मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शुक्रबार चीनबाट आइपुगेको ४४ लाख डोज भेरोसेल खोप विमानस्थलमा बुझ्दै स्वास्थ्य राज्यमन्त्रीसहितको टोली
अर्जुन अधिकारी काठमाडाैं
२०७८ असोज २ शनिबार ०९:४९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खोपले बढायो मनोबल

Read Time : > 2 मिनेट
२०७८ असोज २ शनिबार ०९:४९:००

अहिलेसम्म एक करोड ७७ लाख ५८ हजार ७१० डोज खोप आइसकेको छ । तीन करोड ५९ लाख डोज आउने सुनिश्चित भएको छ । ५५ लाख  सात हजार ३८० नागरिकले पूर्ण खोप नै लगाइसकेका छन् । खोप सहज हुँदै जाँदा कोरोनाविरुद्धको लडाइँमा राज्य र नागरिकको मनोबल पनि बढेको छ ।

नेपालमा कोरोनाविरुद्धको खोपको उपलब्धता सहज हुँदै गएको छ । अहिलेसम्म ५५ लाख सात हजार ३८० नागरिकले पूर्ण खोप लगाइसकेका छन् । शुक्रबार चीनबाट ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ । खोप सहज हुँदै जाँदा कोरोनाविरुद्धको लडाइँमा राज्य र नागरिकको मनोबल पनि बढेको छ । 

शुक्रबार चीनबाट आएकोसमेत गरेर हालसम्म एक करोड ७७ लाख ५८ हजार सात सय १० डोज खोप भित्रिएको छ । तीन करोड ५९ लाख डोज खोप आउने सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म भेरोसेल एक करोड १८ लाख, कोभिसिल्ड २४ लाख ४८ हजार, एस्ट्राजेनेका १९ लाख ७५ हजार आठ सय ६० र जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार आठ सय ५० डोज भित्रिएको हो । पूर्ण खोपका लागि जोन्सनको एक डोज मात्रै लगाए हुन्छ भने अरू दुई जोड लगाउनुपर्छ ।

त्यस्तै, सरकारले तीन करोड ५९ लाख डोज खोप ल्याउने सुनिश्चित गरेको जनाएको छ । जसमध्ये असोजभित्रै भारतबाट पहिल्यै खरिद गरेर आउन बाँकी १० लाख डोज र थप खरिदबाट १० लाख डोज कोभिसिल्ड ल्याइसक्ने स्वास्थ्य मन्त्रालयको दाबी छ । त्यस्तै, चीनबाट अनुदानको १६ लाख भेरोसेल पनि असोजभित्रै आइपुग्ने जनाएको छ । चीनसँग खरिद गरेको ६० लाख डोजमध्ये १६ लाख भने ४ र ५ भदौमै आइसकेको थियो । 

शुक्रबारसम्म एक करोड ७७ लाख ५८ हजार सात सय १० डोज खोप आइसकेको छ । कोभिसिल्डको ४४ लाख २३ हजार ८६०, भेरोसेल एक करोड १८ लाख र जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० डोज खोप प्राप्त भएको छ । तीन करोड ५९ लाख डोज खोप आउने सुनिश्चित भएको छ ।

मन्त्रालयका अनुसार पुस–माघसम्म मोडर्नाको ४० लाख डोज कोभ्याक्स–गाभीमार्फत आउनेछ । यसका लागि केही समयअघि अर्थ मन्त्रालयमा सम्झौता गरी विश्व बैंकमार्फत भुक्तानी भइसकेको छ । कोभ्याक्स–गाभीमार्फत नै एक करोड १३ लाख डोज अनुदानमा आउनेछ । उसले विश्वमा खोपको उपलब्धताका आधारमा दिने भएकाले कुन खोप भन्ने यकिन नभएको मन्त्रालयले जनाएको छ । गाभी ‘कोभ्याक्स खोप अभियान’को मुख्य सहयोगी संस्था हो । 

त्यस्तै, कोभ्याक्समार्फत नेपाल सरकारको समेत लागत सहभागितामा एक करोड १० लाख डोज आउनेछ । अमेरिकाबाट फाइजरको ६० लाख डोज पनि आउने स्वास्थ्य प्रवक्ता डा. कृष्ण पौडेलले बताए । ‘फाइजरको खोप भने नेपाल सरकारले नै खरिद गरेर ल्याउने हो,’ उनले भने । 

यसअघिको योजनाअनुसार सरकारले १८ वर्ष उमेरमाथिका दुई करोड १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको थियो । तर, बालबालिकाका लागिसमेत खोप लगाउने भए थप खोप भित्र्याउनुपर्ने पौडेलले बताए । सरकारले आवश्यकता हेरेर थप खोप खरिद गर्ने–नगर्ने निर्णय गर्ने उनले बताए । उनका अनुसार ल्याउने सुनिश्चित भएको मोडर्नाको ४० लाख डोज बालबालिकाका लागि पनि लगाउन मिल्छ । 

हालसम्म कतिले लगाए खोप ?
स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्यांकअनुसार ५५ लाख सात हजार तीन सय ८० जनाले पूर्ण अर्थात् दुवै डोज खोप लगाएका छन् । थप १९ लाख ७५ हजार आठ सय ९४ जना पहिलो डोज लगाएर दोस्रोको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार यो शुक्रबार दिउँसो २ बजेसम्मको विवरण हो । 

काठमाडौंमा मात्रै कोभिसिल्डको दुवै डोज एक लाख ३९ हजार ६ सय ७३ ले लगाएकोमा थप २० हजार नौ सय ८६ जना पहिलो डोज लगाएर दोस्रोको प्रतीक्षामा छन् । त्यस्तै, भेरोसेलको ६ लाख ११ हजार पाँच सय ९७ ले दुवै डोज लगाएका छन् । दुई लाख ३२ हजार दुई सय २२ जना पहिलो डोज लगाएर दोस्रोको प्रतीक्षामा छन् । एस्ट्राजेनेकाको एक लाख चार हजार पाँच सय १८ जनाले पहिलो डोज मात्रै लगाएका छन् । त्यस्तै, एक डोज मात्रै लगाए पुग्ने जोन्सनको एक लाख ६९ हजार दुई सय ४५ ले लगाएका छन् । 

कहाँ कसलाई लगाइँंदै छ चीनबाट आएको ४४ लाख डोज ? 
शुक्रबार चीनबाट आएको ४४ लाख डोज सोमबारदेखि लगाउने सरकारको तयारी छ । मनाङ, मुस्ताङ र रुकुम पूर्वबाहेक ७४ जिल्लामा यो खोप पुग्नेछ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलाका खोप लगाउन बाँकी १८ वर्षमाथिका नागरिकलाई लगाइनेछ । त्यस्तै, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका खोप लगाउन बाँकी तथा १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई दिइनेछ ।

काभ्रे र चितवनमा ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन बाँकी विद्यार्थीलाई लगाइनेछ । बाँकी ५५ जिल्लामा ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुट विद्यार्थीलाई दिने तयारी छ । यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र होटेलमा काम गर्ने व्यक्तिलाई पहिलो मात्रा खोप दिने गरी स्वास्थ्य मन्त्रालयले सूची बनाएको छ ।