१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
श्रवण थापा सर्लाही
२०७८ असोज ६ बुधबार ०९:४९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पक्राउ परे मिटरब्याजी साहुकार चौधरी

पीडितलाई सर्लाहीका एसपी सन्तोषसिंह राठौरको आग्रह–डराउनुपर्दैन, निर्धक्क भएर उजुरी दिनुस्

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ असोज ६ बुधबार ०९:४९:००

- साहुकार पक्राउपछि पीडितले दिन थाले उजुरी, जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर प्रहरीले थाल्यो अनुसन्धान
- नरेशविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता

हप्ते ब्याज उठाएर स्थानीय ऋणीको उठीबास लगाउने सर्लाही चन्द्रनगर गाउँपालिका– ३ बड्कुर्वाका साहुकार नरेश चौधरी पक्राउ परेका छन् । नरेशको ठगी धन्दाबारे आइतबार र सोमबार नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि प्रहरीले उनलाई मंगलबार बिहान घरबाटै पक्राउ गरेको हो । 

प्रहरीले खोजेको थाहा पाए भाग्न सक्ने आशंकामा झिसमिसेमै घरमा पुगेर पक्राउ गरेको सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । उनका अनुसार नरेशविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । 

‘साहुकार भनिएका नरेशबाट ठगिएका पीडितबारे नयाँ पत्रिकामा समाचार आएलगत्तै प्रहरीले चासो दिएको थियो । त्रासका कारण पीडितले उजुरी दिन नसकेको अवस्थामा उनलाई पक्राउ गरेर कानुनी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ,’ एसपी राठौरले भने, ‘मंगलबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।’

त्रासका कारण अन्याय सहन बाध्य पीडितहरूले साहुकार पक्राउलगत्तै जिल्ला प्रहरी कार्यालय पुगेर भटाभट उजुरी दिन थालेका छन् । मंगलबार पाँचजना पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । सबैभन्दा पहिले नरेशकै सहोदर दिदी हरिपुरनिवासी पसियादेवी चौधरीले उजुरी दिएकी हुन् । नरेशले पसियादेवीको लालबन्दी– १ स्थित पुनर्वास टोलमा रहेको दुई कट्ठा जग्गा जालसाजी गरेर बेचिदिएका थिए । 

नरेश पक्राउपछि पनि कैयौँ पीडित उजुरी दिन डराइरहेका छन् । भोलि छुटेर झन् दुःख दिन सक्ने त्रास उनीहरूमा छन् । तर, एसपी राठौरले आवश्यकताअनुसार प्रहरीले सुरक्षा दिने भन्दै उजुरी दिन पीडितहरूलाई आग्रह गरेका छन् ।
‘केही पीडितले उजुरी दिइसक्नुभएको छ ।

पीडितको विवरण र उजुरी आउने क्रम जारी छ । पीडितकै उजुरीका आधारमा प्रहरीले विस्तृत अनुसन्धान गर्दै छ,’ उनले भने, ‘ठगिएका व्यक्तिले प्रहरीमा आएर निर्धक्कसँग उजुरी गर्नुहुन म आग्रह गर्छु । आवश्यकताअनुसार पीडितलाई शान्ति–सुरक्षाको व्यवस्था गरेर अनुसन्धान हुन्छ ।’

नरेशले जिल्लाका विभिन्न स्थानका विपन्न परिवारलाई दिएको ऋणमा मिटरब्याज लगाउने तथा जमिन दृष्टिबन्धक राख्ने भनेर रजिस्ट्री पास नै गरी सुकुमबासी बनाएको पीडितहरूको गुनासो छ । चन्द्रनगर, ईश्वरपुर, बसबरियालगायत ठाउँका कैयौँ स्थानीय नरेशबाट ठगिएका छन् ।

उनी पक्राउ परेपछि न्याय पाउने आस पलाएको पीडितहरूले बताएका छन् । नरेशविरुद्ध उजुरी दिन मंगलबार अपराह्न जिल्ला प्रहरी कार्यालय पुगेका पीडित विजयसिंह दनुवारले नयाँ पत्रिकासँग भने, ‘हामी लेख्न, पढ्न नजानेको मान्छे, गुनासो लिएर जाँदा जहाँबाट पनि धपाउँछन् । जनप्रतिनिधिलाई पटक–पटक भन्दा पनि सुनेनन् । तर, आज प्रहरीले हाम्रो उजुरी लिएको छ । सबै कागजातसहित उजुरी गरेको छु । ठगी गर्ने साहुकारलाई हदैसम्म कारबाही होस्, प्रहरीले हामीलाई न्याय देओस् । मलाई आशा छ प्रहरीले यस्तै गर्ला ।’

चन्द्रनगर– ७ नाडीटोलका विजयसिंह दनुवार साहुकार नरेशकै मिटरब्याजका कारण सुकुमबासी बनेका पीडित हुन् । पाँच कट्ठा ११ धुर जमिन दृष्टिबन्धक राखेर घर बनाउन तीन लाख ऋण लिएका उनले उक्त जग्गा नै गुमाउनुपरेको छ । विजयको जग्गा नरेशले आफ्नी श्रीमती सुभद्रा कुमारीको नाममा पास गराएका हुन् । 

ऋण दिँदा जग्गा दृष्टिबन्धक राख्ने, केही समयमै मनमौजीमा ऋणको आकार कैयौँ गुणा बढाउने, नतिरे उठीबास लगाइदिने भनेर धम्क्याउने र अन्ततः जालसाजी गरी जग्गा नै हडप्ने साहुकार नरेशको धन्दा हो । उनीबाट पीडित बन्नेहरूको लस्कर लामो छ ।