१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रञ्जन भण्डारी काठमाडाैं
२०७८ असोज ८ शुक्रबार १८:५२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तीन वर्ष पुग्दासमेत बनेन, जलेश्वर – बर्दिवास सडक

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी, काठमाडाैं
२०७८ असोज ८ शुक्रबार १८:५२:००

जलेश्वर–बर्दिवास सडक तीन वर्ष पुग्नै लाग्दा अझै पूर्ण हुन सकेको छैन । सडक सुधार तथा विस्तार आयोजना (आरआइडिपी)ले सन २०१८ सालको डिसेम्बर अन्तिममा शिवालय दिवा जेभी नामक कम्पनीलाई उक्त सडक निर्माणको लागि ठेक्का दिए पनि कम्पनीले सडक निर्माण अवधि ३६ महिनामध्ये ३३ महिना कटाइसक्दा हालसम्म करिब २२ प्रतिशत काम मात्र गर्न सकेको छ ।

कोरोनाको संक्रमण र अन्य विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाइ हुन गएको बताइरहँदा उक्त सडक प्रयोग गर्ने स्थानीयहरू र यात्रीहरू भने सास्ती भोग्न बाध्य छन् । वर्षायाममा हिलो र गर्मीयाममा धुलोले स्थानीय रोगी भइसके । तर पनि  सडक निर्माणमा सम्बन्धित सरोकारबाला निकायहरूको भने ध्यानाकर्षण हुन सकेको छैन । यता समयमै काम सम्पन्न गर्न आतुर नदेखिएको निर्माण कम्पनीलाई सडक सुधार तथा विस्तार आयोजनाले थप १४ महिनाको म्याद दिएको छ । आयोजनाले पर्याप्त कारणहरू देखिएपछि सडक निर्माणको म्याद थपिएको बताएको छ ।

शिवालय दिवा जेभीले जलेश्वर–बर्दिवास सडक खण्ड मात्र नभई जलेश्वर नगरक्षेत्रभित्रको १५.६१ किलोमिटर,सिरहाको १५ किलोमिटर र राजविराजको १५ किलोमिटर गरी कुल ८७.६१ किलोमिटर सडक दुई अर्ब आठ करोड भ्याटबाहेकको रकममा निर्माणको जिम्मा दिएकोमा कम्पनीले करिब २९ प्रतिशत (५८ करोड) रकम भुक्तानी पाइसकेको उक्त सडकको कन्सल्टेन्ट कम्पनी सिम्याट सिल्ट भिडिए कन्सल्टेन्ट का रेजिडेन्ट इन्जिनियर नारायणप्रसाद ढकालले बताए  ।  उनले सडक निर्माण समयमा गर्न निर्माण कम्पनीलाई बारम्बार पत्राचार गर्ने गरेकोसमेत बताए ।

विगत केही महिनादेखि पूर्ण रूपमा सडकको काम बन्द रहेकोमा दसैँ आउनै लाग्दा निर्माण कम्पनीले भने सम्बन्धित निकायबाट थप रकम हात पार्न एकाध कामदार सडकमा भने खटाएका छन् । काम गर्दै गरेको आभास हुने तर काम सम्पन्न नहुने मनसायका साथ निर्माण कम्पनीले काम थाल्दा जनताले कहिले उक्त सडक सहज रूपमा उपभोग गर्न सक्ने गम्भीर प्रश्न छ ।