१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
किरण दहाल काठमाडाैं
२०७८ असोज ७ बिहीबार ०९:३०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेकपा एसको संगठनात्मक संरचना : महासचिवमा भुसाल

पार्टीका सबै कमिटीहरू समावेशी चरित्रको बनाउनुका साथै कमिटीमा युवालाई उचित स्थान दिने नेकपा एसको योजना

Read Time : > 2 मिनेट
किरण दहाल, काठमाडाैं
२०७८ असोज ७ बिहीबार ०९:३०:००

एक महिनाअघि मात्रै निर्वाचन आयोगबाट मान्यता पाएको नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सांगठनिक संरचनालाई पूर्णता दिने भएको छ । जारी केन्द्रीय कमिटी बैठकबाट महासचिवसहित नेताहरूको जिम्मेवारी तोक्ने तयारी छ ।

नेताहरूका अनुसार पार्टी स्थायी कमिटी सदस्य एवं राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसाललाई महासचिव बनाउने तयारी छ । बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकबाट भुसाललाई महासचिव बनाउनेबारे निर्णय लिने एक केन्द्रीय सदस्यले बताए । ‘नयाँ पार्टी भएकाले कैयौँ कानुनी कागजातमा समेत काम गर्नुपर्ने हुन्छ, यस्तोमा एउटा अनुभवी नेता चाहिन्छ भनेर नै भुसाललाई महासचिव बनाउन लागिएको हो,’ ती नेताले भने । 

पार्टी संरचनालाई पूर्णता दिन मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक बिहीबारसम्मका लागि लम्ब्याइएको छ । बैठकले पार्टीको महासचिव चयन गर्नुको साथै स्थायी कमिटी र केन्द्रीय कमिटी विस्तार गर्नेछ भने पोलिटब्युरो गठन गर्नेछ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बिहीबारको बैठकबाट संगठनात्मक विषयमा धेरै निर्णय हुने बताए । ‘बिहीबार ११ बजे बैठक बस्नेछौँ र महासचिव चयन गर्नेछौँ । यसैगरी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरूको टुंगो लगाउनेछौँ,’ उनले भने । 

अहिले स्थायी कमिटीमा अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, भुसाल र प्रमेश हमाल छन् । केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी सदस्य रहनेछन् । पार्टीका सबै कमिटीहरू समावेशी चरित्र बनाउने र सबै पार्टी कमिटीमा युवालाई उचित स्थान दिने नेकपा एसको योजना छ । 

आज महासचिव घोषणा गर्छौं
 जगन्नाथ खतिवडा प्रचार विभाग प्रमुख

बिहीबार ११ बजे बैठक बस्नेछौँ र महासचिव चयन गर्नेछौँ । यसैगरी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरूको टुंगो लगाउनेछौँ ।

अहिले चालू रहेको पार्टी कमिटीहरूको गठन तथा पुनर्गठन अभियानकै रूपमा चलाउने एकीकृत समाजवादीको तयारी छ । पार्टीसम्बद्ध जनवर्गीय संगठन, पेसागत संगठन, सामुदायिक संगठन र प्रवासी संगठन निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढाइने योजना तय गरेको छ । कमिटीहरूको गठन–पुनर्गठन र पार्टी सदस्यता वितरण अभियान आधारभूत रूपमा सम्पन्न भइसकेपछि स्थानीय पार्टी कमिटीका अधिवेशन गर्दै अगाडि बढाइने नेताहरूले बताएका छन् । 

एकीकृत समाजवादीले यसअघि नै प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेश केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भगवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज भएका छन् । तर, सुदूरपश्चिम प्रदेशमा भने इन्चार्ज तोक्न बाँकी नै छ । यसबाहेक उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङ र मोर्चा इन्चार्जमा डा. विजय पौडेलले जिम्मेवारी पाएका छन् । 

प्रतिनिधिसभामा २४ र राष्ट्रिय सभामा आठ गरी जम्मा ३२ जना संघीय संसद् सदस्य रहेको एकीकृत समाजवादी संघीय संसद्मा चौथो दल बनेको छ । पार्टीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष नेपाललाई र राष्ट्रिय सभाको दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई चयन गरेको छ । 

बैठकले ‘समाजवाद’ नामक पार्टीको मुखपत्र प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै, नियमित बुलेटिन प्रकाशित गर्ने भएको छ । नेताहरूमार्फत पार्टीको चुनाव चिह्नको सन्दर्भमा विभिन्न सुझाब आएको भन्दै खतिवडाले पार्टीको चुनाव चिह्न निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि बताए ।

माधव नेपालको प्रतिवेदन पारित
बैठकले अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । बैठकमा प्रतिवेदनमाथि पाँचवटा समूह बनाई छलफल गरिएको थियो । आएका सुझाब समेटेर प्रतिवेदन पारित भएको प्रचार विभाग प्रमुख खतिवडाले बताए । उनले भने, ‘समूहगत छलफलपश्चात् निस्किएका निष्कर्ष बैठकका सामु प्रस्तुत गर्नुभयो । उहाँहरूले दिएका महत्वपूर्ण सुझाबलाई ग्रहण गर्दै पार्टी केन्द्रीय कमिटी बैठकले त्यसलाई स्वीकार गर्दै त्यसका सुझाबसहित राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिने गरी पारित गर्न प्रस्ताव गरियो । र, यो प्रस्ताव पारित भएको छ ।’