राजधानीमै बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयो, श्रीमान्सहित चारजना पक्राउ
झाँक्रीकहाँ दुई दिनसम्म यातना दिएर मलमूत्र खुवाउने श्रीमान्सहित चारजना पक्राउ
बोक्सी आरोपमा दुई दिनसम्म यातना दिएर मलमूत्र खुवाउने श्रीमान्सहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर लुुभुका जितेन्द्र महर्जन, दिपेन तामाङ भनिने दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् । उनीहरूले लुभुकी ३३ वर्षीया सुष्मा श्रेष्ठलाई ठूलोभर्याङमा दुई दिनसम्म थुनी मलमूत्र खुवाएका थिए ।
घटनामा संलग्नमध्ये जितेन्द्र सुष्माका श्रीमान् हुन् । उनकै मिलेमतोमा सुष्मालाई दुई दिनसम्म थुनेर शारीरिक यातना दिई मानिस र कुकुरको मलमूत्र खुवाइएको थियो । प्रहरीका अनुसार पीडित सुष्माको शरीर, नितम्ब, अनुहार र खुट्टामा नीलडाम छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बोक्सी आरोपमा सुष्मालाई दुई दिनसम्म यातना दिएको अनुसन्धानबाट खुलेको बताए ।
‘बोक्सीको आरोपमा सुष्मालाई दुई दिनसम्म थुनेर यातना दिएको देखिन्छ । मलमूत्र पनि खुवाएको पीडितको भनाइ छ । उनको शरीरमा निलडाम देखिन्छ । घटनामा उनकै श्रीमान्को संलग्नता देखिन्छ । प्रहरीमा पीडितले जाहेरी दिएपछि घटनामा संलग्न सबैलाई हामी पक्राउ गरेका हौँ,’ उनले भने ।
दुई दिन थुनेर यातना दिएको र मलमूत्र खुवाएको पाइयो
बोक्सीको आरोपमा सुष्मालाई दुई दिनसम्म थुनेर यातना दिएको र मलमूत्र खुवाएको पाइयो । उनको शरीरमा नीलडाम देखिन्छ । घटनामा उनकै श्रीमान्कै संलग्नता देखिन्छ । प्रहरीमा पीडितले जाहेरी दिएपछि घटनामा संलग्न सबैलाई पक्राउ गरेका हौँ ।एसपी रमेश बस्नेत, प्रवक्ता, काठमाडौं प्रहरी परिसर
प्रहरीका अनुसार यातनापछि जितेन्द्रले सुष्मालाई उनको माइतीमा लगेर छाडेका थिए । शरीरमा निलडाम देखेपछि माइती पक्षले घटनाको सम्बन्धमा चासो लिएका थिए । बोक्सी आरोपमा यातना दिएको र यसक्रममा मानिस र कुकुरको मलमूत्रसमेत खुवाइएको खुलेपछि माइती पक्षले सुष्मालाई प्रहरीमा जाहेरी दिन सल्लाह दिएको थियो ।
सोही क्रममा सुष्माले २२ भदौमा प्रहरी परिसर टेकुमा जाहेरी दिएकी थिइन् । ‘ठूलोभर्याङमा दुई दिनसम्म थुनेर यातना दिएछन् । त्यसपछि श्रीमान्ले लगेर माइतीमा छाडेछन् । शरीरमा निलडाम देखेपछि माइती पक्षले सोधपुछ गरेछन् । त्यसपछि घटना बाहिरियो,’ परिसर प्रवक्ता एसपी बस्नेतले भने ।
पेट दुखेकी सुष्मालाई डाक्टर होइन, झाँक्रीकहाँ लगियो
प्रहरीका अनुसार सुष्मा श्रीमान्सँगै लुभुमा बस्दै आएकी थिइन् । पेट दुखेको भनेपछि श्रीमान् जितेन्द्रले सुष्मालाई १८ भदौ साँझ ठूलोभर्याङस्थित झाँक्री दीपेन्द्रकुमारकहाँ लगेका थिए । दीपेन्द्रले केहीबेर नाडी छामेर जोखाना हेरे । यसक्रममा बोक्सी चढेको खुट्याएपछि जितेन्द्रको सहयोगमा दीपेन्द्रले सुष्मालाई लछारपछार गर्दै कुटपिट गरेका थिए ।
मानिस र कुकुरको मलमूत्र पनि यही क्रममा जम्मा गरिएको थियो । बोक्सी उतार्ने भन्दै नारायण र जितेन्द्रको सहयोगमा दीपेन्द्रले सुष्मालाई मलमूत्र खुवाएका थिए । दुई दिनपछि जितेन्द्रले सुष्मालाई माइती लगेर छाडेका थिए । ‘लुभु बस्ने सुष्मा बिरामी रहिछिन् । उपचार गर्न अस्पताल लैजानुको सट्टा श्रीमान्ले सुष्मालाई झाँक्रीकहाँ लगेछ । झाँक्रीले बोक्सी चढेको भनेपछि यातनाका सबै घटना भएको देखिन्छ । काठमाडौंमै यस्तो घटना भयो । त्यसो हुँदा प्रहरीले यसलाई गम्भीर रूपमा लियो । पक्राउ परेकाविरुद्ध म्याद थप गरेर अनुसन्धान हुँदै छ,’ बस्नेतले भने ।