मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ४ सोमबार १२:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले टुंग्यायो धनुषा र कैलालीको क्रियाशील विवाद, ११ जिल्लामा अझै अनिश्चित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ४ सोमबार १२:५१:००

नेपाली कांग्रेसले धनुषा र कैलाली जिल्लाका क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। क्रियाशील विवाद समाधान समितिले नाैबुँदे निर्णय गर्दै विवाद समाधान गरेको हो। 

नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको समितिले आइतबार दुई जिल्लाको विवाद टुंग्याउने निर्णय गरेको कांग्रेसले जनाएको छ। समितिमा केन्द्रीय सदस्य रमेश लेखक र डा. मीनेन्द्र रिजाल सदस्य रहेका थिए। निर्णयअनुसार धनुषा क्षेत्र नम्बर ४ मा रहेको बट्टेश्वर नगरपालिका वडा नम्बर ५ र क्षीरेश्वर नगरपालिका वडा नम्बर १० मा पुरानै क्रियाशील सदस्यता कायम गरिएको छ।

यस्तै, समितिले मिथिलाबिहारी नगरपालिका ६ र १०, लक्ष्मीनिया गाउँपालिका १ र २ मा  नयाँ क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय गरेको छ।

क्षीरेश्वर नगरपालिका– ७ तथा लक्ष्मिनियाँ गाउँपालिका ३, ४, ५ र ६, मिथिला बिहारी नगरपालिका– २ र जनकपुर उपमहानगरपालिका– १९ का वडामा सभापतिहरूले सिफारिस गरेको क्रियाशील सदस्यतालाई मात्र मान्यता दिइएको छ। समितिले क्षेत्र र जिल्ला तहबाट थपिएका नामहरू भने १४औँ महाधिवेशनपछि प्रक्रियामा जाने जानकारी दिएको छ।

कैलाली जिल्लाको विवादका सम्बन्धमा भने टीकापुर नगरपालिका– १ मा १३औँ महाधिवेशनमा सहभागी भएका क्रियाशील सदस्यहरूले मात्र १४औँ महाधिवेशनमा भाग लिन पाउने निर्णय गरेको छ। त्यस्तै, समितिले निर्णय कार्यान्वयनका लागि नेताहरूलाई जिम्मेवारीसमेत तोकेको छ। समितिले धनुषाको निर्णय कार्यान्वयनको जिम्मा केन्द्रीय सदस्यद्वय आनन्द ढुंगाना र जीवन परियारलाई दिएको छ। यस्तै कैलालीको सम्बन्धमा केन्द्रीय सदस्य परियार र अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई कार्यान्वयनको जिम्मेवारी दिइएको छ।

कांग्रेसको पछिल्लो कार्यतालिकाअनुसार असोज ५ लाई २० जिल्लामा एकसाथ वडा अधिवेशन तय गरिएको थियो। तर, यी दुईसहित सात जिल्लाको मात्र विवाद टुंगोमा पुगेको छ। ११ जिल्लाको विवाद अझै टुंगोमा पुग्न सकेको छैन। जसकारण असोज ५ को निर्धारित समयभित्रै वडा अधिवेशन सम्पन्न हुने सम्भावना सकिएको छ।