मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज ३ आइतबार ०६:३५:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सिनेमा ठप्प, म्युजिक भिडियोमा भ्याइनभ्याई

Read Time : > 3 मिनेट
२०७८ असोज ३ आइतबार ०६:३५:००

कोरोना महामारीले नेपाली सिनेक्षेत्र ठप्प भयो । सिनेमा निर्माण, वितरण र प्रदर्शनका सबै काम रोकिए । कलाकार र प्राविधिकहरू घरमै थन्किए । समग्र सिनेक्षेत्र नै अन्योलमा पर्‍यो । जसका कारण कतिपय कलाकार मानिसक तनावमा परे भने कतिपयले त यो क्षेत्रबाटै विश्रामसमेत लिए ।

तर, महामारीबीचमै पनि म्युजिक भिडियो निर्माण भने निकै गुलजार रह्यो । यसले केही हदमा मात्रै भए पनि मनोरञ्जन क्षेत्रलाई चलायमान बनाइराख्यो । कुनै समय गीतसंगीतमा लागेका संगीतकर्मीहरू आफ्नो सोख पूरा गर्न प्रतिफलको अपेक्षा नगरी भिडियोमा लगानी गर्थे । अहिले डिजिटल प्लेटफर्महरू (युट्युबलगायत)बाट राम्रो आम्दानीसमेत हुन थालेपछि कलाकारहरू म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् । 

दैनिक १५ वटासम्म म्युजिक भिडियो निर्माण
नेपाल म्युजिक भिडियो निर्देशक समाजका अुनसार अहिले दैनिक १५ वटासम्म म्युजिक भिडियो निर्माण हुने गर्छन् । समाजका अध्यक्ष तथा निर्देशक विधान कार्कीका अनुसार एक वर्षमा पाँच हजार चार सय ५० गीतको भिडियो निर्माण भएको तथ्यांक छ । यी म्युजिक भिडियोले सिनेमा क्षेत्रलाई चलायमान मात्रै नगराएर कलाकार तथा प्राविधिकलाई रोजगारीको अवसरसमेत दिइरहेको उनी बताउँछन् । कार्की भन्छन््, ‘सिनेमाका अधिकांश कलाकार म्युजिक भिडियोतिर लागेका छन् ।’ 

कुनै समय एउटा गीतको भिडियो निर्माणमा ४०–५० हजार मात्रै खर्च लाग्थ्यो । अहिले एउटै गीतको भिडियो बनाउन २ देखि २० लाखसम्म खर्च लाग्न थालेको छ । सिनेमामा काम गरिसकेका कलाकारले एउटा भिडियोबाट एक लाखदेखि तीन लाख रुपैयाँसम्म पारिश्रामिक लिने गरेका छन् । भिडियोमा मात्रै अभिनय गरेका चल्तीका महिला/पुरुष मोडल २५ हजारमाथि पारिश्रमिक लिन्छन् । भिडियो निर्देशकले पनि औसत ५० देखि एक लाखसम्म पारिश्रमिक राखेका हुन्छन् । म्युजिक भिडियोले फिल्म उद्योगमा ‘ब्याकअप’का रूपमा काम गरिरहेको उनी बताउँछन् । 

चलेका कलाका म्युजिक भिडियोमा
महामारीबीचमा सिनेमा निर्माण, वितरण र प्रदर्शनका सबै काम ठप्प भए । तर, म्युजिक भिडियोतर्फका कलाकार, निर्देशक र प्राविधिकलाई भने काम गर्न भ्याइनभ्याई भयो । यसबीचमा सिनेमामा चलेका कलाकार स्वास्तिमा खड्का, वर्षा राउत, केकी अधिकारी, बेनिशा हमाल, आँचल शर्मा, वर्षा शिवाकोटी, सुरक्षा पन्त, लक्ष्मी बर्देवा, पल शाह, पुष्प खड्का, अकाश श्रेष्ठ, नाजिर हुसेन, विपिन कार्की, दयाहाङ राई, बुद्धि तामाङ, दिलीप रायमाझीलगायतले समेत म्युजिक भिडियोमा काम गरे । अहिले नयाँ हुन् वा पुराना अधिकांश कलाकार म्युजिक भिडियोमा छाइरहेका छन् । पुराना र चलेका कलाकारका लागि समेत भिडियो आम्दानीको गतिलो स्रोत बनेको छ । 

फिल्म तथा म्युजिक भिडियो निर्देशक सुव्रत आचार्य कोरोना महामारीले म्युजिक भिडियोको बजार फराकिलो बनाएको बनाउँछन् । उनी भन्छन्, ‘महामारीको कारण सिनेमा निर्माण र प्रदर्शन ठप्प भयो । हलमा गएर दर्शकले सिनेमा हेर्न नपाएपछि भिडियो नै मनोरञ्जनको विकल्प बन्यो ।’ यस्तै विभिन्न ‘रियालिटी सो’ले नयाँ–नयाँ गायक÷गायिका जन्माइरहेकाले गीतसंगीतको ‘डिमान्ड’ बढ्न थालेको उनको विश्लेषण छ ।

संगीतकार वसन्त सापकोटा गीतसंगीत मात्रै तयार पार्दैनन्, गीतको भिडियो निर्माण गरेर आफ्नै युट्युबमा अपलोड गर्छन् । ‘यट्युबबाट आर्थिक उपार्जन गर्नुभन्दा पनि सिर्जना आफैँसँग रहोस् भनेर गीतको भिडियो निर्माण गर्न थालेको हो । सिर्जनाको स्वामित्व आफैँसँग भयो भने भोलि पुनः प्रयोग गर्न मिल्छ,’ उनले भने । कोरोना महामारीले सबैतिर आक्रान्त बनाइरहेका वेला गीतसंगीतलाई लाखौँ श्रोता तथा दर्शकमाझ पु¥याउने सजिलो माध्यम युट्युब बनेको उनले बताए । 

भिडियो निर्देशनमा चुनौती 
युट्युबमा सार्वजनिक हुने विभिन्न शैलीका म्युजिक भिडियोले नेपाली गीतसंगीतको गुणस्तरलाई धमिलो बनाउला कि भन्ने डर धेरैमा छ । हुन त गीतका कथालाई भिडियोमा प्रस्तुत गर्ने आ–आफ्नै शैली अपनाएका छन्, निर्देशकहरूले । ०४२ मा संगीतकार शम्भुजित बाँस्कोटा र अभिनेता तथा निर्माता भुवन केसीले सिनेमा विधाभन्दा भिडियोमा फरक प्रयोग गरे । अभिनेता केसीको आवाज रहेको ‘मायालु तिमी टाढा’ बोल गीतको भिडियोलाई संगीतकार बाँस्कोटाले निर्देशन गरेका थिए । गीतमा विजय उदयको शब्द तथा शम्भुजितकै संगीत छ । भिडियो नेपालमा निर्माण भएको पहिलो म्युजिक भिडियो बन्यो । 

भूषण दाहाल, आलोक नेम्वाङ, सुरजसिंह ठकुरी, समन अधिकारी, सहेन्द्र श्रेष्ठ, सिमोस सुनुवार, प्रसन्न पौडेल, विशाल भण्डारी, निकेश खड्का, नवीन चौहानलगायतलले म्युजिक भिडियो निर्देशनमा निकै नै सिर्जनात्मकता अपनाएका छन् । एउटा म्युजिक भिडियोको एक लाखसम्म लिन्छु
 पुष्प खड्का, अभिनेता

कोरोना महामारी फैलिएयता फिल्म क्षेत्र ठप्प छ । यो वेला फिल्मका कलाकारलाई म्युजिक भिडियोले काम दिइरहेको छ । कलाकारले पनि म्युजिक भिडियोमै भए पनि आफूलाई व्यस्त राखेका छन् । मलाई त सिनेक्षेत्रमा स्थापित गरेको पनि म्युजिक भिडियोले नै हो । यसकारण पनि म म्युजिक भिडियोलाई सधैँ प्राथमिकतामा राखेर काम गर्छु । अहिले महिनामा १२–१५ वटासम्म म्युजिक भिडियोको अफर आउने गर्छ । एउटा म्युजिक भिडियोमा काम गरेबापत एक लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेको छु । 
 महिनामै  सातवटासम्ममा काम गरेँ
वर्षा शिवाकोटी, अभिनेत्री

कलाकारलाई म्युजिक भिडियोले निकै नै मद्दत गरेको छ । दर्शकका लागि पनि मनोरञ्जनको उपयुक्त माध्यम बनेको छ म्युजिक भिडियो । मैले महिनामा सातवटासम्म म्युजिक भिडियोमा काम गरेको छु । फिल्मको गीतभन्दा म्युजिक भिडियो क्वालिटीको बन्न थालेको छ । आम्दानीको पनि राम्रै भइरहेको छ । तर, प्रतिस्पर्धा बढेको छ । खाली हात बस्नुपरेको छैन । चित्त बुझ्दो पारिश्रमिक पनि पाइरहेको छु ।


 लकडाउनका वेला एकै महिना १५ वटामा काम गरेँ
 सागर लम्साल ‘बले’, अभिनेता 

मैले महिनामा ५–७ वटासम्म म्युजिक भिडियोमा काम गर्दै आएको छु । लकडाउनको वेला त १५ वटासम्ममा गरेँ । सिरियलमा पनि काम गर्ने भएकोले अहिले घटाएको छु । म्युजिक भिडियोमा छोटो समयमा हजारौँ दर्शकसम्म पुग्ने एउटा माध्यम हो । धेरै कलाकारलाई अवसर पनि दिएको छ । आम्दानी पनि राम्रो छ । सबैभन्दा राम्रो पक्ष त कामको खाँचो छैन ।