मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
चन्द्रदेव जोशी
२०७८ भदौ ३० बुधबार १०:२१:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कम्युनिस्टको काल : निम्नपुँजीवादी रोग

कम्युनिस्ट आन्दोलनभित्र निम्नपुँजीवादी रोग मार्क्सको समयदेखि नै पुँजीवादसँगको संघर्षभन्दा बढी कठिन संघर्षका रूपमा देखिँदै आएको छ

Read Time : > 4 मिनेट
चन्द्रदेव जोशी
२०७८ भदौ ३० बुधबार १०:२१:००

निम्नपुँजीवादी मानसिकता र व्यक्तिगत स्वार्थबाट ग्रसित व्यक्तिले राजनीतिमा ओल्लो घरबाट पल्लो घरमा सर्नु वा एउटालाई छोडी अर्कासँग लगनगाँठो कस्नु अनौठो होइन, यो उसको चारित्र नै हो । कम्युनिस्ट आन्दोलन पनि यसबाट मुक्त छैन । उसको नेतृत्व पंक्ति नै यस रोगबाट ग्रसित छ भने यसले झन् विकृत रूप लिन्छ । कम्युनिस्ट आन्दोलनभित्र निम्नपुँजीवादी रोग मार्क्सको समयदेखि नै पुँजीवादसँगको संघर्षभन्दा बढी कठिन संघर्षका रूपमा देखिँदै आएको छ ।

बुर्जुवा वा सामन्ती कुलीनतावादविरुद्धको संघर्ष आमनेसामनेको खुला संघर्ष हुन्छ भने कम्युनिस्ट आन्दोलनभित्र निम्नपुँजीवादी वर्गले मार्क्सवाद, समाजवाद, सर्वहारावर्गजस्ता मार्क्सवादी शब्दहरूको खोल ओडी राजनीतिको माध्यमबाट आफ्नो निहित स्वार्थ पूरा गर्ने काम गर्ने हुँदा त्यहाँ यसविरुद्धको संघर्ष पार्टीको शरीरमा लागेको रोगसँगको संघर्षजस्तै हो । जसरी कुहिएको अंगलाई समयमै काटेर नफाले त्यसले पूरै शरीर सडेर जाने वा जीवनलीला नै समाप्त गर्ने अवस्था रहन्छ भने काटेर फाल्न पनि सधैँ सुरक्षित र सहज अवस्था रहँदैन । त्यसकारण पार्टी जीवनमा यस रोगको रोकथाम सदस्यको भर्तीको चरणबाटै व्यक्तिको मानसिकता, आचरण, व्यवहारको परीक्षण गरिनुपर्छ । तब, मात्र निरोगी पार्टी निर्माण गर्न सकिन्छ । 

तत्कालीन सत्ताधारी नेकपा र तत्पश्चात् एमालेभित्र देखिएको भाँडभैलो, अशिष्ट र नीच कोटिको गालीगलौज, विभाजन, खेमा परिवर्तन र हिजोको झोसाझोस र ठोसाठोसको नांगो नाच नाचिरहेकाहरूबीच आजको एकता र प्रणयलीला सब यसैका अभिव्यक्ति हुन् । लेनिनले मध्यमवर्गीय ढुुलमुलपन र अस्थिर चरित्र तथा महत्वाकांक्षाको सटिक व्याख्या गर्दै भनेका थिए– यो जमात रातारात माथि पुग्न चाहन्छ, तर परिस्थितिले यसलाई सधैँ तल झारिरहेको हुन्छ । आज एमालेभित्रको भाँडभैलो र विभाजन लामो समयदेखि एकले अर्कोलाई पछारी माथि चढ्ने होड र घातप्रतिघातको विस्फोटन मात्र हो, यसको पछाडि कुनै सैद्धान्तिक वा समाजवादउन्मुखताको रणनीति र कार्यनीतिजस्ता आधारभूत विषयमा भिन्नता न हिजो थियो न आज छ । 

कम्युनिस्ट सत्ताले गरिखाने आमजनताको हितमा सुशासन कायम गरी आर्थिक सामाजिक रूपान्तरण गर्छ भनी जनसाधारणले त्यस पार्टीलाई मतदान गरेका थिए । तर, तीन वर्षको यसको शासनकालमा जनताले कम्युनिस्ट सत्ताको गन्धसम्म पाउन सकेनन् । प्रशासनिक भ्रष्टाचार, बिचौलिया, भूमाफिया, भ्रष्ट ठेकेदार, शिक्षा स्वास्थक्षेत्रका माफिया तथा तिनका मतियार कम्युनिस्ट नेताको खुला लुट जनताले भोग्नुपर्‍यो ।

हिजोका चप्पलधारी ‘सर्वहारावर्गका नेता ?’ लाई रातारात नवधनाढ्य बनाउन आर्थिक साधन जुटाउने माध्यम बनेका ओम्नी, यती, आदिसँगको साँठगाँठ तथा गोकर्ण रिसोर्ट, छापाखानादेखि कोभिडका मारमा परेकाको औषधिमूलो, खोप र जीवनरक्षाका सरसामान मात्र होइन, कात्रोमा समेतमा गरिएको भ्रष्टाचारमा तिनको संलग्नता तथा कम्युनिस्टको नाममा स्थानीय पालिकादेखि संघीय संसद्सम्म पुगेका प्रमुख, मेयर, सांसद र मन्त्रीहरूबाट गरिएको खुला लुटको साक्षी महालेखा परीक्षकले जनतासम्मुख प्रस्तुत गरेको प्रतिवेदन स्वयं छ । पार्टी र सत्ताको यस्तो नैतिक पतन र भ्रष्टाचारविरुद्ध त्यस पार्टीभित्र कहिल्यै आवाज उठेन ताकि सधैँ लाभको बाँडफाँडका लागि खेमाबन्दी र संघर्ष गरियो । लुटको यस बाँडफाँडमा स्वार्थ टकराउनु स्वाभाविक थियो । यो सब रातारात माथि चढ्ने निम्नपुँजीवादी चिन्तन र चरित्रकै परिणाम थियो । 

मार्क्सवादले आर्थिक वर्गविभाजनको एउटा श्रेणीलाई “निम्नपुँजीवादी वर्ग” भनी परिभाषित गरेको छ, जसको वर्गीय चरित्र जस्तोसुकै गरेर भए पनि, देश र जनता होइन, आफू  रातरात नवधनाढ्य हुने आतुरता हो । राजनीतिक क्षेत्रमा सत्ता र सम्पत्तिका लागि नैतिक, अनैतिक, असामाजिक जेजस्तो काम गरेर पनि माथि चढ्न खोज्ने प्रवृत्ति निम्नपुँजीवादी चरित्र हो । जब राजनीतिमा यस्तो चरित्र हाबी हुन्छ त्यहीँबाट राजनीतिको भ्रष्टीकरण सुरु हुन्छ । अर्कोतर्फ अतिक्रान्तिकारिता, दुस्साहसिकता, तुरुन्त क्रान्तिकारी फड्को मारी सत्ता कब्जा गर्ने मानसिकता पनि निम्नपुँजीवादी रोग नै हो । कम्युनिस्ट आन्दोलनका लागि निम्नपुँजीवादी चरित्र घातक रोग हो । आज नेपालको कम्युनिस्ट आन्दोलन यिनै मनोवृत्ति र व्यवहारबाट ग्रसित छ । 

जीवनले के देखायो भने सत्ता र शक्तिमा न पुगुन्जेल जसले जतिसुकै कम्युनिस्ट आडम्बर देखाए पनि हाम्रो कम्युनिस्ट आन्दोलनमा तलदेखि माथिसम्मका ‘प्रभावशाली ?’हरू यस रोगबाट मुक्त छैनन् । यो छूतको रोग हो र यसबाट राजनीतिमा आउने प्रत्येक नयाँ पिँढी दिनानुदिन ग्रसित हुँदै छ । त्यसकारण, आजको प्रमुख सवाल हो यसबाट कसरी मुक्ति पाउने ? कम्युनिस्ट आन्दोलनमा लागेको यस रोगको तुलना आजको कोभिड महामारीसँग गर्नु सान्दर्भिक हुन्छ । कोभिडको अकाट्य औषधि त अहिलेसम्म छैन रोकथामको प्रयास गर्ने मात्र हो । त्यस्तै, कम्युनिस्ट आन्दोलनको यस रोगको पनि अकाट्य औषधि अहिलेसम्म छैन । आउँदा दिनमा पनि यसलाई नियन्त्रण गर्दै यसबाट आन्दोलनलाई बचाउनुपर्ने हुन सक्छ । तर, निश्चित हो उपचार पहिल्याउन सकिन्छ । सवाल, समय, पात्र र अवस्थाको मात्र हो ।

अल्पविकसित देशमा, जहाँ सर्वहारावर्गले अझै संगठित र वर्गसचेत सामाजिक वर्गको आकार ग्रहण गरिसकेको छैन, तर त्यस वर्गका नाममा कम्युनिस्टहरू राजनीति गरिरहेका छन्, यस आन्दोलनको नेतृत्व निम्नपुँजीवादीको हातमा हुनु स्वाभाविकजस्तै हो । तर, पार्टी नेतृत्वको जन्म कुन परिवार, कुल, जाति, धर्म वा लिंगमा भएको हो, त्यो प्रमुख होइन, प्रमुख हो उसले मनसा, वाचा, कर्मणा, शोषित वर्गको मुक्ति आफ्ना जीवनको लक्ष बनाएको छ कि छैन, चरित्र, चिन्त र जीवन–व्यवहारमा कम्युनिस्ट नैतिकता, मार्क्सवाद , समाजवादी लक्ष्यप्रति आफूलाई समर्पित गर्न सकेको छ कि छैन ? 
“मध्यमार्ग” कि निम्नपुँजीवादी अवसरवाद ?

सत्ता र सम्पत्तिका लागि नैतिक, अनैतिक, असामाजिक जेजस्तो काम गरेर पनि माथि चढ्न खोज्ने प्रवृत्ति निम्नपुँजीवादी चरित्र हो । जब राजनीतिमा यस्तो चरित्र हाबी हुन्छ त्यहीँबाट राजनीतिको भ्रष्टीकरण सुरु हुन्छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा निम्नपुँजीवादी अवसरवादको टड्कारो नमुना एमालेमा भावी वैचारिक र राजनीतिक नेता हुन सक्ने आशा गरिएका दोस्रो पुस्ता भनिनेहरूको पछिल्लो आचरण र व्यवहारमा देखिएको छ । ओलीको नेतृत्वमा आफ्नो स्थान र मान गुमाउन पुगेका र ओली प्रवृत्ति र कार्यशैलीका ‘कट्टर विरोधी’का रूपमा अगाडि आएका यी ‘हस्ती ?’हरूले ओलीको प्रवृत्ति र चरित्रको अन्त्य गरी नयाँ जगमा पार्टीलाई संगठित गर्ने उद्घोषसहित माधव नेपाललाई अगाडि सारी कुनै ठोस लक्ष्य र स्पष्ट वैचारिक आधारविना ओलीविरुद्ध संघर्षको शंखनाद गरे ।

स्पष्ट लक्ष्य तथा योजनाविनाको राजनीतिक संघर्ष कहिलेकाहीँ यस्तो अन्ध सुरुङमा प्रवेश गर्छ, जहाँबाट पछाडि फर्किन सम्भव हुँदैन । माधव नेपाललाई त्यस्तै सुरुङभित्र धकेली संघर्षको निर्णायक मोडमा ‘पार्टी एकता’को नाममा अचानक ओलीसँग सम्झौता गरी माधव नेपाललाई एकताविरोधी भन्दै खेमा परिवर्तन गरी ओली खेमामा समाहित हुन पुगे ।

निर्णायक संघर्षका लागि माधव नेपाललाई उकास्ने वेला र सार्वजनिक मञ्चहरूमा तथानाम गाली गरिएका ओली प्रवृत्ति तथा ओलीको नेतृत्व यथावत् रहेकै वेला मेलमिलापका नाममा सहयात्रीलाई संघर्षको मैदानमा छोडी ओलीसँग पद र सम्मानको लेनदेन गरी ओली खेमामा फर्किनु “मध्यमार्ग थियो वा निम्नपुँजीवादी अवसरवाद ? समयले परिभाषित गर्नेछ । 

सैद्धान्तिक पक्षबाट हेर्ने हो भने माक्र्सवाद विज्ञान हो त्यहाँ मध्यमार्गको कुनै स्थान छैन । दक्षिणपन्थी संशोधनवाद तथा अराजकतावाद मार्क्सवादको प्रतिलोम हुन् । यी “मध्यमार्गी”ले ओलीलाई त्यही भनेर आलोचना र विरोध गर्दै थिए । यथावत् अवस्थामा ओलीसँग एकता कसरी ? के सर्वोच्च अदालतको फैसलापछि ओली रातारात मार्क्सवादी भए ? अथवा माधव नेपाल गैरमार्क्सवादी  प्रतिक्रान्तिकारी हुन पुगे ? आज पनि ओलीको मनोवृत्ति तथा चरित्रमा कुनै तात्विक  परिवर्तन देखिँदैन । न यस समूहले “नयाँ एमाले”मा ओली विचारधाराको समानान्तर आफ्नो कुनै वैचारिक धारसहित आफूलाई स्थापित गर्न सक्ने अवस्था छ ।

ओलीले खुलेआम चुनौती प्रस्तुत गरेका छन् “अगामी निर्वाचनपछि जनताको परमादेशबाट” सत्ता प्राप्त गरी निर्वाधरूपमा आफ्नो योजनाअनुसार काम गरिनेछ । संगठनात्मक पक्षबाट हेर्ने हो भने, त्यस पार्टीभित्र अहिले यो “मध्यमार्गी” जमात ओली नेतृत्वको संगठित शक्तिसामु निरीह जमातका रूपमा छ । 

एमालेको चारित्रिक पतन र सैद्धान्तिक स्खलनको यात्रा ०४८ सालको स्थानीय निर्वाचनबाट सुरू भइसकेको थियो र त्यसमा केही बढोत्तरीसहित आजसम्म कायम छ । यस वैचारिक स्खलन र चारित्रिक पतनलाई समूल समाप्त गरी आजको विश्व परिस्थिति, नेपालको वर्तमान वस्तुगत अवस्था, क्रान्तिको वर्तमान चरण र कम्युनिस्टहरूको तात्कालिक कार्यभारको निरूपण गरी एकताको आधार निर्माण नगरेसम्म २ जेठको अवस्थामा फर्किने यात्राले कम्युनिस्ट आन्दोलनको शुद्धीकरण र पुनर्गठनका लागि कुनै अर्थ राख्दैन र यसले कम्युनिस्ट आन्दोलनलाई कुनै सार्थक सन्देश दिँदैन । 

ओली आफैँले आफ्नो प्रवृत्ति र चिन्तन नत्यागेसम्म एमालेभित्रको ओली प्रवृत्ति समाप्त हुन सक्दैन । यो प्रवृत्ति र चरित्र ओलीको निजत्व हो । त्यो आजको “नयाँ एमाले ?”भित्र झन् सबल संगठित र आक्रामक रूपमा छ र ओली त्यसका निर्विकल्प नेतृत्वका रूपमा स्थापित छन् । ओलीले विगतमा जेजति काम गरे ती उनले आफ्नो सुविचरित योजनाअन्तर्गत गरेका थिए । यस अवस्थामा ओलीले आफ्नो बाटो फेर्ने वा विगतमा गल्ती गरेको स्विकार्नेजस्तो कुनै बाध्यात्मक अवस्था छैन । यस अर्थमा “एकताका लागि” दशबुँदे सहमति अर्थहीन प्रलाप मात्र हुन् ।