मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कृष्ण रिजाल काठमाडौं
२०७८ भदौ २९ मंगलबार ०८:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१० ठूला कम्पनीले बुझाए सवा ४५ अर्ब आयकर

सबैभन्दा बढी आयकर बुझाउनेमा नेप्से, दूरसञ्चार सेवा, बैंक र उत्पादन क्षेत्रका केही कम्पनी

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७८ भदौ २९ मंगलबार ०८:२६:००

आर्थिक वर्ष ०७७/७८ मा १० ठूला कम्पनीले ४५ अर्ब २७ करोड रुपैयाँ आयकर बुझाएका छन् । आन्तरिक राजस्व विभागका अनुसार उक्त आवमा कुल आयकर दुई खर्ब ८१ करोड ५१ लाख रुपैयाँ संकलन भएको छ । जसको २२ दशमलव ५ प्रतिशत आयकर १० वटा कम्पनीले बुझाएका हुन् । सबैभन्दा बढी आयकर बुझाउनेमा नेप्से, दूरसञ्चार सेवा, बैंक र उत्पादन क्षेत्रका केही कम्पनी रहेका छन् ।सबैभन्दा बढी आयकर बुझाउने कम्पनीमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (नेप्से) रहेको छ, जसले उक्त आवमा १५ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ आयकर बुझाएको छ । 

त्यसपछि बढी आयकर बुझाउनेमा क्रमशः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूर्य नेपाल प्रालि, एनसेल आजियाटा लिमिटेड, नबिल बैंक, नेपाल विद्युत् प्राधिकरण, एनआइसी एसिया बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र गोर्खा ब्रुअरी रहेका छन् । विभागका अनुसार नेपाल टेलिकमले पाँच अर्ब ५१ करोड र एनसेलले चार अर्ब ४३ करोड आयकर बुझाएका छन् । त्यस्तै, उत्पादन क्षेत्रका सूर्य नेपालले पाँच अर्ब २३ करोड र गोर्खा ब्रुअरीले एक अर्ब ८८ करोड आयकर बुझाएका हुन् । सबैभन्दा बढी आयकर बुझाउने दश कम्पनीमा चारवटा बैंक परेका छन् । 

विभागबाट प्राप्त विवरणअनुसार नबिल बैंकले तीन अर्ब २० करोड, एनआइसी एसियाले दुई अर्ब ५५ करोड, ग्लोबल आइएमई बैंकले दुई अर्ब १४ करोड र कृषि विकास बैंकले एक अर्ब ९१ करोड रुपैयाँ आयकर बुझाएका हुन् । सबैभन्दा बढी कर बुझाउने दश कम्पनीको सूचीमा नेपाल विद्युत् प्राधिकरण पनि रहेको छ । प्राधिकरणले दुई अर्ब ७१ करोड रुपैयाँ आयकर बुझाएको हो । 

लक्ष्यअनुसार उठेन आयकर 
आर्थिक वर्ष ०७७/७८ मा सरकारले दुई खर्ब ३८ अर्ब रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा करिब ३८ अर्ब रुपैयाँ कमी आयकर उठेको विभागको तथ्यांंक छ । असार मसान्तसम्ममा दुई खर्ब ८१ करोड आयकर संकलन भएको विभागको अपरिष्कृत तथ्यांक छ । त्यसअघि आव ०७६/७७ मा दुई खर्ब १९ अर्ब रुपैयाँ आयकर राजस्व उठेको थियो । त्यसअघि ०७५/७६ मा एक खर्ब ९४ अर्ब आयकर उठेको थियो । कोभिडका कारण समग्र उद्योग–व्यवसाय प्रभावित भई आयकरसमेत कम उठेको विभागका अधिकारीहरू बताउँछन् ।