मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज ६ बुधबार १२:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मी पहिरो : गुहार माग्दा घाँटी सुक्यो, कसैले सुनेनन्

Read Time : > 1 मिनेट
२०७८ असोज ६ बुधबार १२:५८:००

मंगलबार राति तम्घासमा ठूलो पानी पर्‍यो। पानी परेको चाल पाएकाहरूको मनले राम्रो सोचेको थिएन। करिब ११ बजेर ४० मिनेट जाँदा रेसुंगा– ८ का तिलक परिवारको घरमा पहिरो खस्यो। चार छोरी एकै ठाउँमा मस्त निदाएका थिए। भित्तापट्टिका जुम्ल्याहा १४ वर्षीया गंगा र जमुनासहित २१ वर्षीया भावना पहिरोले पुरिए। ढोकाछेउमा सुतेकी साँहिली छोरी सुजतालाई बुबाले तानेर बचाए। पहिरो खसेको छिमेकी ईश्वर विकको परिवारले पनि चाल पाए। दुवै परिवार निकैबेर चिच्याएर गुहार मागे। घाँटी सुक्यो। तर, पानी निकै ठूलो परेकाले कसैले सुनेनन्। ईश्वरले प्रहरीको १०० नम्बरमा दुईपटक फोन गरे। तर, उठेन। उनी उद्धारको कुनै उपाय नभएपछि अर्धचेत अवस्थामा प्रहरी कार्यालय पुगे। ‘चिच्याउँदा घाँटी बस्यो प्रहरीले फोन उठाएन। रातमा दौडिएर प्रहरी कार्यालय पुगेँ,’ उनले भने, ‘कार्यालय पुगेर पनि बोल्न सकिनँ पानी खाएपछि मात्रै केहीबेरमा बोलेँ। 

करिब साढे १२ बजे सुरुमा प्रहरीको गस्ती टोली घटनास्थल पुग्यो। उद्धारको सम्भावना भएन। केहीबेरमै प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईसहितको टोली उद्धारमा पुग्याे। साँघुरो कोठा र पानी परिरहेकाले फेरि पनि सहज उद्धार सम्भव थिएन। तर, टोलीले पहिरो फाल्न थाल्यो। ‘सुरुमा मान्छे पुरिएकै विश्वास लागेन। तर, केही पहिरो फालेपछि भावनालाई मृत अवस्थामा बाहिर निकाल्यौँ,’ एसपी भट्टराईले भने, ‘पछि सेना पनि आयो, जुम्ल्याहा दिदीबहिनी पनि मृत भेटिए।’ करिब चार घन्टामा नेपाल प्रहरी र नेपाली सेनाले पहिरोमा पुरिएकाहरूलाई बाहिर निकाल्यो। 

‘बुबाका अनुसार एउटी छोरीले बाबाबाबा पनि भनेकी थिइन् रे परिवारले निकाल्न सक्ने अवस्था भएन,’ उनले भने, ‘एउटै परिवारमा निकै दुःखदायी अवस्था देख्यौँ।’ पहिरोले तीन छोरी गुमाएकी लालमती परियार अहिलेसम्म होसमा छैनन्। रातिदेखि नै विक र परियार दुवै परिवार छिमेकी खेतबहादुर भलामीकोमा आश्रय लिएका छन्। 

भलामीको पिँढीमा विक्षिप्त लालमतीले जुम्ल्याहा छोरी गंगा, जमुना र भावना सम्झेर छाती पिटिरहेकी छिन्। जेठी छोरी सुष्मा र आफन्तले लालमतीको चित्त बुझाउन खोज्दै थिए। तीन सन्तान एकै ठाउँ गुमाएकी आमासँग मन बुझाउन कुनै उपाय थिएन । पहिरोले भान्सा घर फुटेका छिमेकी ईश्वर विकको परिवारले पनि घर छोडेका छन्। आँगन जोडिएको अर्को घरमा तीनजनाले ज्यान गुमाए। पानी परे पहिरो नजिकको ढिक जुनसुकै वेला खस्ने भएकाले केही दिन घरमा नबस्ने ईश्वरले बताए। घटनास्थल पुगेका रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले शवको अन्त्येष्टि, किरिया खर्चसहित मृतक र विस्थापित परिवारलाई राहत र अन्य व्यवस्थापनमा सहयोग गर्ने बताए।