१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हङकङसँगको मंगलबारको खेलमा गोलरहित बराबरी भएपछि निराश बनेको नेपाली टोली ।
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ६ बुधबार ०६:१३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला फुटबल टोली छनोट चरणबाटै बाहिरियो

एसियन कप छनोटमा अहिलेसम्म चारपटक सहभागी भएको नेपाल चारै पटक छनोट खेलको पहिलो चरणबाटै बाहिरिएको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ६ बुधबार ०६:१३:००

अर्को वर्ष भारतमा हुने एएफसी एसिया कप २०२२ खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सम्भावना समाप्त भएको छ । एएफसी एसिया कपको छनोट चरणमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाली टोली एसिया कपमा छनोट हुन असफल भएको हो ।

छनोट चरणको समूह एफको शीर्ष स्थानमा फिलिपिन्स तीन अंकका साथ शीर्ष स्थानमा छ । यस समूहमा हङकङले एक अंक जोडेको छ । नेपालले छनोट चरणका दुवै खेल खेलेको छ । ८ असोजमा शीर्ष स्थानका लागि फिलिपिन्स र हङकङबीच अन्तिम खेल हँुदै छ । यस खेलको विजेताले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप २० जनवरीदेखि ६ फेब्रुअरी २०२२ सम्म हुनेछ ।

छनोटको अन्तिम खेलमा फिलिपिन्सले गोलरहित बराबरी नतिजा निकाल्दा पनि शीर्ष स्थानमाथि कब्जा जमाउनेछ । हङकङले छनोट चरण पार गर्न फिलिपिन्सलाई धेरै गोलअन्तरले हराउनुपर्नेछ । भारतमा हुने एसिया कपमा स्थान पक्का गर्न नेपालले फिफा वरीयतामा आफूभन्दामाथि रहेको हङकङलाई हराउनुपर्ने थियो । उज्वेकिस्तानमा सम्पन्न खेलमा नेपालले खेल अवधिभर हङकङमाथि दबाब राखे पनि जित निकाल्न सकेन । पहिलो हाफमा नेपाली महिला खेलाडीको एक प्रहार क्रसबारमा लागेको थियो । छनोट चरणका लागि हङकङले धेरै अगाडिदेखि नै तयारी गरेको थियो । 

हङकङले सिनियर तथा युवा खेलाडीलाई प्राथमिकतामा राखी टोली घोषणा गरेको थियो । नेपालले उज्वेकिस्तानमा प्रतिस्पर्धा गर्नुअघि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलपछि नेपाली टोली छनोट चरणमा भाग लिन उज्वेकिस्तान गएको थियो । यद्यपि मंगलबारको खेलमा नेपालले बल पोसेसन निकै राम्रो बनाए पनि गोल गर्न भने सकेन । जसका कारण नेपालले हङकङसँग एक अंक बाँड्यो । 

हङकङविरुद्धको खेलमा नेपालले फराकिलो गोलअन्तरले जित निकाल्नुपर्ने थियो । छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो । नेपालले फिलिपिन्सविरुद्ध सुरुवाती गोल गरेको थियो । नेपालले आफ्नो अग्रता अन्तिम समयसम्म रक्षा गर्न नसक्दा फिलिपिन्सलाई तीन अंक सुम्पियो । 

पहिलोपटक हङकङसँग बराबरी
नेपाली महिला फुटबल इतिहासमा हङकङलाई पहिलोपटक बराबरीमा रोकेको हो । फिफा वरीयतामा नेपाल १०१ स्थान तथा हङकङ ७६औँ स्थानमा छ । सन् १९८६ मा सम्पन्न एसियन कप छनोटमा नेपाल र हङकङबीच पहिलोपटक प्रतिस्पर्धा भएको थियो । जसमा हङकङले नेपाललाई १–० ले हराएको थियो ।

सन् १९८९ को एसिया कप छनोटमा नेपालले हङकङसँग दोस्रोपटकको भेटमा नेपाल हङकङसँग ३–० ले पराजित भएको थियो । नेपालले चौथोपटक एसिया कप छनोटमा भाग लिएको हो । नेपाल हालसम्म एसियन कप छनोटमा चारपटक सहभागी भएको छ, तर चारैपटक छनोट खेलको पहिलो चरणबाटै बाहिरिएको छ । नेपालले सन् १९८६, १९८९, १९९९ र २०२१ मा  छनोट खेल खेलेको हो ।