने बताएको छ । पोखराका टिम म्यानेजर दीपासिंह अग्रवालले यसपटक पोखरा बलियो भएको दाबी गरेकी छिन् । ‘यसपटक हाम्रो टोली मजबुत पार्न अक्सनदेखि नै ध्यान पु¥यायौँ, टोलीमा अलराउन्डर खेलाडीको वर्चस्व छ,’ अग्रवालले भनिन्, ‘यसपटक हाम्रो लक्ष्य जित हो, तर खेलको नतिजा जता पनि जान सक्छ, यद्यपि राइनोजका सबै खेल रोमाञ्चक हुने आशा लिएकी छु ।’ अग्रवाल पोखरा राइनोजकी मालिक हुन् । 

प्रमुख प्रशिक्षक उमेश पटवाल, कप्तान विनोद भण्डारी, बलिङ प्रशिक्षक शक्ति गौचन, फिल्डिङ प्रशिक्षक रिजन प्रजुलगायतले यसपटक पोखराको टोली सन्तुलित भएको दाबी गरेका छन् । दक्षिण अफ्रिकाका रिचार्ड अन्स्ट लेभीले विश्वकप खेलिरहेका छन् । यस्तै वेस्ट इन्डिजका केसरिक विलियम, श्रीलंकाका असेला गुणरत्ने र साहान अरचसिगे पनि पोखरामै छन् । 

१३ देशका विदेशी खेलाडी 
धनगढी र पोखरा प्रिमियर लिग सञ्चालन हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएका क्रिकेटर पनि सहभागी हुन्छन् । तर, यी दुवै लिगका दाँजोमा इपिएलमा विश्व चर्चित खेलाडी अनुबन्धित हुनु नै यसको मुख्य विशेषता मानिएको छ । यसपटकको इपिएलमा कुल १३ देशका खेलाडीले भाग लिँदै छन् । जसमध्ये हाईप्रोफाइल खेलाडी पाकिस्तानका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदी हुन् । अफ्रिदीले दुई खेल खेल्नेछन् ।

उनीबाहेक अन्य विदेशी खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् । बंगलादेश, श्रीलंका, मलेसिया, जिम्बाबे, वेस्ट इन्डिज, क्यानडा, अफगानिस्तान, पाकिस्तान, सिंगापुर, इंग्ल्यान्ड, भुटान र दक्षिण अफ्रिकाका खेलाडी इपिएलमा देखिनेछन् । बंगलादेशी राष्ट्रिय टोलीबाट खेलिसकेका तमिन इक्वाल, श्रीलंकाका उपल थरंगा, धम्मिका प्रसाद, सिकुगे प्रसन्नाजस्ता अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका खेलाडी पनि छन् । अफगानिस्तानलाई एकदिवसीय तथा टेस्ट मान्यता दिलाउन ठूलो भूमिका निर्वाह गरेका विकेटकिपर ब्याट्सम्यान मोहमद सेहजाद पनि छन् । इपिएलमा सहभागी हुन विदेशी खेलाडी नेपाल आइपुगेका छन् । 

यी घरेलु खेलाडी देखिने छैनन्

विदेशी स्टार खेलाडीको उपस्थितिमा केही घरेलु चर्चित खेलाडी भने इपिएलमा देखिने छैनन् । राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले व्यक्तिगत कारण देखाउँदै प्रतियोगितामा भाग नलिने घोषणा गरिसकेका छन् ।

राष्ट्रिय टोलीकै उपकप्तान दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी तथा ललित भण्डारी पनि इपिएल नखेल्ने भएका छन् । दीपेन्द्र र ललित व्यक्तिगत नभएर चोटका कारण सहभागी हुन नसकेका हुन् ।

गत साता ओमानमा सम्पन्न आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा दीपेन्द्र घाइते भएका थिए । ललित भने गत वर्ष मोटरसाइकल दुर्घटनामा परेका थिए । उनी अझै पूर्ण फिट भएका छैनन् । वसन्तले अमेरिकाको घरेलु लिग खेलिरहेका छन् ।

ज्ञानेन्द्रले इपिएल नखेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले चौथो इपिएल नखेल्ने भएका छन् । उनी आबद्ध ललितपुर प्याट्रियट्र्सले सुरुवाती क्रममा खेलाडीको नाम घोषणा गर्दा मल्ल कप्तानीमै थिए । तर, बिहीबार कप्तान मल्लले व्यक्तिगत कारण देखाउँदै इपिएल नखेल्ने जानकारी ललितपुरले दिएको छ । पछिल्लो संस्करणमा मल्लकै कप्तानीमा ललितपुरले उपाधि हात पारेको थियो । ललितपुरले अब कप्तानीको जिम्मेवारी कुशल भुर्तेललाई दिएको छ । 

अफ्रिदीले १० नम्बर जर्सी लगाउने

काठमाडौंमा आबद्ध अफ्रिदीले १० नम्बरको जर्सी लगाउने भएका छन् । काठमाडौंले शुक्रबार सबै खेलाडीसहित जर्सी सार्वजनिक गर्दा १० नम्बरको जर्सी पाएका हुन् । २० वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा अफ्रिदीले १० नम्बरकै जर्सी लगाएका थिए । अफ्रिदीले नेपालको छोटो बसाइ हुने भए पनि यहाँको आतिथ्यबाट प्रभावित भएको बताएका छन् । ‘नेपाल आएको दुई दिन मात्र भयो, तर म यहाँको अतिथिलाई गर्ने स्वागतबाट दंग परेको छु,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अफ्रिदीले भने । 

अमेरिकामा जानुपर्ने भएकाले योपटकको इपिएलमा छोटो यात्रा भएको उनको भनाइ छ । ‘अमेरिका जान नपरेको भए म चौथो संस्करणको इपिएल पूरै खेल्ने थिएँ, तर अर्कोपटक म पुरै इपिएल खेल्ने गरी आउनेछु,’ उनले भने । नेपालको क्रिकेट तथा सम्बन्ध विकास गर्नकै लागि आफू इपिएलमा अनुबन्धित भएको अफ्रिदीको भनाइ छ । ‘नेपालको क्रिकेट विकास र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन नै आएको हुँ,’ नेपाल आउनुको कारण बताउँदै उनले भने, ‘तपाईंहरू नेपाली क्रिकेटको विकासबारे जहिले सहयोग माग्नु हुन्छ म तयार छु ।’ 

यसैगरी काठमाडौंका कप्तान सन्दीप लामिछानेले अफ्रिदीजस्तो विश्व चर्चित खेलाडीको उपस्थितिले टोलीमा थप ऊर्जा मिलेको जनाए । ‘विश्व क्रिकेटमै नाम कमाएका अफ्रिदी हाम्रो टोलीमा छन्, अहिले अन्य युवा खेलाडीको मनोबल नै उच्च भएको छ,’ सन्दीप भन्छन्, ‘योपटक हामीले राम्रो तयारी गरेका छौँ ।’