१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ फाल्गुण १५ बुधबार ०६:२६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

छिमेकमा तनाव, युद्धको आशंका : पाकिस्तान भन्छ, ‘बम जंगलमा खसाइयो, बिचरा रूख आतंकवादी होइनन्’

कास्मिरको पुलवामामा ४४ सुरक्षाकर्मी मारिएको १२ दिनपछि भारतीय वायुसेनाद्वारा पाकिस्तानमा बम वर्षा

Read Time : > 3 मिनेट
एजेन्सी
२०७५ फाल्गुण १५ बुधबार ०६:२६:००

‘भारतीय समयअनुसार मंगलबार बिहान ३:५० मा भारतीय वायुसेनाका १२ विमानले लाइन अफ कन्ट्रोल पार गरे । १२० किलोमिटरभित्र पाकिस्तानी आकाशबाटै एक हजार किलोग्राम बम बर्साए ।

सीमापार १५ मिनेट बिताएर बिहान ४:०५ बजे स्वदेश फर्कंदासम्म उनीहरूले जैस ए मोहम्मदको प्रमुख तालिम केन्द्र ध्वस्त बनाए । भारतीय वायुसेनाका मिराज २००० विमानको हमलामा कम्तीमा तीन सय ५० आतंकवादी मारिएका छन् ।’ 
सरकार र सेनाको हवाला दिँदै भारतीय मिडियाको दाबी छ । 

१४ फेब्रुअरीमा कास्मिरको पुलवामामा भएको आत्मघाती हमलामा भारतीय केन्द्रीय रिजर्भ फोर्सका ४४ सुरक्षाकर्मी मारिएका थिए । पाकिस्तान संरक्षित समूह जैस ए मोहम्मदले सो आक्रमण गराएको दाबी गर्दै आएको भारतले यथाशीघ्र जवाफ दिने घोषणा गरेको थियो । पुलवामा आक्रमणको १२ दिनपछि भारतीय वायु सेनाले पाकिस्तानमा बम खसालेको हो । 

उता, भारतीय सैन्य विमान पाकिस्तानी सीमाभित्र छिरेको पुष्टि पाकिस्तानले पनि गरेको छ । तर, आक्रमण निरस्त पारिएको र आफ्नोतर्फ कुनै पनि क्षति नभएको उसको दाबी छ । ‘भारतीय वायु सेनाका जहाजले हाम्रो क्षेत्रमा प्रवेश गरेको सत्य हो, तर तत्काल हाम्रो सेनाले प्रतिकार गर्न खोज्दा उनीहरू भागे । भाग्दै गर्दा बम खसाले । उनीहरूले जंगलमा बम खसाल्दा केही रुख ढलेका छन् ।’

हवाई कारबाहीमा जैस ए मोहम्मदका कमान्डरसहित ठूलो संख्यामा लडाकु मारिएको भारतले दाबी गरेको छ । ‘भारतमा जैस ए मोहम्मद समूहले अझै आत्मघाती हमला गर्ने सूचना गुप्तचर निकायका अधिकारीले पाएका थिए । खतराको पूर्वसन्ध्यामा हमला अनिवार्य थियो,’ भारतीय विदेश सचिव विजय गोखेलले भने । मंगलबारको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैस ए मोहम्मदको सबैभन्दा ठूलो शिविर ध्वस्त पारिदिएको उनले दाबी गरे । आक्रमणमा कोही पनि सर्वसाधारण नपरेको उनले बताए । 

कैयौँ शिविर ध्वस्त : भारतीय कृषिमन्त्री
कास्मिरी पृथक्तावादी र अरू लडाकु लुकेर बसेको आशंकामा एलओसी पार गरेर पाकिस्तान–अधीनस्थ क्षेत्रमा गरिएको हमलामा कैयौँ आतंककारी शिविर ध्वस्त भएको भारतका कृषि राज्यमन्त्री गजेन्द्रसिंह सिखावतले दाबी गरे । भारत–अधीनस्थ कास्मिरमा केही दिनअघि आत्मघाती आक्रमणमा ४४ भारतीय अर्धसैनिक बलको मृत्युपछि पहिलोपटक भारतले पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको मन्त्री सिखावतले बताए ।

कास्मिरमा संघर्षरत मौलाना मसुद अजहरको नेतृत्वमा रहेको जैस ए मोहम्मद समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो । मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब सिर्जना गरिरहेको छ । 

भारत सरकारले यसअघि नै भारतीय सुरक्षाफौजमाथि आत्मघाती आक्रमण गर्नेमाथि सैन्य कारबाही गर्न भारतीय सेनालाई पूर्ण अख्तियारी दिएको थियो । 

शान्तिमा चीनको जोड, संयम हुन इयूको आग्रह
चीनले भारत र पाकिस्तानबीचको शान्तिपूर्ण सम्बन्धमा जोड दिएको छ । कास्मिरमा स्थायित्व कायम गर्न भारत र पाकिस्तानबीच बलियो र शान्तिपूर्ण सम्बन्ध अनिवार्य भएको चीनको भनाइ छ । ‘दुई देशले कास्मिरमा शान्ति र स्थिरता 
कायम गर्नेछन् भन्ने हामीले आशा गरेका छौँ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ । 

त्यस्तै, युरोपेली युनियन (इयू) ले दुवै एसियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ । ‘हामी दुवै मुलुकसँग सम्पर्कमा छौँ । दुवै देशलाई अत्यधिक संयमता अपनाउन र स्थितिलाई थप तनाव नबनाउन आग्रह गर्छौँ,’ इयू प्रवक्ता माजा कोसिजान्सिकले भने । 

भारतभर उत्सव : वायुसेनाको प्रशंसा, सत्तापक्ष र प्रतिपक्षको एक स्वर

भारतीय वायुसेनाले पाकिस्तानी क्षेत्रमा बम खसाएको र आतंकवादी अखडामा क्षति पुर्‍याएको भन्दै भारतभर उत्सव मनाइएको छ । सर्वसाधारणले ठाउँठाउँमा पटका पड्काएर भारतीय राष्ट्रगान गाउँदै खुसियाली मनाएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हवाई हमलाबारे अप्रत्यक्ष रूपमा वायुसेनाको तारिफ गरेका छन् । मंगलबार राजस्थानमा आयोजित एक राजनीतिक सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘मैले तपार्इंहरूको उत्साह र ऊर्जाको कारण बुझेको छु । आज हामीले हाम्रा हिरोहरूका अगाडि झुक्ने दिन हो ।’ 

भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले वायुसेनालाई बधाई दिएका छन् । ‘म वायुसेनाका पाइलटहरूलाई सलाम गर्छु,’ राहुलले ट्विट गरेका छन् । मंगलबारको हमलापछि विभिन्न राजनीतिक दलका नेता, विशिष्ट व्यक्ति, कलाकार र सर्वसाधारणले समेत वायुसेनाको तारिफ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, विभिन्न सेलेब्रिटीले पनि सरकार र सेनाको हौसला बढाएका छन् । 

कलाकार अक्षय कुमारले भनेका छन्, ‘आतंकवादीका शिविर ध्वस्त बनाएकोमा भारतीय वायुसेनाप्रति गौरव छ । चुप नलागौँ ।’

सलमान खान : भारतीय वायुसेनालाई सम्मान छ, जय हो ।

सचिन तेन्दुलकर : हाम्रो संयमलाई कहिल्यै पनि कमजोरी नठानियोस्, म भारतीय सेनालाई सम्मान गर्छु, जय हिन्द ।

कमल हसन : पाकिस्तानस्थित आतंकवादी शिविरमा प्रलय ल्याएर हाम्रा १२ विमान फर्किएका छन् । आफ्ना हिरोहरूप्रति भारत गौरव गर्दछ । म तिनीहरूको वीरताको सम्मान गर्दछु ।

परेश रावल : वास्तवमै एउटा सुन्दर बिहानी । धन्यवाद नरेन्द्र मोदीलाई र बहादुर सैनिकलाई । जय हो ।

शत्रुघन सिन्हा : सम्माननीय प्रधानमन्त्रीज्यू, यो घडीमा सम्पूर्ण राष्ट्र तपाईंको साथ छ । तपार्ईंलाई हाम्रो सम्पूर्ण समर्थन छ । महान् वायुसेनालाई स्वागत छ । जय हिन्द कि सेनाको जय हो ।

पाकिस्तान भन्छ, ‘बम जंगलमा खसाइयो, बिचरा रूख आतंकवादी होइनन्’
पाकिस्तानले भारतीय आक्रमणको उचित समयमा आफ्नै ढंगले जवाफ दिने बताएको छ । पाकिस्तानका विदेशमन्त्री साह मोहम्मद कुरेसीले भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेर पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको र त्यसको उचित जवाफ दिइने बताएका छन् । ‘यस हमलाको पाकिस्तानले जवाफ दिन्छ’ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सेना र सर्वसाधारणलाई जस्तोसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएको उनले बताए ।

मंगलबार बिहान भएको सो हमलापछि प्रधानमन्त्री खानले सुरक्षा परिषद्को आपत्कालीन बैठक डाकेका थिए । बैठकपछि विज्ञप्ति जारी गर्दै पाकिस्तानमा क्षति भएको भन्ने भारतीय दाबीको खण्डन गरिएको छ । ‘बालाकोट क्षेत्रवरपर कथित आतंकवादी शिविर नष्ट पारिएको र ठूलो मानवीय क्षति भएको भारतीय दाबीको हामी खण्डन गर्छौंँ,’ सुरक्षा परिषद्को बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर खतरा पुर्‍याएको छ । एलओसीमा भएको उल्लंघनको जवाफ दिन सरकारले बुधबारका लागि संसद्को संयुक्त बैठक डाकेको छ । प्रधानमन्त्री खानले पाकिस्तानको आणविक शस्त्रगृहको निरीक्षण गर्ने निकाय नेसनल कमान्ड अथोरिटीको विशेष बैठकसमेत डाकेका छन् । यसैबीच पाकिस्तानले देशभित्र र बाहिरका सञ्चारकर्मीलाई आक्रमणस्थलमा लाने तयारीसमेत गरेको छ । 

भारतीय सेनाले सीमामा गरेको घुसपैठलाई असफल पारिदिएको पाकिस्तानी सेनाले दाबी गरेको छ । पाकिस्तान अधीनस्थ कास्मिरको मुजफ्फरबाद क्षेत्रबाट भारतीय विमानको घुसपैठ भएको, तर आफूहरूको कारबाहीपछि भारतीय सेना भागेको पाकिस्तानी सेनाले दाबी गरेको छ । ‘मुजफ्फरबाद क्षेत्रबाट घुसपैठ गरेका भारतीय विमान पाकिस्तानी वायुसेनाका तर्फबाट तत्काल प्रभावशाली कारबाही भएपछि भाग्न थाले,’ पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्विटमा लेखेका छन् ।

त्यस्तै, बमले क्षतिग्रस्त जंगलको तस्बिर ट्विट गर्दै पाकिस्तानी सेनाले भनेको छ, ‘हामी यो स्मरण गराउन चाहन्छौँ कि यी ढलेका रूखहरू आतंकवादी होइनन् । पाकिस्तानमा हमला गरेको भन्ने भारतीय दाबी फेरि पनि मिथ्या साबित भएको छ । पाकिस्तानमा बम खसालेर ठूलो क्षति पुर्‍यायौँ भन्दै भारतीय सरकारले गरेको प्रचार आन्तरिक खपतका लागि हो, त्यसलाई पुष्टि गर्ने वेला आएको छ ।’